Comments Add Comment

तिलोत्तमाका सामुदायिक विद्यालय एकै रंगले रंगिए

४ पुस, बुटवल । सामुदायिक बिद्यालयका भौतिक संरचना, शैक्षिक गुणस्तर, शौचालय कस्तो हुन्छ ? दिमागमा एउटा चित्र आउन सक्छ नराम्रो, अस्तव्यस्त, कमजोर, फोहोर वा दुर्गन्धित ।

तर रुपन्देहीको एक नगरपालिकामा पुग्नुभयो भने तपाईको अनुमान गलत हुनेछ । तिलोत्तमा नगरपालिकाका ४४ सामुदायिक विद्यालय एउटै रंगमा चिटिक्क रंगिएका छन्, सफा, आकर्षक देखिएका छन् ।

नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थी आकर्षित गर्न भौतिक संरचनाबाट सुरुवात गरेको हो । अहिले नगरपालिकाले तोकिएको कलर कोर्ड ‘पहेंलो र रातो’ सबै विद्यालयले लगाइसकेका छन् ।

‘यो कामबाट अभिभावक विद्यार्थी, शिक्षक उत्साहित भएका छन्, हामीले चालु आर्थिक वषैमा यसका लागि १ करोड ३० लाख रुपैयाँ बजेट निकासा गरेर बिद्यालयकै खातामा पैसा पठाएका छौं’ नगप्रमुख वासुदेव घिमिरेले अनलाइनखबरसंग भने ।

‘सामुदायिक विद्यालयहरु धरापमा परे, आकर्षण कम भो, भौतिक पूर्वाधार लाजमर्दाे भएपछि यो कदम चालेको हौं ,यस्ले निकै फरक र राम्रो बनाएको छ’ घिमिरेले भने ‘कलर कोर्ड, शौचालय, सरसफाइ, फर्निचरमा पनि अब २ करोड खर्च गर्दैछौं’ उनले भने ।

प्रमुख घिमिरेले आफूले प्राप्त गर्ने पारिश्रमिकसमेत सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिमा खर्चिएका छन् ।

संघीय सरकारले तोकेको कलर कोड प्रयोग गर्ने तिलोत्तमा मुलुककै पहिलो स्थानीय तह बनेको छ ।

नगरकार्यपालिकाको ४४ औं बैठकले रंगरोगनका लागि सो रकम खातामा पठाएको हो । सबै बिद्यालयले रंग रोगन सकेर आफ्ना स्कुलहरु चिटिक्क पारेका छन् ।

भवन तथा आवश्यकता र औचित्यका आधारमा सामुदायिक विद्याययले न्यूनतम ७५ हजारदेखि बढीमा ६ लाख ८३ हजार रुपैयाँसम्म रंगरोगनका लागि बजेट प्राप्त गरेका छन् ।  विद्यालयको भित्तामा गाढा पहेलो र तल किनारमा गाढा रातो रंग प्रयोग गरिएको छ ।

बजेटको २२ प्रतिशत शिक्षामा लगानी

आर्थिक वर्ष २०७५/७६ को विनियोजित बजेटअनुसार विद्यालयको स्थलगत अवलोकन र नापजाँचको आधारमा तयार पारिएको लागत इस्टिमेटअनुसार नगरपालिकाले विद्यालयलाई रंगरोगनका लागि बजेट उपलब्ध गराएको शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले बताए ।

तिलोत्तमाको कुल बजेट १ अर्ब ३५ करोड मध्ये पूँजीगत र संचालन गर्दा २२ प्रतिशत शिक्षामा लगानी भएको छ ।

विद्यार्थीलाई निशुल्क खाजा

सामुदायिक विद्यालयमा आकर्षण बढाउन नगरपालिकाले सामुदायिक विद्यालयको पूर्वप्राथमिक तह (मन्टेश्वरी) मा अध्ययनरत सबै र ५ कक्षासम्मका अतिविपन्न विद्यार्थीलाई खाजा उपलब्ध गराउदै आएको छ । दिवा खाजा कार्यक्रममा १ करोड छुट्टाएर कार्यान्वयन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment