२६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेल्नु र राम्रो प्रदर्शन गर्नु हरेक खेलाडीको सपना हो । झण्डै ५ वर्षदेखि हुन नसकेको लिग भएका बेला आफ्नो खेल कौशल देखाउने हरेकको चाहना हुन्छ नै ।
नेपाली राष्ट्रिय टोलीका सदस्य तथा भरपर्दा सेन्टर ब्याक अनन्त तामाङको सपना पनि यो भन्दा फरक छैन । तर उनले लिग खेलिरहेका छैनन् । चोटका कारण मैदानबाहिर रहेका पनि होइनन्, ट्रायलका लागि विदेश गएका पनि छैनन् ।
किन अनन्त लिग खेलिरहेका छैनन् त ? लिग आयोजक अखिल नेपाल संघ मौन छ ।
त्यसपछि हामीले उनी यसअघि आवद्ध भएको थ्रीस्टार र उनलाई भित्र्याउन चाहेको मनाङमा सोधीखोजी गर्यौं । औपचारिक रुपमा कोही बोल्न तयार भएनन् ।
नऔपचारिक संवादका क्रममा खुल्यो – उनी त चिरप्रतिद्वन्द्वी थ्रीस्टार र मनाङको चेपुवामा पो परेका रहेछन् । अझ यसमा मनाङको ‘खराब नियत’ देखिन्छ ।
किन फसे अनन्त ?
अनन्त तामाङ नेपालका उत्कृष्ट डिफेन्डर मध्ये एक हुन् । राष्ट्रिय टिममा लगातार लोभलाग्दो प्रदर्शन गरेका उनी झण्डै एक वर्षदेखि थ्रीस्टारमा अनुबन्धित थिए । थ्रीस्टारले मोफसलका थुप्रै प्रतियोगिता जित्दा उनी पनि टिममा रहे ।
उनको उत्कृष्ट खेलकै कारण ए डिभिजनको उपाधि जित्ने दाउमा रहेको मनाङले पनि अनन्तलाई टिममा ल्याउन चाहना बनायो ।
थ्रीस्टार र मनाङ घरेलु फुटबलका मुख्य प्रतिद्वन्द्वी हुन् । त्यही कारण बेलाबेला दुई क्लबले एकअर्काको राम्रो खेलाडी तान्छन् । यसका उदाहरण सागर थापा, किरण चेम्जोङ, विराज मर्हजन, अनिल गुरुङलगायत थुप्रै खेलाडी छन् ।
तर, अनन्तको हकमा थ्रीस्टारले रिलिज नै नगरी मनाङले अनुबन्धित गरेको पाइएको छ ।
थ्रीस्टारका एक पदाधिकारी भन्छन्, ‘अनन्तलाई हामीले लिगकै लागि भनेर २०७५ सालको अन्त्यसम्म अनुबन्धित गरेका थियौं । हामीले रिलिज नगरी मनाङले लगेछ ।’
‘हामीले रिलिज नै नगरेको खेलाडी मनाङले कसरी टिममा अनुबन्धित गर्न सक्यो ? थ्रीस्टारका एक पदाधिकारी थप्छन्, ‘मनाङको नियत आफ्नो टिम बनाउने भन्दा पनि अरुको टिम कसरी विगार्ने, कसरी बखेडा खडा गर्ने भन्ने देखियो ।’
मनाङका महासचिव मुखिया लामाले भने खेलाडी स्वयंले क्लबमा कुरा भइसकेको भनेकाले अनुबन्धित गरेको बताए । थ्रीस्टारले रिलिज नै नगरेको खेलाडीलाई मनाङले कसरी अनुबन्धित गर्न सक्यो ? भन्ने प्रश्नमा महासचिव मुखिया भन्छन्, ‘खेलाडी आएर तपाईंको क्लबबाट खेल्ने भनेपछि अनुबन्धित गरेको हो ।’
मनाङले अनन्त आफैं खेल्छु भनेर आएको दाबी गरे पनि अबुन्धन गर्नुअघि रिलिजका लागि थ्रीस्टार क्लबलाई औपचारिक आग्रहसमेत नगरेको पाइएको छ ।
सके अनन्तलाई क्लबमा ल्याउने, नभए थ्रीस्टारबाट लिग खेल्न नदिने उसको नियत देखिन्छ । लिगमा थ्रीस्टारलाई हराएपछि उपाधि होडमा अगाडि देखिएको मनाङले अनन्तको विवाद टुंग्याउने भन्दा अल्झाउन चाहेको देखिन्छ ।
होइन भने उसले जरिवाना तिरेर भए पनि अनन्तलाई मनाङलाई खेलाउने आँट गर्नुगर्ने हो ।
तर, आफूले ल्याउन नपाउने हो भने थ्रीस्टारबाट खेल्न नहुने तर्क गरेर अड्काएको छ ।
मनाङका महासचिव लामा भन्छन्, ‘अनन्तले अन्य क्लबमा खेल्छु भन्छ भने हामी तयार छौं । थ्रीस्टारले पनि रिलिज पठाओस्, हामी पनि रिलिज पठाउछौं । तर थीस्टारबाट खेल्न पाउनु हुँदैन । यो कुरा अनन्तलाई पनि भनिरहेका छौं ।’
दुई महिनासम्म चुपचाप
अनन्तले लिग खेल्न नपाएको दुई महिना भइसक्यो । क्लबहरु मौन बसेपछि यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले हस्तक्षेप गरेर खेलाडीलाई मैदानमा आउने वातावरण बनाउन सक्थ्यो तर, अहिलेसम्म एन्फा पनि मौन बसेको छ ।
एन्फा प्रवक्ता किरण राई भन्छन्, ‘अहिलेसम्म एन्फामा आधिकारिक उजुरी परेको छैन । पहिलो कुरा त उजुरी पर्नु पर्यो । हामी आफैं खेलाडीको पछि पर्ने कुरा आएन ।’
यद्यपि यसबारे बुझ्ने काम भइरहेको उनले दाबी गरे । थ्रीस्टारले भने एन्फाको भूमिका खोज्न थालेको छ । यसबारे उसले छानविन गर्नुपर्ने क्लबले बताएको छ ।
अनन्त मात्रै हैन, राष्ट्रिय टिमका अर्का डिफेन्डर आदित्य चौधरीको हालत पनि अनन्तको जस्तै भएको छ ।
एपीएफमा आबद्ध आदित्यलाई मनाङले टिममा भित्र्याएको थियो । तर यस्तै विवाद त्यहाँ पनि देखा पर्यो र फलस्वरुप आदित्यले अहिलेसम्म लिग खेल्न पाएका छैनन् ।
लिग खेलाडीले आफूलाई निखार्ने माध्यम भए पनि भरपर्दा खेलाडी खेलविहीन हुनुपर्दा राष्ट्रिय टिममा समेत धक्का लाग्ने देखिन्छ ।
 
                    










 २०७५ मंसिर  २६ गते १८:०८
                        २०७५ मंसिर  २६ गते १८:०८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4