Comments Add Comment

कुटनीति बुझेका र देशप्रेमीलाई राजदूत बनाउन पूर्वराजदूतहरुको सुझाव

२१ मंसिर, काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि राजदूत नियुक्त गर्दा योग्यता र क्षमताभन्दा राजनीतिक आस्थालाई प्राथमिकता दिने परम्परा नै बनिसक्यो । सक्रिय राजनीतिमा रहेकाहरुदेखि केन्द्र सरकारका मन्त्री भइसकेकाहरुसमेत राजदूत भएका धेरै उदाहरणहरु छन् ।

दुई तिहाई बहुमतसहितको स्थाई सरकार आएपछि यो प्रवृत्तिमा लगाम लाग्ला कि भन्ने आशा थियो । तर, वर्तमान सरकारले पनि विगतकै परम्परालाई पछ्याइरहेको आभास हुन थालेको छ । कुटनीतिका जानकारहरुले यसलाई सच्याउनुपर्ने बताएका छन् ।

स्थिर सरकारले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर कुटनीतिक चाल चाल्न सक्ने ब्यक्तिलाई राजदूत बनाएर पठाउनुपर्ने पूर्व नेपाली राजदूत पुष्करमानसिंह राजभण्डारी बताउँछन् ।

‘अहिले पनि राजनीतिक कारणले मात्रै राजदूतहरु बनाइएका र फिर्ता बोलाइएका छन् । कामका आधारमा फिर्ता बोलाइएका छैनन्’, शुक्रबार संघीय संसद सुनुवाई समितिमा उनले भने, ‘यस किसिमले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको सही प्रतिनिधित्व हुन सक्दैन ।’

पूर्वराजदूत राजभण्डारीले नेपालको प्राथमिकता के हो ? भन्नेमा प्रष्ट बनाएर मात्रै सरकारले सम्बन्धित देशमा राजदूत पठाउनुपर्ने पनि सुझाए ।

‘लगानि, पर्यटन के चाहेका हौं भन्ने प्रष्ट भएर जाने ब्यक्तिले मात्रै प्रभावकारी काम गर्न सक्छ’, उनी भन्छन्, ‘सो अनुसार काम गर्न नसक्ने राजदूतलाई फिर्ता बोलाउनुपर्छ ।’

पूर्वराजदूत रामभक्त पिभि ठाकुर पनि कुनै पनि देशमा राजदूत पठाउँदा स्पष्ट लक्ष्य निर्धारण गरेर पठाउनुपर्ने र जाने ब्यक्ति पनि आफ्नो भूमिकामा प्रष्ट भएर मात्रै जानुपर्नेमा जोड दिन्छन् ।

‘एक, दुई, तीन गरी यति काम गर्ने भनि किटान गर्नुपर्छ । निश्चित अवधीसम्म त्यसको प्रतिफलको आशा गर्ने र प्रतिफल आउने अवस्था नदेखे सरकारले फिर्ता बोलाउन सक्नुपर्छ’, ठाकुरा भन्छन् ‘कसले कस्तो काम गर्दैछ, कसले के बिगारेको छ भन्ने विषयमा परराष्ट्र मन्त्रालयले पनि चनाखो भएर अनुगमन गर्नुपर्छ । यस्तो अभ्यास नेपालमा भएको पाँईदैन ।’

आफ्नो देशको र राजदूत भएर जाने देशको स्वार्थ के छ भन्नेमा प्रष्ट भएर मात्रै राजदूतको जिम्मेवारी लिन पनि उनले सुझाएका छन् । नेपाल रेमिट्यान्सले धानेको देश भएकाले उक्त देशमा रहेका नेपाली कामदारहरुको हकहित र सुरक्षा राजदूतहरुको एक महत्वपूर्ण काम हुने ठाकुरले बताए ।

अर्का पूर्वराजदूत प्रल्हादकुमार प्रसाईंले नेपालजस्ता देशका राजदूतहरुले धेरै काम गर्नुपर्ने र विनम्र भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । ‘सबैलाई बुझाउन/रिझाउन सक्नुपर्छ । त्यसले मात्रै नेपालमा लगानि भित्र्याउन मद्धत गर्ने हो,’ प्रसाईं भन्छन्, ‘नेपालको आर्थिक कुटनीति राम्रो बुझेर प्रस्तुत गर्न सकेको खण्डमा मात्र नेपालको हित गर्न सकिन्छ ।’

उच्चस्तरीय राजनीतिक भ्रमण गराउन सक्ने र दुई देशको सम्बन्धलाई मजबुत बनाउन सक्ने ब्यक्तिलाई सरकारले जिम्मेवारी दिन सक्दा समग्र राष्ट्रको हित हुने उनी सुझाउँछन् ।

अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत रुद्रकुमार नेपालले राजदूत हुन लागेका ब्यक्तिहरुलाई आर्थिक कुटनिति र अन्तर्राष्ट्रिय कानुनबारे अध्ययन गर्न सुझाए । ‘अध्ययनमा अल्छि गरिएन भने सबै जानकारी हासिल गर्न सकिन्छ’, उनी भन्छन्, ‘सम्बन्धित देशको बारेमा पनि ज्ञान हासिल गर्नुपर्ने हुन्छ । भाषाको सामान्य ज्ञान भयो भने मात्रै पनि नजिकको सम्बन्ध स्थापित गर्न सकिन्छ । यीनै कुराहरुले राजदूतको सफललता र असफलतालाई निर्धारण गर्ने हो ।’

मलेसियाका लागि पूर्व नेपाली राजदूत निरञ्जनमान सिंह बस्नेतले आफ्नो देशबाट गएकाहरुको हकहित र सुरक्षा नै राजदूतको महत्वपूर्ण काम हुने बताए । आफु मलेसियामा रहँदा त्यहाँ रहेका नेपालीहरुको समस्या कसरी समाधान गर्ने भन्नेमै केन्दि्रत रहेको उनले बताए ।

भारतसहित ४ देशका लागि सरकारले सिफारिस गरेका राजदूतको सुनुवाई गर्नुभन्दा पहिले सुनुवाइ समितिले पूर्व राजदूतहरुसँग छलफल गरेको हो । सरकारले भारतका लागि राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएई कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।

सरकारले सिफारिस गरेका राजदूतहरुको सुनुवाई पर्सी आइतबार हुँदैछ । सिफारिस भएका चारै जना प्रस्तावित राजदूतका विरुद्ध कुनै उजुरी परेको छैन् ।

उमेरहद ४५ पुर्‍याउन सुझाव

पूर्वराजदूत प्रल्हादकुमार प्रसाईंले राजदूत नियुक्त हुँदाको उमेरहद ४५ पुर्‍याउन सुझाएका छन् ।

हाल कायम रहेको ३५ वर्षको उमेरहद बढाएर ४५ वर्ष पुर्‍याउन सकिने उनको तर्क छ । ‘३५ वर्षकै व्यक्ति राजदूत त्यति उपयुक्त हुँदैन जस्तो लाग्छ । यसलाई बढाएर ४५ जति बनाउन सकिन्छ’ उनले ठट्टाको शैलीमा भने ‘बच्चा पठाइदिएछन् भन्ने त नहोस न ।’

तर, राजदूत नियुक्त गर्दा उमेर नभइ आफ्नो देशको प्रतिनिधित्व गर्न सक्छ कि सक्दैैन भन्ने विषय महत्वपूर्ण रहेको उनले बताए । ‘काम गर्ने स्पि्रट हेर्नुपर्छ, व्यक्तित्व हेर्नुपर्छ’, उनले अगाडि थपे, ‘त्यो देशका जनता र सरकारी प्रतिनिधिलाई चुम्बक जस्तो तान्न सक्ने हुनुपर्छ ।’

यसैगरी, अर्का पुर्वराजदूत पुष्कर मान सिंह राजभण्डारीले पनि राजदूत हुने ब्यक्तिको उमेर भन्दा क्षमता नै महत्वपूर्ण हुने सुझाए । देशको प्रतिनिधित्त्व सहि रुपमा निर्वाह गर्न सक्ने ब्यक्ति मात्रै राजदूतका निम्ति उपयुक्त हुने उनको भनाई छ ।

नेपालको राजदूत नियुक्त गर्ने प्रक्रिया लगायतका विषय सच्याउनुपर्ने भन्दै शतिसराज मैनालीले समितिमा सुझावका रुपमा उजुरी दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment