Comments Add Comment

आजका पत्रपत्रिकाः २ अभियुक्तले स्वीकारे निर्मला पन्त हत्या

२२ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको विषय परेको छ । त्यस्तै, निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ दुई अभियुक्तले अपराध स्वीकारेको खबर पनि आजको पत्रिकामा छापिएको छ । तर, यो समाचार सबै पत्रिकामा नभएर नयाँ पत्रिका दैनिकमा मात्र छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकारेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीर्आइबी)लाई स्रोतको हवाला दिँदै नयाँ पत्रिकाले लेखेको समाचारमा प्रदीपले गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको बताएका छन् । पछि विशालले समेत उनलाई बलात्कार गरेको र निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको वयान दुवै जनाले दिएका छन् ।

‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नयाँ पत्रिकासँग भनेका छन्, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका बेला उनीहरु त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरुको संलग्नताको आधार बलियो बनाएको हो ।’ यद्यपि, विगतमा प्रहरीले निर्दोष पक्रेर अपराध कबुल गर्न लगाएकाले यसपटक पनि यस्तै आशंका उब्जेको छ । पक्राउ परेका दुवै व्यक्तिका परिवारले निर्दोष पक्रेर फसाउन लागिएको गुनासो गरेका छन् ।

नयाँ पत्रिकाले प्रमुख समाचार भने विश्वविद्यालयमा छात्रभन्दा छात्रा धेरै भएको विषयलाई बनाएको छ । समाचार अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा १९ हजार ८२ छात्रा बढी छन् । विद्यार्थीको हिसाब किताबसँगै छात्र कम हुनुको कारणसमेत नयाँ पत्रिकाले खोजबिन गरेको छ ।

सिक्टा सिँचाइ भ्रष्टाचार आरोपमा पूर्वमन्त्रीसहित २१ विरुद्ध मुद्दा दायर भएकोलाई अन्नपूर्णले प्रमुख समाचार बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुरवीर महासेठले नागढुंगा–सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेको अर्को खबरलाई पनि अन्नपूर्णले प्राथमिकतापूर्वक छापेको छ ।

समाचार अनुसार, जापान सरकारको सहुलियत ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन् । यही प्रयोजनका लागि मन्त्रीले आयोजनाको सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा मगाएको दाबी समाचारमा गरिएको छ ।

बाघको आक्रमणबाट बालबाल बचेका व्यक्ति नै पछि बाघको संरक्षणमा जुटेको रोचक कथा पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

‘सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर’ शीर्षक दिएर कान्तिपुरले सांसद आवासबारे मुख्य समाचार लेखेको छ ।

कान्तिपुर लेख्छ– सांसद आवासका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार सांसद् आवास भवन बनाउन छुट्याइएको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ । मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ ।’

नागरिकले नेकपामा असन्तुष्टि चुलिएको लेखेको छ भने राजधानीले ‘तारो माइतीघर’ शीर्षक दिएर मुख्य समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment