Comments Add Comment

२४औं महानगर दिवसः प्रथम मेयरलाई सम्मान गरिने

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्सी शनिबार २४औं महानगर दिवस मनाउने भएको छ ।  विस २०५२ सालमा काठमाडौंलाई महानगर घोषणा गरिएको  सम्झनामा हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउने गरिएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेपछि पहिलो पटक महानगर दिवस खुल्ला रुपमा मनाउने तयारी भएको महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए ।

दिवसबारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले यसपटक दिवससँगै महोत्सव पनि गर्ने निर्णय भएको बताए ।

काठमाडौंको बसन्तपुरमा आउँदो शनिबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले दिवस कार्यक्रमको उद्घाटन गर्ने कार्यतालिका छ ।  दिवसका अवसरमा यस पटक प्रथम मेयर जनकमान श्रेष्ठलाई सम्मान गरिने शाक्यले बताए ।

यस्तै परम्परागत बाजा गुरुको संरक्षणमा योगदान पुर्‍याउने गुरुहरुलाई २५ हजारका दरले सम्मान गर्ने तयारी छ ।महानगरपालिकाले यसवर्षदेखि सबभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गर्ने जनाएको छ ।

यस्तै यसवर्षदेखि १० जना पत्रकारलाई ५० हजार राशीसहितको शुशासन पत्रकारिता पुरस्कार वितरण गर्ने शाक्यले जानकारी दिए । काठमाडौंका सामुदायिक र संस्थागत विद्यालय मध्येबाट उत्कृष्ठ तीन वटालाई पनि सम्मान गरिने शाक्यले बताए ।

२९ गते बसन्तपुरमा मुल कार्यक्रम आयोजना भएपछि नागरिकलाई कार्यक्रममा सहभागी गराउन ३ दिने काठमाडौं (खुला संग्रहालय) महोत्सव हुनेछ ।

महानगरका भित्री सहरी क्षेत्र वडा नं. १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ लाई समावेश गरेर मंसिर २८ गतेदेखि ३ दिनसम्म बसन्तपुरलाई केन्द्रमा राखेर सञ्चालन हुने जनाइएको छ ।

सांस्कृतिक तथा सम्पदा संरक्षण र प्रवर्धन तथा धरोहरहरुको प्रचारप्रसार गर्ने लक्ष्य राखेर महोत्सवको आयोजना गर्न लागिएको शाक्य बताउँछन् ।

काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर, ओम बहाल, लगन, ब्रम्हटोल, न्हय्मून्हय्त्वाः, ओन्दे, हृयूमतः, तुकंवहाः, जैशी देवल, कोहिटी, भीमसेनस्थानमा महोत्सव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment