News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा क्यान्सरजस्ता दीर्घरोगको दर बढ्दै गएकोले यसको मूल कारण पत्ता लगाउन वैज्ञानिक अनुसन्धान आवश्यक देखिएको छ।
उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग, क्यान्सर जस्ता दीर्घरोगको समस्या बढ्दै गएको छ । दीर्घरोगले व्यक्तिको स्वास्थ्यमा मात्र असर पार्दैन, परिवारको आर्थिक अवस्था, काम गर्ने जनशक्ति र समग्र राज्यको स्वास्थ्य प्रणालीमा समेत ठूलो बोझ थप्छ । अस्पतालमा उपचार, डायलाइसिस, क्यान्सरको उपचार तथा औषधिमा राज्यको ठूलो स्रोत खर्च भइरहे पनि यी रोग किन बढिरहेका छन् भन्ने मूल कारणको खोजी र रोकथाममा पर्याप्त ध्यान नदिइएको बहस पनि भइरहेको छ ।
खानपान, नुन, तेल तथा बोसोको प्रयोग, खाद्य पदार्थमा हुने रासायनिक तथा अन्य पदार्थको सम्भावित प्रभाव र खाद्य सुरक्षाको विषय महत्त्वपूर्ण बनेको छ । यिनै विषयमा दीर्घरोग र खानपानबीचको सम्बन्ध, खाद्य सुरक्षाको अवस्था, अनुसन्धानको आवश्यकता र राज्यले अब चाल्नुपर्ने कदमबारे वरिष्ठ पोषणविद् भुपाल बानियाँसँगको कुराकानी:
नेपालमा दीर्घरोगको समस्या बढिरहेको छ । यसको असर कुन कुन क्षेत्रमा पर्ला ?
दीर्घरोगलाई हामीले केवल स्वास्थ्यको समस्याका रूपमा हेर्नु हुँदैन । यसको प्रभाव व्यक्ति, परिवार, काम गर्ने जनशक्ति, राज्यको राजस्व र समग्र अर्थतन्त्रसम्म पुग्छ ।
उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मिर्गौला रोग, क्यान्सरलगायतका दीर्घरोग बढ्दा बिरामीले लामो समय उपचार गर्नुपर्ने हुन्छ । यसले परिवारमा ठूलो आर्थिक भार पर्छ । कतिपय अवस्थामा परिवार नै आर्थिक संकटमा पर्न सक्छ ।
अर्कोतर्फ, दीर्घरोगका कारण काम गर्न नसक्ने अवस्था आयो भने हाम्रो काम गर्ने जनशक्ति घट्छ । काम गर्ने जनशक्ति घट्दा उत्पादन घट्छ, परिवारको आम्दानी घट्छ र राज्यको राजस्वमा समेत असर पर्न सक्छ । त्यसैले दीर्घरोगको विषय स्वास्थ्य मन्त्रालयको मात्र विषय होइन, यो समग्र राष्ट्रको आर्थिक र सामाजिक विषय हो ।
दीर्घरोग बढ्नुको मूल कारण के हो ?
यही विषयमा हामीले गम्भीर अनुसन्धान गर्न आवश्यक छ । अहिले हामीले धेरैजसो रोग बढिरहेको तथ्य देखिरहेका छौँ । मधुमेह बढिरहेको छ, उच्च रक्तचाप बढिरहेको छ, मुटु तथा क्यान्सरका बिरामी बढिरहेका छन्, मिर्गौला र कलेजोसँग सम्बन्धित समस्या पनि देखिरहेका छौँ । तर प्रश्न के
हो भने यी रोग किन बढिरहेका छन् ? यसको ‘रुट कज’ अर्थात् मूल कारण के हो ?
हामीले अनुसन्धान गरेर प्रमाणित गरेका कुरालाई मात्र निश्चित कारण भन्नुपर्छ । अहिले कतिपय विषयमा सम्भावित कारणका रूपमा खानपान र खाद्य पदार्थमा प्रयोग हुने विभिन्न रासायनिक पदार्थ, विषादी, पशुपन्छीमा प्रयोग हुने एन्टिबायोटिक, दूधमा प्रयोग हुने विभिन्न रसायन तथा फलफूलमा प्रयोग हुने पेस्टिसाइड वा अन्य पदार्थबारे प्रश्न उठाउन सकिन्छ । तर यी कुराले कुन मात्रामा, कस्तो अवस्थामा र कति असर पार्छन् भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पत्ता लगाउनुपर्छ ।
खानपान र दीर्घरोग बीच कस्तो सम्बन्ध छ ?
खानपान दीर्घरोगको जोखिमसँग जोडिएको महत्त्वपूर्ण विषय हो । हामीले के खान्छौं, कति खान्छौं, कसरी तयार पारिएको खाना खान्छौं र खाद्य पदार्थमा के–कस्ता सामग्री प्रयोग भएका छन् भन्ने कुराले स्वास्थ्यमा प्रभाव पार्न सक्छ ।
उदाहरणका लागि मुटुसम्बन्धी रोगको सन्दर्भमा बोसो, तेल, नुनलगायतका विषय महत्त्वपूर्ण हुन्छन् । तर हामीसँग हाम्रो जनसंख्याको वास्तविक खानपानको ढाँचा, कुन प्रकारको तेल कति प्रयोग भइरहेको छ, ट्रान्सफ्याटको सेवन कति छ, नुनको सेवन कति छ भन्ने विषयमा पर्याप्त अनुसन्धान र तथ्यांक हुनुपर्छ । हामीले अनुमानका आधारमा मात्रै होइन, आफ्नै देशको तथ्यांकका आधारमा नीति बनाउनुपर्छ ।
स्वास्थ्यको हिसाबले तोरी तेल, सूर्यमुखी तेल, घिउ वा अन्य तेलमध्ये कुन प्रयोग गर्नु ठीक होला ?
तेल र फ्याटको विषय आफैंमा विस्तृत विषय हो । कुन तेलमा के हुन्छ, त्यसमा कुन प्रकारको फ्याट हुन्छ र त्यसको सेवन कति गर्नुपर्छ भन्ने कुरा छुट्टै अध्ययन गर्नुपर्ने विषय हो ।
अहिले मानिसहरू ‘कुन तेल राम्रो ?’ भनेर सोधिरहेका छन् । तर हामीले त्यसको उत्तर दिनुभन्दा पहिले हाम्रो समाजमा कुन तेल कति प्रयोग भइरहेको छ, बाहिर होटल तथा रेस्टुरेन्टमा कस्तो तेल प्रयोग भइरहेको छ, तेललाई कति पटक तताएर प्रयोग गरिन्छ, ट्रान्सफ्याटको अवस्था के छ जस्ता विषयमा अनुसन्धान गर्नुपर्छ ।
विशेषगरी ट्रान्सफ्याटको विषयमा पनि हाम्रो जनसंख्यामा वास्तविक सेवनको अवस्था के छ र त्यसले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने अध्ययन आवश्यक छ ।
सरकारले डायलाइसिस निःशुल्क, क्यान्सर उपचारमा सहयोगलगायतका कार्यक्रम ल्याएको छ । के यो पर्याप्त छ ?
बिरामीलाई तत्काल राहत दिन यस्ता कार्यक्रम आवश्यक छन् । तर समस्या कहाँ छ भने हामी प्रभावसँग लडिरहेका छौँ, मूल कारणसँग पर्याप्त रूपमा लडिरहेका छैनौं । जस्तो कसैको मिर्गौला फेल भयो र उसलाई डायलाइसिस निःशुल्क गरियो भने उसको तत्काल आर्थिक भार कम हुन्छ । तर मिर्गौला रोग लाग्न नदिन हामीले के गर्यौँ ? त्यसको जोखिममा रहेका मानिसलाई समयमै पहिचान गर्न के गर्यौँ ? खानपान, पानीको सेवन, जीवनशैली र अन्य सम्भावित जोखिमबारे कति जनचेतना दियौँ ? त्यस्तै क्यान्सर लागेपछि उपचारमा सहयोग गर्नु आवश्यक छ । तर क्यान्सर किन बढिरहेको छ भन्ने विषयमा अनुसन्धान गरेर त्यसको रोकथामका लागि कार्यक्रम ल्याउनु अझ महत्त्वपूर्ण हुन्छ ।
उपचारभन्दा रोकथामलाई प्राथमिकता दिनुपर्छ भन्न खोज्नुभएको हो ?
उपचार र रोकथाम दुवै आवश्यक छन् । तर रोकथामलाई बेवास्ता गरेर उपचारमा मात्रै केन्द्रित भयौँ भने त्यो दीर्घकालीन समाधान हुँदैन । आज हामी डायलाइसिस मेसिन, क्यान्सरका औषधि, एमआरआई, सिटी स्क्यानलगायत उपचारका पूर्वाधारमा लगानी गर्छौ । तर बिरामी नै कम गर्ने उपायमा कति लगानी गरिरहेका छौँ ? यही प्रश्न हो । दीर्घरोग नलाग्ने वातावरण बनाउन सके उपचारमा लाग्ने राज्यको ठूलो खर्च पनि घटाउन सकिन्छ ।
खाद्य सुरक्षासँग के सम्बन्ध छ ?
खाद्य सुरक्षा भनेको खाना उपलब्ध हुनु मात्र होइन । हामीले खाने खाना सुरक्षित छ कि छैन, त्यसमा के–कस्ता पदार्थ प्रयोग भएका छन्, उत्पादनदेखि उपभोगसम्मको प्रक्रिया कस्तो छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ ।
तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी, पशुपन्छी उत्पादनमा प्रयोग हुने औषधि वा एन्टिबायोटिक, दूध तथा अन्य खाद्य पदार्थमा प्रयोग हुने रसायनलगायतका विषयमा हामीले वैज्ञानिक रूपमा अध्ययन गर्नुपर्छ ।
कुन पदार्थ कति मात्रामा प्रयोग भएको छ ? त्यो मानव स्वास्थ्यका लागि स्वीकार्य सीमाभित्र छ कि छैन ? शरीरमा त्यसको दीर्घकालीन प्रभाव के हुन्छ ? यी प्रश्नको उत्तर अनुसन्धानले दिनुपर्छ । अहिले सम्भावित जोखिमको कुरा उठाउनु र त्यसलाई प्रमाणित गर्नु फरक कुरा हो ।
नेपालमा अनुसन्धानको अवस्था कस्तो देख्नुहुन्छ ?
हामीसँग अनुसन्धानको आवश्यकता धेरै छ । उदाहरणका लागि उच्च रक्तचाप बढिरहेको छ भनेर हामी भन्छौँ । मधुमेह बढिरहेको छ भन्छौँ । मुटु रोग, क्यान्सर, मिर्गौला रोग बढिरहेको छ भन्छौँ ।
तर त्यसपछि प्रश्न आउँछ—किन बढिरहेको छ ? हामीसँग त्यसको कारण पत्ता लगाउने, विभिन्न खानपान तथा वातावरणीय पक्षसँग तुलना गर्ने र त्यसका आधारमा नीति बनाउने अनुसन्धान कति छ ? यही कुरा महत्वपूर्ण हो ।
हामीले ठोस तथ्यांक तयार गर्नुपर्छ । कति मानिसले उच्च रक्तचापको औषधि खाइरहेका छन् ? कति मानिस डायलाइसिस गरिरहेका छन् ? कति मानिस क्यान्सरबाट प्रभावित छन् ? मुटु रोगको अवस्था के छ ? यी तथ्यांकको प्रवृत्ति कस्तो छ ? तथ्यांक बढिरहेको छ भने किन बढिरहेको छ भनेर अनुसन्धान गर्नुपर्छ ।
अहिलेको स्वास्थ्य प्रणालीको पनि प्रभाव देख्नुहुन्छ ?
हामी प्रभाव देखेपछि त्यसको उपचार गर्न दौडिरहेका छौं। मिर्गौला फेल भयो—डायलाइसिस । क्यान्सर भयो—केमोथेरापी । मुटुको समस्या भयो अस्पतालमा उपचार । यी सबै आवश्यक छन् । तर रोग लाग्न नै नदिन के गर्ने भन्ने कुरा पनि उत्तिकै आवश्यक छ । मूल कारणसँग लडिएन भने प्रभावसँग लडेर मात्र दीर्घकालीन समाधान आउँदैन । आज दुई दिनका लागि समस्या समाधान गरेजस्तो देखिए पनि भोलि फेरि नयाँ बिरामी थपिँदै जान्छन् ।
मिर्गौला रोगको सन्दर्भमा खानपान र जनचेतनाको भूमिका कस्तो हुन्छ ?
मिर्गौलाको स्वास्थ्यका लागि पनि मानिसले आफ्नो खानपान र पानी सेवनलगायतका विषयमा सचेत हुनुपर्छ । विशेष जोखिममा रहेका समूहलाई लक्षित गरेर जनचेतना कार्यक्रम गर्न सकिन्छ ।
उदाहरणका लागि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने स्वास्थ्य तथा अभिमुखीकरण तालिममा खानपान, पर्याप्त पानी पिउने बानी, अत्यधिक नुनिलो तथा अस्वस्थ खाना र मिर्गौला तथा मुटुमा पर्न सक्ने जोखिमबारे जानकारी दिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालय मात्रै होइन, श्रम तथा रोजगार मन्त्रालयलगायत सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ ।
दीर्घरोग रोकथाममा विभिन्न मन्त्रालय र निकायबीच कस्तो समन्वय हुनुपर्ला ?
अत्यन्तै आवश्यक छ । दीर्घरोग स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन । श्रम मन्त्रालयसँग जोडिएका श्रमिकका स्वास्थ्यका विषय छन् । कृषि क्षेत्रसँग खाद्य उत्पादन र विषादीको विषय जोडिन्छ । खाद्य तथा गुणस्तर नियमनसँग सम्बन्धित निकायको भूमिका हुन्छ । शिक्षा क्षेत्रबाट बालबालिकाको खानपान र पोषण शिक्षा दिन सकिन्छ । त्यसैले बहु–क्षेत्रीय योजना आवश्यक छ । सबै सरोकारवाला मन्त्रालय तथा निकाय बसेर ‘दिर्घरोग किन बढिरहेको छ र यसलाई कसरी घटाउने ?’ भनेर ठोस कार्ययोजना बनाउनुपर्छ ।
विदेश जाने श्रमिकलाई लक्षित गरेर कस्ता कार्यक्रम ल्याउन जरुरी छ ?
वैदेशिक रोजगारीमा जाने मानिसलाई विदेशमा काम गर्दा स्वास्थ्य कसरी जोगाउने भन्ने विषयमा व्यावहारिक शिक्षा दिन सकिन्छ । पर्याप्त पानी पिउने, खानपानमा ध्यान दिने, अत्यधिक नुनिलो वा असन्तुलित खाना निरन्तर नखाने, आफ्नो स्वास्थ्य जोखिमबारे सचेत हुनेजस्ता कुरा सिकाउन सकिन्छ । यसलाई स्वास्थ्य मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अभिमुखीकरण कार्यक्रममै समावेश गर्न सकिन्छ । यसले विदेश गएपछि स्वास्थ्यमा समस्या आउनुअघि नै जोखिम कम गर्न सहयोग गर्न सक्छ ।
जनचेतनामूलक अभियानका लागि नेपालले अन्य देशबाट केही सिक्न सक्छ ?
विभिन्न देशले आफ्नो जनसंख्यामा देखिएका स्वास्थ्य समस्याका आधारमा लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका उदाहरण छन् । उदाहरणका रूपमा उच्च रक्तचाप बढेपछि खानपानसँग सम्बन्धित कारणको अनुसन्धान गर्ने र स्वस्थ खानपानलाई प्रोत्साहन गर्ने कार्यक्रम चलाउन सकिन्छ । हरियो सागसब्जी तथा फलफूलको सेवन बढाउने, नुनको सेवन घटाउनेजस्ता व्यवहार परिवर्तनका कार्यक्रमलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गर्न सकिन्छ । हामीले पनि आफ्नै जनसंख्या, आफ्नै खानपान र आफ्नै रोगको तथ्यांकका आधारमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
पोषणविद् र डाइटिसियनको भूमिका कस्तो हुनुपर्छ ?
अस्पतालमा उपचारका साथै पोषणविद् र डाइटिसियनको भूमिका पनि बढाउनुपर्ने हुन्छ । किनकी दीर्घरोगको व्यवस्थापनमा खानपान महत्त्वपूर्ण विषय हो । त्यसैले अस्पतालमा उपचारसँगै बिरामीलाई आवश्यक पोषणसम्बन्धी परामर्श पनि उपलब्ध गराउनुपर्छ ।
डाक्टरले रोगको उपचार गर्नुहुन्छ भने पोषणविद् वा डाइटिसियनले बिरामीको अवस्थाअनुसार खानपान व्यवस्थापनमा सहयोग गर्न सक्छन् । यसले उपचारलाई थप प्रभावकारी बनाउन मद्दत गर्छ । तर पोषण परामर्शलाई अस्पतालको नियमित स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ ।
दीर्घरोग नियन्त्रण गर्न तत्काल के गर्नुपर्छ ?
पहिलो, दीर्घरोगसम्बन्धी विश्वसनीय र नियमित तथ्यांक तयार गर्नुपर्छ । दोस्रो, रोग बढ्नुका सम्भावित कारणबारे अनुसन्धान गर्नुपर्छ । हाम्रो खानपान कस्तो छ ? नुनको सेवन कति छ ? तेल र फ्याटको प्रयोग कस्तो छ ? ट्रान्सफ्याटको अवस्था के छ ? खाद्य पदार्थमा विषादी तथा अन्य रासायनिक पदार्थको प्रयोग कति छ ? यस्ता विषयमा अनुसन्धान आवश्यक छ ।
तेस्रो, अनुसन्धानबाट प्रमाणित भएका तथ्यका आधारमा नीति बनाउनुपर्छ । चौथो, जनचेतनामूलक कार्यक्रमलाई अस्पतालकेन्द्रित नभई समुदायकेन्द्रित बनाउनुपर्छ । र पाँचौँ, स्वास्थ्य मन्त्रालय मात्रै होइन, कृषि, श्रम, शिक्षा, खाद्य सुरक्षा तथा अन्य सम्बन्धित निकायलाई समेटेर बहु–क्षेत्रीय कार्ययोजना बनाउनुपर्छ ।
प्रतिक्रिया 4