Comments Add Comment

कर्मचारीको तलब ठगेर कर्णाली एग्रिकल्चरका सञ्चालक फरार

२४ मंसिर, मोरङ । अर्गानिक कृषि खेतीलाई प्रोत्साहन गर्ने उदेश्यले खुलेको एक कम्पनीका सञ्चालक कर्मचारीको तलव गठेर सम्पर्कबिहीन भएका छन् ।

विराटनगरमा शाखा कार्यालय खोलेर मोरङ जिल्लामा काम गर्न भन्दै नियुक्ति दिएका १४ कर्मचारीलाई तलब नदिइ कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहीन भएका हुन् ।

नियुक्ति पाएको तीन महिनासम्म तलब नपाएपछि कर्मचारीहरुले श्रम कार्यालयमा उजुरी गरेका छन् ।

रोजगारदाता सम्पर्कबिहीन भएपछि तलब माग गर्दै १४ जना कर्मचारीले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका हुन् । ‘तीन महिना काम गर्दा तलब पाएनौ,’ मोरङको कटहरी गाउँपालिकाका कार्यक्षेत्र बनाएर काम गरेका गजेन्द्रकुमार रामले भने, ‘तलब माग्दा दिदैनन् । कार्यालय पनि बन्द गरेका छन् ।’

सुर्खेत केन्द्रीय कार्यालय रहेको कम्पनीले विराटनगरमा शाखा कार्यालय खोलेको थियो । शाखा कार्यालयमार्फत गत भदौमा नियुक्त गरिएका कर्मचारी कर्मचारीलाई मंसिरसम्म तलब दिएको छैन ।

स्थानीय तहमा कृषकलाई सदस्य बनाउदै मल बीउ उपलब्ध गराउने सहजकर्ताको रुपमा नियुक्ति पाएका कर्मचारीले कृषकहरुलाई सदस्य बनाएर प्रतिव्यक्ति पाँचसयका दरले सदस्यता पनि वितरण गरेका थिए । ‘कृषकलाई कृषिको बीउ, मल र बिरुवा उपलब्ध गराउने गरी ५ सयका दरले सदस्यता काट्यौ,’ सुनसरी इटहरीकी पर्मिला सुवेदीले भनिन, ‘तर कम्पनीले तलब माग्दा दिएनन् ।’ तीन महिनापछि १७ हजार दिने गरी सुरुमा ११ हजार ५ सय मासिक तलबमा कर्मचारी नियुक्त भएका थिए ।
परियोजनाले कृषकलाई दुई हजार रुपैयाँ लिएर सदस्य बनाउने र पाँच वर्षसम्म एक कट्ठा जग्गामा खेती गर्न बीउ, बिरुवा र मल निःशुल्क उपलब्ध गराउने भन्दै प्रचार गरेको थियो ।

अध्यक्ष भन्छन – कर्मचारी सम्पर्कमा आएनन्

कर्मचारीले तलब नपाएको भन्दै श्रम कार्यालयमा उजुरी गरेपछि कम्पनीका अध्यक्ष लालमणि देवकोटाले कर्मचारी नै सम्पर्क आउन नचाहेको बताएका छन् ।

विराटनगरमा कार्यालय खोलेर काम अघि बढाएको र कार्यालय कर्मचारीले राजीनामा दिएपछि कार्यालय बन्द भएको भन्दै उनले कार्यालय बन्द भएपछि कर्मचारीलाई सम्पर्कमा आउन भन्दा पनि नआएको बताए ।

कर्मचारीले दायित्वअनुसार काम नगरेको उनको गुनासो छ । ‘हाम्रो काममा केही ढिलो भएकै हो,’ उनले भने, ‘सबै शाखामा पुग्न सकिदैन् । कर्मचारीहरु सम्पर्कमै आएनन् ।’

सुर्खेतमा केन्द्रीय कार्यालय रहेको भन्दै उनले २१ जिल्लामा शाखा कार्यालय खोलेर अर्गानिक खेती गर्न प्रोत्साहन गर्दै आएको बताए । उक्त कम्पनीले प्रदेश १ का १० वटा जिल्लामा काम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment