Comments Add Comment

‘स्वतन्त्र समिति’ले बनायो समयतालिका, अप्रिलसम्म क्यानमा नयाँ नेतृत्व आउने

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधान गर्न सक्रिय ‘स्वतन्त्र समिति’ले आगामी अप्रिलभित्र नेपाल क्रिकेट संघलाई नयाँ नेतृत्व दिने समयतालिका बनाएको छ । तर, सातदिनपछि मात्र सार्वजनिक गर्ने सहमति छ ।

हालै काठमाडौंमा सम्पन्न स्वतन्त्र समितिको बैठकले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने, जिल्ला अधिवेशनको विवाद समाधान गर्नेसहित क्रिकेट संघको प्रदेश र केन्द्रीय संरचनाको चुनाव गर्ने समयतालिका बनाएको छ । स्वतन्त्र समितिका एक सदस्यले भने, ‘हामीले समयतालिका बनाएको छौं, ढिलोमा आगामी अप्रिलसम्म क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ ।’

बैठकमा सहभागी हुन आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा पनि काठमाडौं आएका थिए । उनले निर्वाचित क्यानका पदाधिकारीहरुसँग छुट्टै सम्वाद समेत गरेका छन् ।

स्रोतका अनुसार छलफलहरुमा विभिन्न जिल्ला अधिवेशनबारे सहमतिको प्रयास भएको छ । निर्वाचित क्यानले काठमाडौं र ललितपुर बाहेक ३७ जिल्लाको अधिवेशन गरेको थियो । तर, क्रिकेट संघको विधानमा नयाँ संशोधन भएको छ, जसमा खेलाडीहरु समेत सदस्य हुन पाउने प्रावधान थप भएको छ ।

मतदाताको दायरा नै फरक भएकाले कुन जिल्लाको निर्वाचनलाई बैध मान्ने र कहाँ फेरि चुनाव गराउने भन्ने टुंगो गर्न स्वतन्त्र समिति सक्रिय छ । स्रोतका अनुसार निर्वाचित क्यानले ५० प्रतिशतसम्म बैध सदस्य भएको अधिवेशनलाई मान्यता दिनुपर्ने माग राखे पनि आईसीसीले मानेको छैन ।

यसबारे आईसीसीका प्रतिनिधि र कानुनी सल्लाहकार बसेर एउटा विधि तोक्ने सहमति भएको छ । स्रोत भन्छन्, ‘यसो गर्दा काठमाडौं लगायतका धेरै खेलाडी भएको जिल्लामा फेरि चुनाव हुनसक्छ । तर, एउटा सहमति गर्नुको विकल्प छैन ।’

यद्यपि स्वतन्त्र समितिको निर्णय सात दिनपछि सार्वजनिक गर्ने र त्यसअघि कसैले पनि नबोल्ने सहमति भएको भन्दै कोही पनि औपचारिक रुपमा बोल्न तयार छैनन् ।

अनौपचारिक रुपमा बताएअनुसार यदि अहिले बनेको समयतालिका अनुसार सबैले काम गर्ने हो भने ढिलोमा अप्रिल अर्थात वैशाखसम्म क्यानमा नयाँ नेतृत्व आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment