Comments Add Comment

नेकपामा ‘सी क्लासको राणा’ ! माधव समूहको निकास के ?

४ पुस, काठमाडौं । ‘राणाहरुले आफ्ना मान्छेलाई ए क्लासमा राख्थे भने मन नपरेका, आलोचना गर्नेहरुलाई सी, डी क्लासमा राख्थे । हाम्रो पार्टीमा त्यस्तै भएको छ । क्षमता, योग्यता, बरिष्ठता सबैलाई हेरेर निश्पक्ष ढंगले जिम्मेवारी दिइनुपर्छ ।’

यो भनाइ स्थायी कमिटीको बुधबारको बैठकमा नेकपा नेता रघुजी पन्तले व्यक्त गरेका हुन् । पन्त मात्रै होइन, सत्तारुढ नेकपाको जारी स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरु पार्टी र सरकारको कामप्रति रुष्ट देखिएका छन् ।

बुधबार पन्तसहित ८ नेताले बोलेका थिए, जसमध्ये सुरेन्द्र पाण्डे, भीम आचार्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाए । प्रश्न उठाउने तीनैजना माधव नेपाल पक्षका नेता हुन् ।

बैठकमा सहभागी नेताहरुका अनुसार नेकपाको जारी स्थायी कमिटी बैठकमा पूर्वएमालेका नेताहरु अध्यक्ष ओलीसँग बढी रुष्ट देखिएका छन् ।

तत्कालीन एमालेमा ओली र माधवकुमार नेपाल गुट थियो, जुन अहिले पनि कायमै छ । पार्टी एकताका नाममा ओली समूहले फरक विचार राख्ने नेता कार्यकर्तालाई छानीछानी सिध्याउने काम गरेको आरोप नेपाल पक्षीय नेताहरुको छ ।

जारी स्थायी कमिटीमा ओलीको आलोचना गर्नेमा अधिकांश नेपाल निकटवर्तीहरु नै छन् । पहिलो दिन घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, वेदराम भुसाल तथा दोस्रो दिन योगेश भट्टराई र भीम रावल आक्रामक थिए ।

बैठकमा भीम आचार्यले पार्टीभित्र न्याय मर्दै गएको टिप्पणी गरेका थिए भने सुरेन्द्र पाण्डेले विगतमा केही नेताले दलालहरुलाई प्रयोग गर्ने गरिएकोमा अहिले दलालहरुले नेताहरुलाई प्रयोग गरेर आफू अनुकुल काम गराइरहेको बताए ।

मंगलबारको बैठकमा घनश्याम भुसालले थुक, खकार, रगत र वीर्य परीक्षण गरेर आफ्नो र अर्को गुट छुट्याउने काम गरिको भन्दै यस्तो गुटको नेता (ओली)लाई म मान्दिनँ भनेका थिए ।

माधव नेपालको अग्निपरीक्षा

नेकपाको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षीय नेताहरुले आफ्नै नेतालाई पनि छाडेका छैनन् । खासगरी विवादास्पद एसिया प्यासिफिक समिटमा सहभागितालाई लिएर प्रधानमन्त्री ओलीसँगै नेता नेपालको चर्को आलोचना भएको छ ।

बैठकमा नेता नेपालले बोल्न बाँकी छ । पार्टी एकतापछि अध्यक्ष ओलीसँग अन्तर संघर्षभन्दा सहकार्यलाई बढी जोड दिएका छन् । अब जारी स्थायी कमिटीमा बैठकमा उनले पार्टी नेतृत्वको ‘पेलानको प्रतिवाद गर्छन् कि गर्दैनन्, हेर्न बाँकी छ ।

विशेष गरी पूर्वएमाले समूहमा रहेका संस्थापन इत्तरका नेताहरु केपी ओली पक्षले लामो समयदेखि पेल्दै आएको गुनासो गर्छन् । पार्टीभित्र विगतमा राणाहरुले गर्ने ‘सी क्लास’ को जस्तै व्यवहार भइरहेको उनीहरुको गुनासो छ ।

स्थायी कमिटीको बैठकमा बोल्दै योगेश भट्टराईले क्षमतावान नेता घनश्याम भुसाललाई लामो समयसम्म जिम्मेवारीविहीन राखिनु पूर्वाग्रह शिवाय अरु केही नभएको बताएका थिए ।

तीन दिनयता स्थायी कमिटीको बैठकमा २६ जनाले बोलिसकेका छन् । अब १९ जनाले बोल्न बाँकी छ । पहिलो दिन १० जना र बाँकी दुई दिन ८/८ जना नेताहरुले बैठकमा धारणा राखिसकेका छन् । बैठकमा बोल्ने बहुमत सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको चर्को आलोचना गरेका छन् ।

नेकपा बैठकको रुझान हेर्दा केपी ओलीको विपक्षमा स्वर चर्को बन्न थालेको देखिन्छ । तर, यो असन्तुष्टिको निकास कस्तो आउँछ भन्नेबारे अहिले नै नेताहरुले विश्लेषण गर्न सकेका छैनन् । माधव नेपाल समूहका एक नेताले अनलाइनखबरसँग भने- ‘स्थायी कमिटी बैठकमा जे भएको छ, राम्रै भइरहेको छ ।’

तर, माधव नेपाल पक्षले गरेको यस्तो दाबीले मात्रै नेपाल पक्षको माग पूरा हुँदैन । पेलानमा परेको गुनासो गर्दै आएको नेपाल पक्षको असन्तुष्टिले अब नेकपामा कसरी निकास र समाधान पाउला ? नेकपामा यो अन्योल कायमै छ ।

किनभने, जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डले खुलेर आफ्ना कुराहरु राख्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेको ओली पक्षका नेताहरु बताउँछन् । त्यसैले, बैठकमा असन्तुष्टिहरु आउँदैमा केपी ओली कमजोर नहुने संस्थापन पक्षको जिकिर छ ।

यो अवस्थामा माधव नेपाल पक्षमा देखिएको चुनौती के हो भने केवल असन्तुष्टि पोखेर ‘आङको छारो’ मात्रै खसाल्ने वा समस्याको ठोस सभान पनि खोज्ने ?

बैठकमा माधव नेपालले कुनै लिखित प्रस्ताप पेश गरेका छैनन् । बरु अर्का नेता वामदेव गौतमले फरक मत पेश गरेर फरक मतको नेता बन्ने प्रयास गरेको देखिन्छ ।

वामदेवमाथि कटाक्ष

नेकपाको स्थायी कमिटी बैठकमा फरक मत राखेर नेता वामदेव गौतमले पार्टीभित्र प्रतिपक्षीय नेता बन्ने प्रयास गरेका त छन् । तर, पार्टी अध्यक्ष ओलीको विरोध गर्ने नेताहरुले गौतमलाई सहजै स्वीकार गरेको देखिन्न । बरु कटाक्ष नै गरेका छन् ।

नेता रघुजी पन्तले हिजो सयौं नेता कार्यकर्तामाथि गुटको पेलाइमा पर्दा नबोलेका गौतम आफूले घुस्सा खाएपछि चर्को स्वर गर्न आएको टिप्पणी गरे । यसअघि केपी ओलीसँग मन नमिलेपछि वामदेवले फरक मत राखेको हो भने त्यो फरक मतको वस्तुगत आधार नै गलत हुने योगेश भट्टराईले बताएका थिए ।

गौतमको केही कुरा राम्रो भएपनि उनको प्रस्तावले पनि सामाधान नदिने नेताहरु बताउँछन् ।

‘सचिवालयलाई निरंकुश नबनाऔं’

स्थायी कमिटीको बैठकमा नेताहरुले सचिवालयमा अधिकार केन्द्रित गर्नु गलत भएको बताएका छन् । नेता रघुजी पन्तले राजनीतिक तथा नीतिगत निर्णय गर्ने अधिकार सचिवालयलाई दिन नसकिने बताए । स्थायी कमिटीले पास गरेको विधानमा आफू खुसी थपघट गरिएकोमा असन्तुष्टि जनाउँदै उनले सचिवालय निरंकुश हुन खोजेको टिप्पणी गरे ।

हालै मात्र प्रदेश कमिटीहरु गठन गर्दा योग्यता नपुगेकाहरुलाई समेत राखिएको भन्दै उनले छानविनका लागि स्थायी कमिटीले कार्यदल बनाउनुपर्ने बताए ।

अर्का स्थायी कमिटी सदस्य पाण्डेले सचिवालयलाई कोर अफ लिडरसिप भनिएकोमा प्रश्न उठाएका छन् । मदन भण्डारीको पालामा एमाले नेताहरुको मर्यादाक्रम तोक्न नसकेर ‘अल्फाबेटिकल अर्डर’ अनुसार नाम राख्नु परेको स्मरण गर्दै उनले भने, अहिले तपाईंहरु चाहिँ कसरी कोर अफ लिडरसिप हुनुभयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment