Comments Add Comment

हेटाैंडाको रमणीय पार्क ! अरुले पनि सिक्ने कि ?

३ पुस, हेटौंडा । भीड, कोलाहल र व्यस्तताबीच अस्तव्यत छ, शहरी जीवन । तर, सहरभित्र नै एउटा ठूलो र सुन्दर पार्क भइदिए !

शहरमा पार्क कति जरुरी छन् भन्ने कुरा त काठमाडौं बस्नेलाई धेरै थाहा होला । भएका सार्वजनिक पार्कहरु पनि खुम्चिँदै जाँदा राजधानीमा कोलाहल र उकुसमुकुस छ । यहाँ भएका स-साना पार्कहरु पनि भद्रगोल अवस्थामा छन् ।

यता, प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा सार्वजनिक पार्कको अभाव छैन । यहाँ एकै ठाउँमा ३० बिगहा क्षेत्रफलमा व्यवस्थित सार्वजनिक पार्क छ, जसलाई ‘शहीद स्मारक’को नामबाट चिनिन्छ ।

शान्त वातावरणमा रहेको सहीद स्मारक प्रकृतिका बीचमा समय विचरण गर्ने र मनोरञ्जन गर्नेका लागि गजबको स्थान बनेको छ । यो पार्क हेटौंडाबजारबाट १५ मिनेटको सवारी यत्रामै पुग्न सकिन्छ ।

सहीद स्मारक धेरै पयर्कटक भित्र्याउने पार्कमध्येमा पर्छ । यहाँ वर्षमा ४ लाख पर्यटकले टिकट काटेर प्रवेश गर्छन् । सबै किसिमका पाहुना गणना गर्दा ५ लाख नाघ्ने स्कार व्यवस्थापन कार्यालयका प्रमुख रामचन्द्र न्यौपाने बताउँछन् ।

यो पार्क हेटौंडेलीहरुका लागि कोलाहल र तनाव बिसाउने चौतारो जस्तै बनेको छ । हेटौंडामा घुम्न निस्केका जो कोही पनि यहाँ नपुग्ने कुरै भएन ।

बजारबाट उत्तरपश्चिम क्षेत्रमा अवस्थित यो पार्क प्रेम जोडीहरुका लागि मात्रै हैन, परिवारसँग रमाउनेका लागि पनि उत्तम विकल्प बनेको छ । वनभोज गर्न पुग्नेहरुको संख्या पनि ठूलो छ । चितवन, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीदेखि वनभोजका लागि यहाँ मानिसहरु आउँछन् ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ साल माघ १७ मा यो पार्कको उद्घाटन गरेका हुन् । त्यतिबेला एउटा २५ टनको ढुंगामा नेपालमा शहीद धर्मभक्त माथेमा, गंगगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्दको मुहारको प्रतिमा कुँदिएको थियो । ढुंगो स्थानीय सरस्वती खोलाबाट ल्याएर कुँदिएको थियो । र, यहीँबाट सुरु भयो, सहीद स्मारकलाई फैलाउने काम ।

एमाले नेता मोदनाथ प्रश्रतिको परिकल्पनामा एउटा ढुंगा राखेर सुरु भएको पार्क अहिले फैँलिँदा जाादा २० हेक्टरमा विस्तार भइसकेको छ । यसको नेतृत्व तत्कालीन मेयर डोरमणि पौडेलले गरेका थिए । अहिले प्रदेश ३ का मुख्यमन्त्री भइसक्दा पनि उनले सहीद स्मारक विकास समितिको नेतृत्व छाडेका छैनन् ।

स्थानीयका अनुसार यो पार्क रहेको डाँडामा सिरुसमेत उमँ्रदैनथ्यो । रातो माटो पाइने यो डाँडामा विहान बेलुका स्याल कराएर हैरान पार्थे । तर, त्यही खुइले डाँडामा अहिले नेपालकै शहरमा रहेको सबैभन्दा ठूलो व्यवस्थित पार्क बनेको छ ।
यहाँ मिनी चिडियाखानाका पनि छ, जहाँ विभिन्न वन्यजन्तुलाई पनि राखिएको छ । मदन भण्डारीको पूर्ण कदको प्रतिमा राखिएको छ । प्रतीमाको मुनि ढुंगामा नै दासढुंगाको नक्सा कुँदेर गाडी खसेको स्थानलाई देखाइएको छ ।

अहिले पार्कभित्र विशेष सजावटसहित बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको प्रतिमा पनि राख्ने अन्तिम तयारी हुँदैछ । यहाँ अग्लो गणतन्त्र स्तम्भ पनि सजाइएको छ, जसमा धेरैको ध्यान तानिन्छ ।

यहाँ रुपचन्द्र बिष्टको स्मृतिमा थाहा स्तम्भ पनि खडा छ । यस्तै सहीदबारे अध्ययन अनुसन्धान गर्ने केन्द्र पनि स्थापना गरिएको छ । जहाँ बसेर सहीदबारे अध्ययन गर्न सकिन्छ । अब यहाँ आवासायी तालिम केन्द्र पनि बनाउने योजना अघि सारिएको छ । जहाँ केही दिन बसेर सेमिनार र गोष्ठीहरु पनि गर्न सकिनेछ ।

यहाँ वनभोज स्थल पनि छ । फूल र दुबोले सजिएका पार्कहरु छन् । आकर्षक वाटर फाउन्टेन, भ्युटावर, झोलुंगे पुल, चिल्ड्रेन पार्क, स्वीमिङ पुल सहित विभिन्न मनोरञ्जनात्मक सुविधाले सबै उमेरकालाई यहाँ तान्छ ।

स्मारकभन्दा केही पर अर्को महत्वपूर्ण धार्मिक स्थल पनि छ, पुण्य क्षेत्र । बुढानीलकण्ठको प्रतीमा रहेको यो क्षेत्रलाई पौराणिक महत्वको मानिन्छ ।

हेटौंडामा पुष्पलाल पार्क पनि अर्को पर्यटकीय गन्तब्य हो । हेटौंडाको ‘रानीपोखरी’ मानिने यो पार्क हेटौंडामा महानगरपालिकाले स्थापना गरेको हो ।

अहिले हेटौंडाको सानोपोखरा क्षेत्रमा पनि आन्तरिक पर्यटक बढेका छन् । मनकामना मन्दिर, बनसखण्डी मन्दिर, भुटानदेवी मन्दिर, हुप्रचौर लगायतका स्थानमा प्रशस्तै खुला स्थानहरु छन् ।

तर, कतिपय क्षेत्रमा भने व्यवस्थानलाई खासै ध्यान दिइएको छैन । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हेटौंडाका सबै सम्भाब्य खुला क्षेत्रलाई व्यवस्थित गरेर पार्कमय शहर बनाउने आफ्नो योजना रहेको बताउँछन् ।

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment