Comments Add Comment

पोखरा घुस प्रकरणपछि लोकसेवा आयोग भन्छ- स्वच्छता र पवित्रताबारे भ्रममा नपरौं

२१ मंसिर, काठमाडौं । लोकसेवा आयोग पोखरा कार्यालयबाट मंसिर ९ गते लिइएको अहेब पदको अन्तरर्वार्ता रद्ध भएको छ । अन्तर्वार्तामा सहभागी स्वास्थ्य मन्त्रालयका ११ औं तहका डा. तारानाथ पौडेलले पास गराइदिने भन्दै केही परीक्षार्थीबाट घुस लिएको पाइएपछि आयोगले सो मंसिर ९ गते लिइएको अन्तर्वार्ता रद्ध गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा. पौडेललाई अख्तियारको टोलीले गत आइतबार पोखराबाट एक लाख घुससहित पक्राउ गरेको थियो ।

आयोग केन्द्रीय कार्यालयका प्रवक्ता किरण कुमार शर्माका अनुसार अब छुट्टै अन्तर्वार्ता समिति बनाएर पुनः अन्तर्वार्ता लिइने छ र परीक्षाफल प्रकाशित गरिने छ । मंसिर ९ गतेको अन्तर्वार्ताबारे अख्तियारले छानबिन गरिरहेकाले अन्तर्वार्तामा सहभागी परीक्षार्थीहरुको मूल्यांकन फारमलाई भने सुरक्षित राखिएको छ ।

यो घुस प्रकरणपछि कतिपयले लोकसेवा आयोगको विश्वसनीयतामा प्रश्न उठाएका छन् । यद्यपि आयोगका प्रवक्ता शर्माले भने, ‘भ्रष्ट र गलत मनोवृत्तिका दक्ष/विज्ञको कृयाकलापबाट आयोगको स्वच्छता र पवित्रतामा कुनै असर पर्न नदिइने हुँदा आयोगको काम, कर्तव्य र कारबाहीबारे कुनै भ्रममा नपर्न सवैमा आयोग अनुरोध गर्न चाहन्छु ।’

डा. पौडेलले घुस लिएको कुरा सार्वजनिक भएलगत्तै आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली र सचिव महेन्द्रप्रसाद गुरागाइर्ं निरीक्षणका लागि पोखरा गएका थिए । स्थलगत निरीक्षणबाट लोक सेवा आयोग पोखरा कार्यालयले निष्पक्षता तथा गोपनीयता कायम गर्न अवलम्वन गर्नुपर्ने सबै विधि र प्रक्रिया अवलम्वन गरेको देखिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment