Comments Add Comment

श्रृंखलापछि मनिताको पालो, मिस यूनिभर्समा उनको सम्भावना कति ?

२८ मंसिर, काठमाडौं । चीनको सान्यामा आयोजित मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर श्रृंखला खतिवडा नेपाल फर्किसकेकी छिन् । उनले सो प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जितिन् भने टप १२ मा स्थान बनाइन् ।

अब लगत्तै अर्को ठूलो सौन्दर्य प्रतियोगितामा नेपालले भाग लिदैछ । थाइल्यान्डको बैंककमा आयोजना हुने ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछिन्, २३ वर्षीया मनिता देवकोटाले । अहिले प्रतियोगिताका प्रि–इभेन्टहरु भइरहेका छन् । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

मिस वल्र्डमा भाग लिँदा श्रृंखलाको जति चर्चा थियो, मनिताको छैन । यद्यपि, मिस यूनिभर्स पनि प्रतिष्ठित प्रतियोगिता हो । प्रतियोगिताका प्रि–इभेन्टहरुमा मनिताले कस्तो गर्दैछिन् त ?

मिस युनिभर्सले युट्यूबमा अपलोड गरेको ‘अराउन्ड द वल्र्ड विथ मिस युनिभर्स’ भिडियोमा मनितालाई निकै हाइलाइट गरिएको छ । यस भिडियोको सुरुवातमै प्रस्तुत हुने मनिताले पाटन दरवार स्क्वायर र काठमाडौंको एउटा नेवारी रेस्टुरेन्टको झलक देखाएकी छन् ।(हेर्नुस भिडियो)


मिस यूनिभर्स अन्तरगत अर्को महत्वपूर्ण इभेन्टका रुपमा लिइने ‘द नेसनल कस्ट्यूम’ पनि भइसकेको छ । यसमा प्रतियोगीहरुले आफ्नो देशको संस्कृति झल्किने मौलिक पोशाक लगाउनुपर्छ ।

यस इभेन्टमा मनिता ‘देवी अवलोकितेश्वर’ को अवतारमा प्रस्तुत भएकी थिइन्, जसमा उनका १२ हात देखिएका थिए । देवी अवलोकितेश्वर शक्ति, क्षमाशीलता, शान्ति र सौन्दर्यकी प्रतिमूर्ति मानिन्छिन्, जसले प्राचीन बुद्ध र भावी बुद्धको आगमनबीचको समयमा विश्वलाई निर्देशित गर्ने बताइन्छ ।

च्यारिटी अक्सनमा पहिलो

प्रतियोगिताका क्रममा केही दिनअगाडि आयोजित ‘च्यारिटी अक्सन’ मा मनिताले सर्वाधिक रकम उठाउन सफल भइन् । उनको सामग्री ३ लाख १० हजार भाट (९ हजार ५ सय डलर) मा लिलामी भएको थियो ।

च्यारिटी अक्सनमा मनिताले ‘बुद्धिस्ट स्याडो बक्स’ प्रस्तुत गरेकी थिइन् । आफ्नो अक्सन गिफ्टको बारेमा जानकारी दिँदै मनिताले भनेकी छन्, ‘यसमा लुम्बिनीको मुटु भगवान गौतम बुद्ध हुनुहुन्छ । यो स्याडो बक्सको रुपमा बनेको छ जसमा भगवान बुद्धको मुर्ति, बुद्धिष्ट बज्र, धर्म चक्र र स्तुपा रहेका छन् । यसको मुनि लुम्बिनीको पवित्र बालुवा रहेको छ ।’

आफ्नो गिफ्ट सर्वाधिक मूल्यमा बिक्री भएपछि प्रतिक्रिया दिँदै मनिताले आफूले यो मूल्यको अपेक्षा नगरेको बताएकी थिइन् ।

‘म निशब्द भएकी छु,’ उनले भनिन्, ‘यो सबै नेपालीहरुको तर्फबाट उपहार हो ।’ उनको गिफ्ट एक थाई बृद्धाले खरिद गरेकी थिइन् । यो रकम मिस यूनिभर्सले समाजसेवामा खर्च गर्नेछ ।

नजिकबाट मनिता

मिस नेपाल प्रतियोगितामा दोस्रो भएर मनिता मिस यूनिभर्सका लागि नेपालबाट छानिएकी हुन् । उनी सुन्दर हुनुको साथै जेहेन्दार पनि छिन् । अमेरिकाको इस्ट क्यारोलिना यूनिभर्सिटीबाट मनिताले पब्लिक हेल्थमा डिग्री हासिल गरेकी छन्, जहाँ उनी लगातार सात सेमेस्टरसम्म डिन लिस्ट (उत्कृष्ट विद्यार्थीको सुची) मा परेकी थिइन् ।

उनी महिला सशक्तिकरणको लागि क्रियाशील डेज फर गल्र्स इन्टरनेसनल नामक एनजीओको महिला स्वास्थ्य दूत हुन् । अमेरिकामा रहेर उनले सुर्खेतका चार जना बालिकाहरुलाई पढाउन आर्थिक सहयोग गरिरहेकी छन् । मनिता आफूलाई इमान्दार, साहसी र आशावादी र विचारशील युवतीका रुपमा परिभाषित गर्न रुचाउँछिन् ।

गोरखामा जन्मेर हुर्केकी मनिता अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने गर्छिन् । त्यहीँबाट आएर उनले मिस नेपालमा भाग लिएकी थिइन् । अमेरिकामा लामो समय बिताएकाले मनिता नेपालीभन्दा अंग्रेजी सजिलो गरी बोल्छिन् ।

मनिताको ड्रिम डेस्टिनेसन आइसल्यान्ड, स्कटल्यान्ड, न्यूजिल्यान्ड र साउथ कोरिया हुन् । उनी खासगरी महिला अधिकार, प्रजनन अधिकार, बालबालिकाको शिक्षा र महिनावारी स्वास्थ्यका क्षेत्रमा काम गर्न इच्छुक छिन् । भविष्यमा यूनिसेफमा काम गर्ने उनको लक्ष्य छ ।

के फरक छ मिस वर्ल्ड र मिस यूनिभर्समा ?

विश्वका चार ठूला अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हुन् मिस वर्ल्ड, मिस यूनिभर्स, मिस इन्टरनेसनल र मिस अर्थ । मिस वर्ल्डपछिको दोस्रो ठूलो प्रतियोगिताका रुपमा मिस यूनिभर्सलाई लिइन्छ । यद्यपि, कतिपयले मिस यूनिभर्सलाई बढी प्रतिष्ठित मान्छन् ।

यी दुवै प्रतियोगिता लगभग एकै समयमा फरक दुई व्यक्तिले सुरु गरेका हुन् । मिस वल्र्ड बेलायतका एरिक मोर्लेले र मिस यूनिभर्स अमेरिकाका डोनाल्ड ट्रम्प (वर्तमान अमेरिकी राष्ट्रपति) ले सुरु गरेका हुन् । ट्रम्पले अर्को कम्पनीलाई यसको स्वामित्व बेचेका छन् । दुवै प्रतियोगितामा विश्वभरका राम्री, अग्ली र बौद्धिक केटीहरुले भाग लिन्छन् । विवाहित महिलाले यी प्रतियोगितामा भाग लिन पाइँदैन ।

दुई प्रतियोगिताको प्रमुख भिन्नता के हो भने मिस वर्ल्डले अरुलाई प्रेरित गर्न सक्ने र बालबालिकालाई सहयोग गर्ने सेवाभाव भएका युवतीहरु खोज्छ । मिस यूनिभर्सले भने विछट्ट सुन्दरी, जिउडाल चट्ट मिलेकी सुपरमोडल जस्ती युवतीको खोजी गर्छ । मिस यूनिभर्सको च्यारिटी बढी एड्ससँग सम्वन्धित मुद्दाहरुमा केन्द्रित छ । मिस वर्ल्डको फ्रेन्चाइज किन्नभन्दा मिस यूनिभर्सको फ्रेन्चाइज किन्न निकै महंगो छ ।

मिस वल्र्डको उपाधि जित्नेले एक वर्षसम्म अनुवन्धमा बसेर विभिन्न मिस वर्ल्ड अर्गनाइजेसनका विभिन्न गतिविधिमा भाग लिनुपर्छ । सुरुमा यो स्वीम वेयरलाई प्रवर्द्धन गर्न विकिनी कन्टेस्टका रुपमा सुरु गरिएको थियो । यसलाई मिडियाले मिस वर्ल्डको नाम दिएका हुन् ।

यी दुवै प्रतियोगितामा नगद पुरस्कारको औपचारिक खुलासा गरिदैन । यद्यपि, गत वर्ष मिस वर्ल्ड भएकी भारतकी मानुषी चिल्लरले १० करोड भारु पुरस्कार पाएको चर्चा थियो । कतिपयले भने उनले मासिक रुपमा पारिश्रमिक पाउनेसमेत दावी गर्छन् ।

यस्तै मिस यूनिभर्समा विजेतालाई २ लाख ५० हजार डलर दिइने बताइन्छ । साथै उनले न्यूयोर्कको अपार्टमेन्टमा एक बर्ष बस्न पाउँछिन् भने कम्पनीसँग एक वर्षको सम्झौता हुन्छ ।

दुवै प्रतियोगिताका विजेता र रनरअपहरुले लुगा र सौन्दर्य प्रशाधन प्रशस्त पाउँछन् जसलाई विभिन्न कम्पनीले प्रायोजन गरेका हुन्छन् ।

मिस वल्र्ड सुरु भएको एक वर्षपछि मिस यूनिभर्स सुरु भएको हो । यो प्रतियोगिताको उपाधि सबैभन्दा बढी अमेरिकाको पोल्टामा गएको छ । हालसम्म भएका ६६ संस्करणमध्ये अमेरिकी सुन्दरीले आठ पटक उपाधि जितेका छन् ।

नेपालले भने मिस यूनिभर्समा दोस्रोपटक मात्र सहभागिता जनाएको हो । हिडन ट्रेजरले अघिल्लो वर्षदेखि यसको फ्रेन्चाइज हासिल गरेको थियो । अघिल्लो वर्ष बिना प्रतिस्पर्धा नग्मा श्रेष्ठलाई मिस यूनिभर्स नेपालको टाइटल दिएर मिस यूनिभर्समा भाग लिन पठाइएको थियो । उनी रित्तो हात फर्केकी थिइन् ।

यो वर्षको मिस यूनिभर्स बैंककको भुआङ थोङ थानीमा हुँदैछ, जुन स्थानीय समयअनुसार बेलुकी ७ बजे सुरु हुनेछ । फाइनल इभेन्टलाई प्रख्यात कमेडियन स्टिभ हार्भे र सुपरमोडल एस्ले ग्राहमले होस्ट गर्नेछन् भने ।

यसपालीको मिस यूनिभर्स पनि चीनमै आयोजना गर्ने तयारी थियो । तर चिनिया आयोजकले चीन र अमेरिकाबीचको ठूलो समय अन्तरालका कारण प्रत्यक्ष प्रशारण गर्न नमानेपछि थाइल्यान्ड सारिएको हो ।

महादेशीय प्रतिस्पर्धा

यसपालीको मिस यूनिभर्समा ९४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् जुन अहिलेसम्मकै सर्वाधिक हो । उनीहरुमध्येबाट अन्तरवार्ता र प्रि–इभेन्टहरुमार्फत फाइनल राउन्डभन्दा अगावै टप २० को छनोट गरिन्छ । सन् २०१७ देखि यस प्रतियोगितालाई पनि महादेशीय फर्म्याटमा लगिएको छ । जुन यसपाली पनि कायम रहनेछ ।

टप २० मा पाँच जना युरोपबाट पाँच अमेरिकाबाट, पाँच अफ्रिका–एसिया अफ्रिकाबाट हुनेछन् । एसिया र अफ्रिकालाई टप २० मा संयुक्त रुपमा पाँच वटा कोटा दिइएकाले मनिताले कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । पाँच जना भने वाइल्ड कार्डबाट छानिनेछन्, जो कुनै पनि महादेशका हुन सक्छन् ।

सेमिफाइनलिस्टहरुलाई निर्णायक र दर्शकहरुका अगाडि ओपनिङ स्टेटमेन्ट दिन लगाइन्छ, जुन १५ सेकेन्डको मात्रै हुनुपर्छ । त्यसपछि निर्णायकहरुले टप १० को छनोट गर्छन् र १० जना फालिन्छन् ।

यसपाली सबै सेमिफाइनलिस्टहरुले स्वीमसुट कम्पिटिसनमा भाग लिने छैनन् । टप १० मा पुगेकाहरुले स्वीमसुट र इभिनिङ गाउन कम्पिटिसनमा भाग लिनेछन् । त्यसबाट निर्णायकहरुले टप ५ को छनोट गर्छन् ।

टप ५ मा पुगेकाहरुले निर्णायकहरुबाट प्रश्नको सामना गर्नुपर्छ र उत्कृष्ट उत्तर दिनेहरु टप ३ मा छानिन्छन् । उनीहरु मध्ये निर्णायकले एक जनालाई मिस यूनिभर्स २०१८ घोषणा गर्छन् र बाँकी दुई जना फस्र्ट रनर अप र सेकेन्ड रनरअपका रुपमा रहन्छन् ।

मनिताको सम्भावना कति ?

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिस वल्र्डभन्दा मिस यूनिभर्स ‘टफ’ हुने बताउँछिन् । उनको भनाईअनुसार पनि यसमा बौद्धिकताभन्दा रुप र जिउडाललाई बढी महत्व दिइन्छ ।

यसपालीका अन्य प्रतियोगीहरुसँग तुलना गर्दा मनिता सौन्दर्यमा ठीकठाक देखिन्छिन् भने जिउडाल मिलेको छ । उनी पाँच फिट ८ इन्च अग्ली छिन्, जसलाई अन्य सुन्दरीहरुका बीचमा औसत उचाई मान्न सकिन्छ ।

मनिताको बारेमा माल्भिका भन्छिन्, ‘उनी मिस यूनिभर्सका लागि उपयुक्त उम्मेदवार हुन् । उनलाई अन्य देशहरुको बारेमा राम्रो जानकारी छ । चाँडै सबैसँग घुलमिल हुन्छिन् र मनमा लागेको कुरा प्रष्ट र निर्भिक भएर बोल्न सक्छिन् ।’

मिस वर्ल्डमा श्रृंखलाले पब्लिक भोटिङबाट ठूलो सपोर्ट पाएकी थिइन् । तर, मनिताले त्यो पाउने छैनन् । अघिल्ला वर्षहरुमा पब्लिक भोटिङको प्रावधान भए पनि यो वर्ष हटाइएको छ । यसबाट मनितालाई घाटा लाग्ने छ किनकी भोटिङमा नेपालीलाई हम्मेसी अरुले भ्याउँदैनन् ।

छिमेकी मुलुक भारतबाट दुई जना सुन्दरी मिस युनिभर्स भइसकेका छन् । सन् १९९४ मा सुस्मिता सेन र सन् २००० मा लारा दत्त मिस यूनिभर्स भएका थिए । यस वर्ष भारतबाट नेहल चुडासमाले भाग लिएकी छिन् । अघिल्लो मिस यूनिभर्सको उपाधि दक्षिण अफ्रिकाकी डेमी लेइघ नेल पिटर्सले जितेकी थिइन् ।

यो पनि पढ्नुहोस श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् यो पनि पढ्नुहोस अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment