Comments Add Comment

देउवालाई पर्खिँदा संवैधानिक परिषद बैठक लम्बियो

२७ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पर्खिँदा ५ पटक स्थगित भइसकेको संवैधानिक परिषद बैठक आज छैटौं पटक एक घण्टा ढिलो शुरु भएको छ । बिहान ९ बजे बोलाइएको बैठक देउवालाई कुर्दा एक घण्टा ढिला भएको हो ।

बुधबार बिहान ९ बजेको बैठकमा ढिला खबर भएको भन्दै देउवा नगएपछि अन्य सदस्यबीच छलफल भएर विहीबारका लागि सारिएको थियो । देउवा आज पनि सहभागी नभए प्रधानन्यायाधीशको नाम बहुमतका आधारमा सिफारिस गरिने परिषद स्रोतले जनाएको थियो ।

विगतमा सुशीला कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा पनि सभामुख ओनसरी घर्ती उपस्थित थिइनन् । तर, संवैधानिक परिषदले निर्णय गरेको थियो ।

यो साता पटक–पटक बोलाइएका बैठकमा देउवा उपस्थित नभएपछि बहुमतका आधारमा प्रधानन्यायाधीशको सिफारिस गर्न सकिने सुझाव प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई निकटस्थ कानूनविदहरुले दिएका थिए ।

आगामी पुस १७ गते प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउँँदैछन् । आज पनि संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीश सिफारिस नगरेमा संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा पुस १७ सम्म पुग्ने र त्यसपछि दीपकराज जोशीलाई पुनः कामु प्रधानन्यायाधीश हुने बाटो खुल्ने छ ।

यसअघि नै संसदीय सुनुवाइबाट जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएका थिए । अब प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस हुने सम्भावना छ ।

प्रधानमन्त्री ओली र विपक्षी नेता देउवाबीच अनौपचारिक छलफलपछि औपचारिक बैठकले बिभिन्न आयोगहरुमा नियुक्तिको पनि छलफल गर्न लागेको बताइएको छ ।

विपक्षी दलका नेता देउवाले विभिन्न संवैधानिक आयोग तथा अख्तियारलगायतका निकायमा प्याकेजमै भागबण्डा हुनुपर्ने माग राखेको र भागबण्डा हुन नसकेका कारण संवैधानिक परिषद पटक–पटक स्थगित भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment