Comments Add Comment

आज पनि हुन सकेन प्रधानन्यायाधीश सिफारिस, देउवा अनुपस्थित

२६ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन ।

प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य हुन्छन् । यद्यपि अघिल्ला बैठकहरुमा पनि देउवा अनुपस्थित हुँदै आएका छन् ।

मंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री ओलीले आजै टुंगो लगाउने भन्दै बिहान बोलाएका थिए । तर, राति ९ बजेमात्र त्यसबारे जानकारी आएकाले देउवा बैठकमा जान नभ्याएको उनका स्वकीय सचिव भानु देउवाले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘हिजो बिहान हाम्रो सभापति भ्याउनु भएन । बेलुका उहाँहरुले नै रद्द गरेर पुस ५ गते बस्ने भन्नुभयो । फेरि राति फोन आयो विहान ९ बजे भनेर । महासमिति बैठकको तयारीका लागि पार्टीको बैठकमा जानुपर्ने भएकाले उहाँले भ्याउनु भएन ।’

मंगलबारै प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भए पनि विपक्षी दलका नेता देउवाले समय दिन नसकेपछि स्थगित भएको थियो । स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेता देउवाबीच अनौपचारिक सहमति बाँकी रहेकाले पनि पटकपटक बैठक स्थगित हुने गरेको छ ।

आज औपचारिक बैठकअघि ओली र देउवाबीच अनौपचारिक छलफल हुने बताइएको थियो । यसअघि दुई नेताबीच अलग्गै छलफल नभएकाले मंसिर १७ गते छलफल नभई बैठक टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment