२५ मंसिर, मोरङ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताएका हुन् ।
राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै उनले संविधान संशोधन र आफ्ना कार्यकर्ताविरुद्ध लगाएको मुद्दा फिर्ता लिएमात्र सरकारमा जाने बिषयमा सोच्न सकिने बताए । ‘हाम्रो माग सम्बोधन गर्न चाहिने दुई तिहाई सरकारसँग छ तर, हाम्रो माग सम्बोधन भएको छैन’ उनले भने ।
माग सम्बोधन नभए सडक संघर्ष गर्ने उनको भनाइ छ । सरकारलाई दिएको समर्थन फिर्ताबारे केही दिनभित्र बस्ने पार्टीको केन्दि्रय कमिटी बैठकले टुंगो लगाउने उनले बताए ।
प्रदेश २ को नाममा मधेस छुट्नु हुँदैन
प्रदेश २ को नाम र राजधानीको टुंगो नलगानी रहेको अवस्थामा राजपा अध्यक्ष मण्डलका संयोजक महताले प्रदेश २ को नाममा मधेस शब्द छुटाउन नहुने बताए । प्रदेश २ को नाम र राजधानीबारे सुझाव दिन कार्यदल बनेको छ, जसले विभिन्न जिल्लामा पुगेर सुझाव संकलन गर्दैछ ।
महतोले भने, ‘नाम जे राखेपनि मधेस शब्द छुट्नु हुँदैन भन्ने लाग्छ ।’ राजधानी भने जनकपुर उपयुक्त भएको उनले बताए ।
प्रतिक्रिया 4