सधै उस्तै खाना, सधै उस्तै परिकार, सधै उस्तै स्वाद । हामीलाई दिक्क लाग्छ । केही नयाँ स्वाद फेरौं न त भन्दा रेष्टुरेन्ट जानुपर्ने । तर, रेष्टुरेन्टको खाना स्वादिलो भएपनि स्वस्थ्यकर हुँदैन । अर्कोतिर खर्चिलो पनि । यस्तो अवस्थामा कसरी जिब्रोको स्वाद फेर्ने त ?
सजिलो काइदा हो, अन्डाकरी । यो परिकार हरेकको भान्सामा पाक्ने गर्छ । सजिलो र स्वादिलो पनि हुन्छ । अन्डाकरी पकाउने आ-आफ्नै तरिका छन् । यद्यपी सबैको स्वादमा उति भिन्नता हुँदैन ।
यसपाली हामीले त्यही अन्डाकरीबाट फरक स्वाद लिने प्रयास गरेका छौं । यो तपाईं/हामी जो कोहिले सजिलै बनाउन सक्छौं । धेरै सामग्री चाहिँदैन । बनाउनका लागि झन्झट पनि छैन ।
आवश्यक सामग्री
– अन्डा (उसिनेको)
– हरियो केराउको दाना
– चौसुर र सुपको साग
– बेसनको पेस्ट
– नुन
– रातो खुर्सानी
– गोलभेडा, प्याज र लसुनको पेस्ट
– तेल
– जीरा, मेथी, कालोज जीरा, पान जीरा र ज्वानोको मिश्रण
कसरी बनाउने ?
उसिनेको अन्डाको बोक्रा छोड्याउने । उक्त अन्डा डुबाउनका लागि बेसनको घोल बनाउने । घोलमा नुन राख्ने । अब अन्डालाई बेसनको घोलमा डुबाएर तेलमा तार्ने । यसरी तारेको अन्डालाई एउटा प्लेटमा राख्ने ।
अब अर्को कराहीमा तेल तताउने । त्यसमा जीरा, मेथी लगायतको मसला फुराउने । त्यससँगै रातो खुर्सानी फुराउने ।
अब प्याज, गोलभेडा र लसुनको पेस्ट हालेर केही छिन पकाउने । त्यसमाथि थोरै जीराको धुलो मिसाउने । तेल र मसला छुटिएपछि मसिनो टुक्रामा काटेको साग मिसाउने । त्यसमाथि हरियो केराउको दाना राख्ने । साग र केराउ पाकेपछि अन्डा राखेर मिसाउने ।
अब एग करी तयार भयो । यसलाई खाना वा खाजासँग तात्तातो सर्भ गनुपर्छ ।
प्रतिक्रिया 4