Comments Add Comment

देउवा सहमतिबाट पछि हट्न खोजेको पौडेल–सिटौला समूहको आशंका

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी समावेशी हुनुपर्ने आवाज उठाएका छन् ।

शीर्ष तहमा सहमति जुटेपछि विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बुधबार कार्यसमिति बैठक बोलाइएको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरुले समावेशी हुनुपर्ने माग उठाएका छन् ।

लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले उपसभापति, महामन्त्री र सहमहमन्त्री २–२ जना राख्ने र सबै निर्वाचित गर्ने सहमति जुटाएका थिए । तर, देउवा पक्षीय नेताहरुले समावेशी हुनुपर्ने माग अघि सारेपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरु भने सशंकित भएका छन् ।

देउवा पक्षले मनोनित गर्ने संख्या बढाउन वा पुरानै विधानमा फर्कने प्रयास गरेको हुनसक्ने उनीहरुका आशंका छ ।

‘सभापति निकट रहेका साथीहरुले पदाधिकारी समावेशी हुनुपर्छ भन्नुभएको छ । पदाधिकारी बढ्दा समावेशी हुनुपर्छ भन्ने स्वभाविक हो’ एक नेताले भने, ‘तर, सभापति आफैंले सहमति गरिसकेको अवस्थामा उहाँहरु जसरी प्रस्तुत हुनुभएको छ, यो सहमतिबाट पछि हट्ने प्रयास हुनसक्छ ।’

देउवा निकट वीरबहादुर बलायरले ‘शीर्ष तहमा सहमति गरेर मात्र हुन्छ, हामी देखाइदिन्छौं’ भन्नु अर्थपूर्ण भएको उनीहरु बताए ।

बलायरसँगै मानबहादुर विश्वकर्मा, सीता गुरुङ, फरमुल्लाह मन्सुरलगायतले पदाधिकारी समावेशी हुनुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य गगन थापाले समावेशीसँगै दुई बुँदा थप गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरु वडा तहबाटै चुनिएर आउनुपर्ने र आरक्षण एक पटक मात्र प्रयोग गर्न पाउनुपर्ने उनको माग छ । केन्द्रीय कार्यसमितिको बैठक साँझ फेरि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment