Comments Add Comment

तेल चोर्न आन्दोलन, क्यान्सर निम्त्याउने कस्मेटिक सामग्री बजारमा !

२४ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा काठमाडौंमा सुरु अन्तरप्रदेश परिषद बैठक परेको छ । सरकार बनेको नौ महिनापछि पहिलोपटक बसेको बैठकलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा उतारेका छन् ।

यसबाहेकका अन्य सामग्रीहरुमा भने विविधता छ । केहीको आँखा सौन्दर्य सामग्रीमा बढ्दो केमिकलमाथि परेको छ भने कुनैले तेल चोर्न ट्यांकर चालकहरुले गरेको आन्दोलनलाई समेटेका छन् । त्यस्तै निर्मला पन्त हत्या अभियोगमा पक्राउ परेकाको डीएनए नमिले विशेष अनुसन्धान टोली गठन हुने समाचार पनि आजको पत्रिकामा छापिएको छ ।

कान्तिपुरले सौन्दर्य सामग्रीमा केमिकलको बढ्दो प्रयोगबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार लिपिस्टिकमा ७३ प्रतिशत र स्किन क्रिममा ७० प्रतिशतसम्म हानिकारक रसायन छ ।

गुणस्तर तथा नापतौल विभागले गरेको अध्ययन अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कस्मेटिक सामीमा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी पाइएको छ । डब्लुएचओले मर्करीको मात्रा १ पीपीएम मात्रै तोकेको छ । विभागले परीक्षण गर्दा १३ हजार ९ सय ५४ पीपीएसम्म भेटिएको छ । पपया, लोटस, ओले, नेपाली ब्रान्ड सोनाटा, डेकोर, न्यू लुकलगायतमा मापदण्डभन्दा बढी रसायन पाइएको हो । विभागका अनुसार, यस्तो सौन्दर्य सामग्रीको प्रयोगले प्रजनन क्षमता घटाउनेदेखि क्यान्सरसम्म हुनसक्छ ।

मानव तस्करी र श्रम शोषणको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आइतबार परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिन हाजिर भएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकतापूर्वक छापेको छ । शेर्पाले दिएको लिखित जवाफ चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई बोलाएको हो । परराष्ट्रका अनुसार स्पष्टीकरण टुंगिएपछि राजदूतमा निरन्तरता दिने या नदिने भन्ने निर्णय हुनेछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहेका दुई जना घटना भएकै दिन पक्राउ परेको खुलासा कान्तिपुरले गरेको छ । अनुसन्धानका लागि काठमाडौंमा रहेका विशाल चौधरी र प्रदीप रावल कुखुरा चोरी आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयलको हवाला दिँदै कान्तिपुरले समाचार लेखेको छ ।

‘मुख्यमन्त्रीसँग प्रधानमन्त्री’ शीर्षक दिएर नयाँ पत्रिकाले अन्तरप्रदेश परिषद् बैठकबारे चर्चा गरेको छ । समाचार अनुसार, प्रदेश मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग थरीथरीका गुनासा गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अहिलेसम्म कसरी काम गर्ने भनेर अलमलमा परेको गुनासो गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी सरुवा हुँदा काममा समस्या भएको बताएका थिए भने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई अलमल्याउने र पंगु बनाउने काम भएको भन्दै आक्रोस पोखेका थिए । नयाँ पत्रिकाका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्रीले स्रोत र अधिकार नदिएर प्रदेशसँग नतिजामात्र खोजिएको बताएका थिए । प्रधानमन्त्रीले भने पुरानो सोच र शैलीले अप्ठ्यारो भएको बताएका थिए ।

नयाँ पत्रिकाको अर्को समाचार अनुसार, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डीएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।

पोखराको विजयपुर खोलामा सिनो खाँदै गरेका हिमाली प्रजातिका गिद्धको तस्वीर छापेको अन्नपूर्णले तेल चोर्न ट्यांकर चालकहरुले आन्दोलन थालेकोबारे समाचार लेखेको छ ।

अन्नपूर्ण लेख्छ– इन्धन बोक्ने ट्यांकरहरुले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरुको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो ।

समाचार अनुसार ट्यांकर चालकहरुले तेल चोर्न माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरेका छन् । नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ । यसपछि चालकले तेल चोर्न पाएका थिएनन् । अहिले एक दिनमै करोडौं मूल्यको तेल चोर्न पाउनुपर्ने उनीहरुको माग छ ।

अन्नपूर्णका अनुसार नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरमा पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको छ । ३ सेन्टिमिटरमा ९० लिटर तेल अट्छ । देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर तेल मिलाउँदा प्रतिदिन डिजेल र पेट्रोलमा झन्डै ३ करोड मूल्यको तेल हिनामिना हुन्छ ।

नेपाल समाचारपत्रले नक्सा बिर्सिंदा नेपाल वायु सेवा निगमको विमान ४ घण्टा ढिलो उडेको लेखेको छ ।

हवाई उडानको मार्ग पहिल्याउने तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) छुट्दा दुबई–काठमाडौं उडान ४ घन्टा ढिला भएको हो ।

दुबईको स्थानीय समयअनुसार आइतबार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौं अवतरण गनुपर्ने विमान यही कारण १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको हो ।

नागरिकले सिक्टा सिँचाइमा अनियमितताबारे गलत प्रतिवेदन दिनेलाई उन्मुक्ति दिइएकोदेखि अन्तरप्रदेश परिषद् बैठकमा मुख्यमन्त्रीले राखेका भनाइसम्मलाई पहिलो पृष्ठमा समेटेको छ ।

राजधानीले नेपाली सेनामा विद्यमान विभेदबारे समाचार लेखेको छ । समाचार अनुसार कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरिएको छ ।

गोरखापत्रले पनि अन्तरप्रदेश परिषद्को काठमाडौंमा जारी बैठकलाई नै मुख्यसमाचार बनाएको छ । यससँगै सरकारले चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको समाचारलाई पनि गोरखापत्रले छापेको छ । केरुङ–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौं आइपुगेको समाचार पनि गोरखापत्रको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment