Comments Add Comment

ए डिभिजन लिग : मनाङको आठौं जित, आर्मी पराजित

२८ मंसिर, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार आठौं जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा विभागीय टिम आर्मीलाई १–० गोलले पराजित गर्दै मनाङले उपाधि यात्रा सहज बनाएको हो । बलियो प्रतिद्वन्द्वीको रुपमा हेरिएको आर्मीलाई पराजित गरेसँगै शीर्ष स्थानमा रहेको मनाङको अंक दूरी पनि बढेको छ ।

मनाङको जितमा विशाल राई नायक सावित भए । उनकै उत्कृष्ट गोलमा मनाङले कठिन जित निकालेको हो । खेलको ३१ औं मिनेटमा नै विशाल राईले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । निकै आक्रामक खेलेको आर्मीलाई पहिलो हाफसम्म मनाङले १–० गोलले पछि पारेको थियो ।

दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै मनाङले खेल जित्न सफल भयो । यता, आर्मीले एकपछि अर्को गोल गर्ने अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेन । आर्मीको फिनिसिङ लाइनमा पुरानै कमजोरी देखिदा गोल हुन सकेन ।

जितसँगै मनाङले लगातार आठौं खेलमा पनि जित हात पार्दै २४ अंक बनाएको छ । यता, पराजित आर्मीको यो पहिलो हार हो । आर्मीले आठ खेलबाट पाँच खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै १७ अंक बनाएको छ ।

लिगको दोस्रो स्थानमा भने संकटा क्लब रहेको छ । संकटाको आठ खेलबाट २१ अंक रहेको छ । त्यस्तै, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको १८ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment