Comments Add Comment

भारतीय परिवारैसँग नेपाली नागरिकता, २ वर्ष कैद फैसला

४ पुस, विराटनगर । भारतको एक परिवारका तीन जना सदस्यले नेपाली नागरिकता बनाएको भेटिएको छ । भारत अररिया जिल्लाको जोगवनी बस्ने एक परिवारका तीन सदस्यले नेपाली नागरिकता लिएको भेटिएको हो ।

भारतीय नागरिकता हुँदाहुँदै विराटनगर महानगरपालिका – १६ स्थायी ठेगाना देखाएर नेपाली नागरिकता लिएको भेटिएपछि जिल्ला अदालत मोरङले तीनै जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सीमावर्ती क्षेत्र जोगवनी नगर पञ्चायत वडा नम्बर १० का सन्तोषकुमार साह, उनका भाइ नरेश र नरेशकी पत्नी रिङ्कीदेवी साहलाई जनही २ बर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

सन्तोष र नरेश भारतीय नागरिक गजेन्द्र साहका छोरा हुन् भने रिङ्कीदेवी बुहारी हुन् । भारतीय नागरिक भए पनि उनीहरुले झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको ठहर अदालतले गरेको हो । कैद सजाय सुनाइएका मध्ये प्रहरीले सन्तोषलाई गत चैत २ गते पक्राउ गरिएको थियो । अन्य दुई भने फरार छन् ।

सन्तोषको साथबाट प्रहरीले भारतीय नागरिक रहेको प्रमाणित हुने परिचय पत्र र नेपाली नागरिकताको प्रमाणपत्र एवं मतदाता परिचय पत्र फेला परेको थियो । अनुसन्धानका क्रममा सन्तोषका भाइ र बुहारीले पनि नेपाली नागरिकता लिएको खुलेपछि गत चैत २६ गते जिल्ला सरकारी वकिल कार्यालय मोरङले मुद्दा दायर गरेको थियो । जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाले तीनै जनालाई कैद सजायको आदेश भएको जानकारी दिए ।

सन्तोष र नरेशले २०६४ साल जेठ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मको आधारमा ९१ र ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

नेपाली नागरिकता लिएका सन्तोषले सन् २००३ जनवरी २ तारेखमा भारत अररियाको फारवेसगन्ज इन्द्रनगर ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचय पत्र प्राप्त गरेका थिए ।

सन्तोषका भाइ नरेशले ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचय पत्र लिएका थिए । रिङ्कीदेवीको नाममा सन् २०१० जुन १५ तारिकमा जारी भएको टिएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र छ । नरेशकी पत्नी रिङ्कीदेवीसँग नेपाली मतदाता परिचय पत्र पनि छ ।

सन्तोषका कान्छा भाइ धिरेन्द्रको नाममा नेपाली मतदाता परिचय पत्र छ । आमा पार्वतीदेवीको नेपाली नागरिकता छ । पार्वतीदेवीले विराटनगर महानगरपालिकाबाट विधवा भत्ता लिने गरेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment