Comments Add Comment

समाज कल्याण परिषदबाटै धर्म परिवर्तन कार्यक्रम स्वीकृत

२३ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपाका चार नेताहरुले सचिवालय बैठक बहिस्कार गरेको समाचार प्राथमिकतामा परेको छ । बैठक बहिस्कारको विषयलाई आजका पत्रिकाहरुले नेकपाको आन्तरिक विवाद र अध्यक्षद्वयप्रति नेताहरुको असन्तुष्टिको रुपमा ब्याख्या गरेका छन् ।

माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक बहिस्कार गरेका थिए । शीर्ष नेताहरुले धेरैबेर कुराएको भन्दै उनीहरु बाहिरिएका थिए ।

यसबारे नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै नेकपा महासचिव विष्णु पौडेलले भनेका छन्, के आपत् आइलाग्यो र  उहाँहरु बाहिरिनु भयो, बुझ्नै सकेनौं ।’

नयाँ पत्रिकासँगको कुराकानीमा नेता गौतमले नेताहरुले बैठकमा फर्किन भनेको तर आफूहरु नफर्किएको जानकारी दिएका छन् । उनले पार्टीको बैठक प्रधानमन्त्री निवासमा नभइ पार्टी कार्यालयमा बस्नुपर्ने पनि बताएका छन् ।

सरकारी निवास त्याग्न सकिँदैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जसरी सरकारी निवास त्याग्न नसक्ने अभिव्यक्ति दिएको विषयलाई नागरिक दैनिकले बैठक बहिस्कारको समाचारसँगै प्रकाशित गरेको छ ।

समाचारमा लेखिएअनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै ओलीले भने, ‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ । उनको आफ्नै महल छ । त्यसैले उनी प्रधानमन्त्री निवासमा बसेनन् । यो राम्रो कुरा हो । तर, पाकिस्तानमा जस्तै नेपालमा अहिल्यै गर्न मिल्दैन ।’ समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीले इन्जिनियरहरुसँग देशले भ्याउने गरी सेवासुविधा लिने र तीव्र विकास गरिने बताएका थिए ।

भैंसेपाटीमा मन्त्री निवासः संसदलाई थाहै छैन

सरकारले संघीय संसदसँग सहमति नलिई उसको नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको विषयलाई आजको कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ ।

सरकारले हालको पुल्चोकस्थित मन्त्री निवासलाई राजकीय अतिथि गृह बनाउने र मन्त्री निवास भैंसेपाटीमा सार्ने निर्णय गरेको थियो ।

यसबारे सभामुख कृष्णबहादुर महराले कान्तिपुरसँग भनेका छन्, ‘मसँग कुनै सल्लाह भएको छैन, एक्कासी निर्णय सुनें । यो निर्णयप्रति सांसदहरुले पनि आपत्ति जनाएका छन् ।’

समाज कल्याण परिषदबाटै धर्म परिवर्तन कार्यक्रम स्वीकृत

कारोबार दैनिकले समाज कल्याण परिषदबाटै धर्म परिवर्तन कार्यक्रम स्वीकृत गरिएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । समाचारमा लेखिएअनुसार १४ जुन २०१३ मा समाजकल्याण परिषदले बेलायती संस्था टियर फण्डलाई ५ करोड २३ लाख ७० हजारको परियोजना सञ्चालन स्वीकृति दिएको थियो । तर उक्त संस्थाले कर्मचारी भर्ना गर्दा सम्झौतामा नै क्रिश्चियनको अस्तित्व कायम गर्न र अनुयायीबीच एकता कायम गर्नुपर्ने उल्लेख गरेको समाचारमा उल्लेख छ ।

यसैगरी अमेरिकी संस्था मेरिनोल फादर एण्ड ब्रदर्स, मर्सिमिसन हिमालयज लगायतका संस्थाको कार्यक्रमलाई पनि परिषदले स्वीकृति दिएको छ ।

अर्को भूकम्पको जोखिम

राजधानी दैनिकले वैज्ञानिकहरुले अर्को भूकम्पीय जोखिम औंल्याएको भन्दै सुरक्षित संरचना निर्माण गर्न सुझाव दिएको विषयलाई एंकर समाचार बनाएको छ ।

समाचारअनुसार भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम औंल्याएका हुन् । जवाहरलाल नेहरु सेन्टर फर एडभान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले आन्तरिक सुरक्षासम्बन्धी नयाँ कानुन बनाउन लागिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment