Comments Add Comment

कांग्रेस महासमिति बैठक : साँझको गास र बास आफ्नै जिम्मा

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् ।

महासमिति सदस्यहरु सम्पर्कमा आउने र रजिस्ट्रेसन तथा दस्तावेज वितरण २८ गते नै हुनेछ ।

महासमिति बैठक आयोजनाको व्यवस्थापनको जिम्मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिलाई दिइएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँका अनुसार महासमिति बैठकको तयारी लगभग पूरा भइससकेको छ ।

कार्यक्रम स्थल पार्टी कार्यालयबाट सिंहदरबार अगाडि रहेको योगम्बर पार्टी प्यालेसमा सरेको छ ।

महासमिति सदस्यहरुलाई विहानको खाजा, खाना र दिउँसोको खाजा पार्टीले खुवाउनेछ । ‘साँझको खाना र बासको व्यवस्था आफैंले गर्नुपर्ने भन्ने पार्टीको परिपत्र छ’ बानियाँले अनलाइनखबरसँग भने, ‘यसबारे अन्तिम टुंगो भोलि लाग्छ ।’

प्रचार प्रसारको जिम्मा स्थानीय तहहरुलाई दिइएको छ । यति गर्दा पनि डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ । धेरै खर्च भने खाना र खाजामा हुनेछ । ‘१४ सय महासमिति सदस्य हुन्छन्, नेताहरुसँग आउने सुुरक्षाकर्मी, ड्राइभर सबै गर्दा १६÷१७ सय मानिसले ५ दिनसम्म खाना र खाजा खान्छन्’ बानियाँले भने ।

खानाको मेनु लगभग तयार भएको छ । दाल, भात, तरकारी र मासु राख्ने योजना छ ।

कहाँबाट जुट्छ खर्च ?

कांग्रेसले महासमिति बैठकको व्यवस्थापनको जिम्मा उपत्यकाका तीन जिल्लालाई दिएको छ । तर, पार्टी सहयोग तथा चन्दा उठाउने अनुमति पनि दिइएको छैन ।

उसो भए खर्चको जाहो कसरी हुन्छ ? काठमाडौं सभापति बानियाँ भन्छन्, ‘रजिष्ट्रेसन शुल्क एक हजार तोकिएको छ । यसबाट पनि केही रकम जम्मा हुन्छ ।’

यसबाहेक केन्द्र र प्रदेशमा सांसद रहेका नेताहरुसँग थप रकम लिने योजना छ । तर, कति भन्ने अझै टुंगिएको छैन । अपुग रकम पार्टीले व्यहोर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment