Comments Add Comment

भारतीय युवक हत्यामा संलग्न लड्डु दुई वर्षपछि पक्राउ

२१ मंसिर, वीरगञ्ज । बाराबाट प्रहरीले संगठित व्यक्ति हत्या गरी फरार भएका एकजना अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१३ सितलपुर बस्ने २५ वर्षीय लड्डु भन्ने राजकिशोर गिरीलाई पक्राउ गरेको हो ।

बाराको महागढीमाई नगरपालिका-१ सिमरा तेलगाछीया टोलमा लुकीछिपी बस्दै गरेका उनलाई दुई दिनअघि पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए ।

लड्डु समेतले ०७३ साल पुस १० गते बाराको तत्कालीन करैया गाविस- ८ स्थित सहजनाथ सामुदायिक वनमा भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण ग्राम पञ्चायत राज लक्ष्मीपुर पोखरीया वडा नं ४ बस्ने वर्ष २७ को अरुण राम र सोही ठाउँ बस्ने १९ वर्षीय दिपक रामलाई डोरीले हातखुट्टा बाँधी धारिलो हतियारले घाँटी रेटेर हत्या गरेर फरार भएको भट्टराईले जनाए ।

सहजनाथ मन्दिरभन्दा डेढ किलोमिटर उत्तरपूर्वमा रहेको जंगलभित्रको गोरेटो बाटोमा विभत्स किसिमले हत्या गरेर फालिएको अवस्थामा उनीहरुको शव २०७३ पौष १३ गते बिहान फेला परेको थियो ।

हत्यामा संलग्न ४ जना अभियुक्तहरु यसअघि नै पक्राउ परेका थिए । उनीहरुमा जेलमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

घटनामा संलग्न भएको प्रमाणित भएपछि बाराको साविक गा.वि.स.प्रशुरामपुर वडा नं.४ बस्ने ४८ वर्षीय समसुल होदा, बरियारपुर – ९ का २७ वर्षीय वृजकिशोर गिरी, बाराको कलैया उपमहानगरपालिका बरेवा बस्ने ३५ वर्षीय मोजाहिर अंसारी, बारा कलैया नगरपालिका-४ का २४ बषीय आशिष सिंह कैद सजाय भुक्तानी गरिरहेका छन् ।

यसरी भएको थियो अरुण र दिपकको हत्या

अपराधिक पृष्ठभूमिका कारण आर्थिक अवस्था कमजोर भइ समसुल होदा पर्यटक भिसामा दुवई गएका थिए ।

त्यहाँ बस्दा उनले पाकिस्तानी नागरिक सफीसंग सम्पर्क गरी अन्तर्राष्ट्रिय आतंकवादी समूह समेतसँग सहकार्य गरी नेपालसंग सिमाना जोडिएको भारती भूमिमा विभिन्न अपराधिक गतिविधि गर्दै आएका थिए । सोही क्रममा उनीहरुको समूहले रक्सौल नजिक घोडासहन रेल्वे स्टेशन र आदापुर नकरदेही स्थित रेल्वे स्टेशनमा समेत बम बिष्फोटन गराएको थियो ।

त्यस कार्य वापत आर्थिक लाभ लिने उदेश्यले वृजकिशोर गिरीसंग सम्पक गरिएको थियो । त्यसका लागि गिरी बाबाले भारतिय नागरिक राजु भन्ने उमाशंकर पटेलमार्फत मृतकद्धय अरुण राम र दिपक रामलाई विभिन्न मितिमा ८ लाख रुपैयाँसमेत अगि्रम भुक्तानी गरेका थिए ।

मृतकहरुले सहमति अनुसार घोडासहन रेल्वे स्टेशनमा बम विष्फोट गराउन प्रयास गरेका थिए भने आदापुर नकरदेही स्थित रेल्वे स्टेशनमा समेत बम विष्फोट गराएका थिए तरपनि कुनै क्षति भएको थिएन ।

मृतकहरुलाई पटक-पटक सफल रुपमा तोकिएको काम गर्न आग्रह गर्दा अटेरी गर्ने र अलमल्याउँदै आएका थिए । त्यसो गर्न थालेपछि समसुल होदाले नै गिरी बाबा भन्ने वृजकिशोर गिरीलाई अरुण र दिपक रामको हत्या गरी त्यसको भिडियोसहित पठाउन आदेश दिएका थिए ।

सोही अनुसार मोजाहिर अंसारी, गिरी बाबा भन्ने वृजकिशोर गिरी, आशिष सिंह, राजकिशोर गिरी समेतले मृतकहरुलाई आर्थिक प्रलोभन देखाई नेपाल सरहद भित्र बोलाई जंगलभित्र लगेर क्रुरतापूर्वक विभत्स हत्या गरेका थिए ।

योजना अनुसारको काम सम्पन्न भएपश्चात दुबईबाट योजनामा संलग्न व्यक्तिहरुलाई ३ करोड रुपैयाँ पठाइदिने आश्वासन दिएको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको थियो ।

अरुण र दिपकको हत्या गर्नुको मुख्य उदेश्य आर्थिक प्रलोभन नै रहेको डीएसपी राठौर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment