Comments Add Comment

ईपीएलमा दर्शकः कोही उत्साहित, कोही निराश

काठमाडौं । टी-२० क्रिकेटमा २ सय १६ रनको टार्गेट बन्नु र चेज हुनु त्योभन्दा रोमाञ्चकता दर्शकका लागि के हुन सक्ला ! विशेष त विस्फोटक ब्याटिङमा रमाउने दर्शकका लागि एभरेस्ट पि्रमियर लिग (ईपीएल) मा उत्साह थपिँदो छ ।

शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको ईपीएलको तेस्रो खेलमा आइतबार भैरहवा ग्लाडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनायो । जुन ईपीएल इतिहासकै सर्वाधिक रन हो ।

रमाइलो त त्यतिबेला भयो, जब भैरहवाले दुई बल बाँकी छँदै २ सय १६ रनको लक्ष्य भेट्टायो ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको बेला वर्षमा तीन वटा फ्रेन्चाइज लिग हुनु र खेलाडीहरु व्यावसायिक हुँदै जानुले क्रिकेट विकासका लागि जति भूमिका खेलेको छ, त्योभन्दा धेरै क्रिकेट रुचाउने नेपाली दर्शक रमाउन पाएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतालाई पनि विचार गर्दा टी-ट्वान्टी भन्दा क्रिकेट विकासका लागि एकदिवसीय प्रतियोगिता गर्न सके फाइदा हुने नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताउने गरेका छन् ।

प्रशिक्षक टमाटाले समग्र क्रिकेट विकासलाई सोचे पनि व्यापारलाई हेरेर प्रतियोगिता गर्न हाम फालेका आयोजकले खर्चिलो र समय लाग्ने एकदिवसीयलाई अपनाउने सोच देखिँदैन । यसैले नहुनु भन्दा क्रिकेटका लागि केही त भइरहेको छ भनेर खुशी हुने बाटो मिलेको छ ।

चलेका विदेशी खेलाडी, विदेशी चियर लिडर्सको आकर्षण, छक्का भएको बल एक हातले क्याच गरे दर्शकलाई पुरस्कार जस्ता विषयले दर्शकहरु उत्साहित छन् । उद्घाटन खेलमा उपस्थिति दर्शक र दोस्रो दिन आएका दर्शकमा संख्याका हिसाबले केही कम भए पनि गएका वर्षको तुलनामा दर्शकको उपस्थिति राम्रो छ ।

विदेशी खेलाडी हावी हुने संकेत

ईपीएल प्रबन्ध निर्देशक आमिर अख्तरले दर्शकको मनोरञ्जनलाई नै ध्यानमा राखेर ब्याटिङमैत्री पिच बनाएकाले १ सय ७० रन कट्ने अनुमान प्रतियोगिता सुरु हुनुअघि गरेका थिए ।

उद्घाटन खेलमा बनेको १ सय ५ रनको लक्ष्य पूरा गर्न २० औँ ओभरसम्म लागेको हेर्दा आमिरको भनाइमा सही हुन सकेको थिएन ।

दोस्रो दिनको पहिलो खेलमा पनि ललितपुरले दिएको १ सय ४४ रनको मध्यम लक्ष्य चितवनले पूरा गर्न सकेन । तर, दोस्रो खेलमा भने ब्याटिङ निकै हावी रहृयो । त्यसमा पनि गएको सिजन जस्तै हारजितको भूमिकामा यसपटक पनि विदेशी खेलाडीकै ब्याटिङ निर्भर हुने देखिएको छ ।

पोखराका लागि दक्षिण अफ्रिकी खेलाडी रिचार्ड लेभीले ३६ बलमा ७ चौका र ७ छक्कासहित ७९ रन, स्कटल्याण्डका कायल कोटजरले ३७ बलमा बनाएको ४७ रन र पोउल कोलिङले १० बलमा बनाएको २० रनले उनीहरुको लय देखिइसकेको छ ।

भैरहवाको जितमा त भारतीय खेलाडी रवि इन्दर सिंहले ६० बलमा १० छक्का र ८ चौकासहित अविजित १ सय २५ रन बनाएर धमाका नै पिटे । यस्तै नेदरल्याण्डका रायन टेन डोसचेटे पनि राम्रा सट खेल्दै ११ बलमा १६ रन बनाए ।

पहिलो खेलमा आशलाग्दो केही नगरे पनि दोस्रो खेलमा ललितपुका भारतीय खेलाडी जयकिसन कोल्सावाला, गौरव तोमर, सन्नी पटेलले पनि सम्हालिएको खेल देखाएका थिए । सन्नी र तोमरले त बलिङमा पनि क्षमता देखाए । तोमरले पहिलो खेलमा पनि ४ ओभर बलिङ गरेर १० रन मात्र खर्चेर ३ विकेट लिएका थिए ।

चितवनमा रहेका आयरल्याण्ड पोउल स्टर्लिङ र इंग्ल्याण्डका जोन सिमसन पहिलो खेलमा नचले पनि इंग्ल्याण्डकै जर्ज स्कटले भने राम्रो गरे । अप्ठ्यारो स्थितिमा ९ बलमा १८ रन बनाएका उनले दुृई विकेट पनि लिएका थिए ।

कोही उत्साहित, कोही निराश

यसपटक ईपीएलले उद्घाटन खेलमा नै उल्लेख्य दर्शक पायो । पहिलो दिन शनिबार भएर मैदान भरिने गरी आएका तर दर्शक दोस्रो दिन नआउने अनुमान गरिए पनि त्यो झुटो हुन पुग्यो ।

दोस्रो दिन आइतबार पनि दर्शकको उपस्थिति राम्रो थियो । ईपीएल क्रिकेटको मजा लिन आएका दर्शकहरुसँग कुरा बुझ्दा कसैमा उत्साह भेटियो भने कोही भने निराश थिए । विदेशी र नेपाली खेलाडीलाई एउटै मैदानमा परख्न पाउने भएकाले उत्साहित दर्शक भनेअनुसार व्यवस्थापन नभएकाले भने निराश देखिन्थे । ‘ईपीएल भनेर जुन हल्ला भइरहेको थियो, त्यस्तो त केही पनि पाइएन । मैदान पनि खासै राम्रो बनाएको देखिएन, दर्शक बस्ने ठाउँ त उही नै हो’ बसुन्धराका नवराज अधिकारीले भने ।

पहिलो दिन त्रिवि मैदानमा भेटिएका गौरका अजाज आलम पनि उति खुशी थिएनन् । ‘मलाई त रिप्ले हेर्न भनेर साइट स्त्रिmन राखेको ठाउँ नै चित्त बुझेन । भित्र पस्न र निस्कन पनि धेरै समस्या छ । मैदानमा गरिएको कमेन्ट्री त झनै चित्त बुझेन’ उनले भने ।

‘सय रुपैयाँको टिकटमा यत्तिको व्यवस्थापन ठीकै हो । अझ विद्यार्थीका लागि त ५० रुपैयाँ मात्रै छ । छक्का हानेको बल एक हातले समाउन पाइयो भने ५० हजार नै आउँछ, मलाई त रमाइलो लागिरहेको छ’ हेटौडाका बिक्रम दुलालले भने ।

चियर लिडर्सदेखि महिला दर्शक

गएको संस्करणमा नेपाली चियर लिडर्स हुँदा दर्शकले जिस्काइदिने र उनीहरु अप्ठ्यारोमा पर्ने अवस्था आएको थियो । यसैले पनि खेलभन्दा मनोरञ्जन धेरै हुने टी ट्वान्टी प्रतियोगिताका लागि यसपटक ईपीएलले विदेशी चियर लिडर्स ल्यायो ।

मैदानमा दर्शकको उत्साहमा तिनै चियर लिडर्सको भूमिका पनि ठूलो छ । पहिलेदेखि धेरै दर्शक बस्ने चोभार इन्डतिर मात्रै होइन त्यसको विपरीत पहिले खाली हुने क्षेत्रमा पनि चियर लिडर्स राखिए पछि दर्शकहरु त्यतै बढ्न थालेका छन् ।

हुन त केही वर्ष पहिले त्रिवि मैदानमा क्रिकेट हेर्ने सबैजसो पुरुष दर्शक नै हुन्थे । आएका केही महिला दर्शकलाई पनि ‘हाहा हुहु’ गर्दै जिस्कादिनाले उनीहरु धेरैबेर बसेर खेल हेर्नै सकस हुन्थ्यो ।

अहिले भने अवस्था फेरिएको छ । नेपालमा फैलँदै गएको क्रिकेट क्रेजले धेरै महिला दर्शकलाई पनि मैदानसम्म तानेको छ । उनीहरुलाई मैदानमा आउँदा जिस्काइदिने पहिले जस्तो अप्ठ्याराहरु पनि छैनन् ।

‘सन्दिप लामिछानेलाई हेर्न आएको तर पहिलो खेल रहेछ आउँदा आउँदै ढिलो भइहाल्यो । अब दोस्रो खेल नै हेर्ने’ आइतबार ललितपुर र चितवनबीचको खेल सकिएपछि आइपुगेकी कीर्तिपुरकी सम्झना थापाले भनिन् ।

समूह समूहमा बदाम खाँदै चौरमा घाम तापेर बसिरहेका दर्शकहरुमा भेटिएकी सम्झना गुरुङले पनि पहिलो पटक मैदानमा आएर क्रिकेट हेर्दा रमाइलो लागेको बताइन् । ‘टिभीमा त हेरेको थिएँ, ग्राउण्डमा आएको फस्ट टाइम हो । रमाइलो हुने रहेछ’ उनले भनिन् ।

मैदानको चोर बाटो र बदाम बाजे

ईपीएलमा देखिएका फरक फरक दृश्यमा दुई दृश्य भने भिन्न थिए । तारबारबाट निकै कष्टसँग भित्र पसेका दर्शक र सबैको ध्यान तान्ने गरी कराउँदै हिँड्ने ‘बदाम बाजे’ ।

टिकट नकाटी बाहिर बारीका पाटाबाट घाँटी तन्काएर क्रिकेट हेरिरहेका दर्शकहरुमा कोही भने तारबारबाट सुतेर भित्र पसिरहेका थिए । शनिबार र आइतबार दुवै दिन त्यसरी चोर बाटोबाट भित्र पस्ने दर्शक पनि धेरै नै थिए ।

उनीहरु पल्याक पुलुक यताउती हेर्थे र कसैले हेरेको छैन भन्ने निश्चित भएपछि भित्र पस्ने गरिरहेका थिए । टिकट काट्न भन्दा फलामे तार काट्न उनीहरुलाई सजिलो लागिरहेको थियो ।  ‘खाइए खाइए, अभि थोडा हे, बाद मे मत पछुताइए’ बदाम, मकै, डुङ्गो र पानी बोकेर कराउँदै हिँडेका उनीसँग कुरा गर्ने समय थिएन । घरसम्म भारत भनेर सुनाउन भ्याएका उनले नाम भनेनन् ।

सेतै फूलेको दाह्री कपाल र थोते दाँतले मात्रै होइन चाएरिएका निधारले पनि उनको उमेर बोलिरहेको थियो । बुढेसकालमा पनि उनमा जोश भने असाध्यै थियो । ढालोभरि बदाम, प्लास्टिकमा मकै, डुङ्गो र डोरी बाँधेर घाँटीमा पानी झुण्ड्याएका थिए । उनको बोल्ने शैलीले सामान बिकाउन सजिलो भइरहेको थियो ।

५० मा बदाम, २० मा मकै र डुङ्गो साथै ३० रुपैयाँमा पानी बेचिरहेका उनको शैली आकर्षक नै थियो । उनी ३० रुपैयाँमा पानी बेचेपछि भन्थे, ‘देखिए, लिजिए आया ३० हजार !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment