Comments Add Comment

कांग्रेसमा पदाधिकारी विवाद बल्झियो, पछि हटे देउवा

४ पुस, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा नाटकीय रुपमा पूर्वसहमतिबाट हटेसँगै कांग्रेसमा फेरि पदाधिकारी विवाद बल्झिएको छ । यसले शनिबारदेखि जारी महासमिति बैठकलाई समेत थप लम्ब्याउने भएको छ ।

लामो रस्साकस्सीपछि कांग्रेस शीर्ष नेताहरुले मंगलबार साँझ उपसभापति, महामन्त्री र सहमहान्त्री २/२ जना राख्ने र कोषध्यक्षबाहेक सबै निर्वाचित हुने सहमति गरेका थिए ।

त्यसअनुसार बुधबार मध्याहृन केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले प्रस्ताव पनि ल्याए । तर, देउवा पक्षीय केन्द्रीय सदस्यहरुले समावेशी नभएको भन्दै सहमतिको विरोध गरे । फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, वीरबहादुर बलायर, किशोर सिंह राठोर, एनपी साउदले समावेशी नभएको भन्दै विरोध गरे ।

उनीहरुले समावेशी बनाउने प्रयास गरेकोमा सभापति देउवालाई धन्यवाद दिँदै अर्को समूहलाई समोवशी विरोधीका रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

सभापति निकट नेताहरुले एकाएक समावेशीताको मुद्दा उठाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सभापतिबाटै धोका भएको निष्कर्ष निकालेका छन् ।

‘फरमुल्लाह मन्सुर, सीता गुरुङहरुले समावेशीका कुरा गर्नु स्वभाविक छ तर, हिजो समोवशीताको कुरै सुन्न नचाहनेहरुले अहिले समावेशी भएन भनेर विरोध गर्नुले के गर्न खोजेका हुन् भन्ने बुझ्न सकिन्छ’ एक नेताले भने । उनकाअनुसार पार्टी सभापति देउवा आफैं सहमतिबाट पछि हटेका हुन् तर, आफैं बोल्न अफ्ठ्यारो भएकाले निकटवर्तीहरुलाई अगाडि सारेका हुन् ।

पछाडि फर्कने घुमाउरो प्रस्ताव

केन्द्रीय कार्यसमितिमा समोवशीताको मुद्दा चर्कोसँग उठेपछि बैठक स्थगित गरेर नेताहरु महासमिति बैठकमा गए । साँझ ६ बजे अर्को बैठक राखिएको थियो ।

त्यसअघि सभापति देउवा निकट सहमहामन्त्री प्रकाशशरण महतले पार्टी सभापतिले मनोनित गर्ने पदाधिकारी बढाएर समावेशी बनाउने प्रस्ताव ल्याए । अर्का नेता एनपी साउदले भने अहिलेकै व्यवस्था कायम राख्ने विकल्प दिए ।

महामन्त्री शशांक कोइराला भने उपभासपति २, महामन्त्री ३ र सहमहामन्त्री ४ राख्ने तर, धेरै सभापतिले मनोनित गर्ने प्रस्तावमा सहमति हुने भन्दै वरिष्ठ नेता पौडेल कहाँ पुगेका थिए । पौडेल समूहका एक नेता भन्छन्, ‘यसले प्रष्ट हुन्छ, सभापति मनोनित गर्न सर्तमा मात्र पदाधिकारी बढाउने चाहन्छ ।’

पौडेलको आक्रोशः म कसरी समोवशी विरोधी ?

एकातिर समोवशीताको मुद्दा उठाउने, अर्कोतिर मनोनित गर्ने प्रस्ताव ल्याएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमिति बैठकमै आक्रोस पोखेका छन् ।

केन्द्रीय कार्यसमितिको साँझ बसेको बैठकमा पौडेलले पदाधिकारीबारे सभापतिले पटकपटक सहमति गर्ने तर, उल्टाउने काम भएको भन्दै आक्रोस पोखे । उनले भने, ‘तर, आज किन मलाई महिला विरोधी, मधेसी, जनजाति र दलित विरोधीका रुपमा चिचित्र गर्न खोजियो मैले बुझेको छैन ।’

उनले आफू कांग्रेस संसदीय दलको नेता हुँदा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको तथा जनजाति र दलितको पक्षमा सँधै रहेको उनले बताए ।

पौडेलले पार्टी पदाधिकारीबारे एउटा सहमति गर्ने तर, उल्टाउने काम भइरहेको भन्दै उनले भने, ‘के मिलेन र पटकपटक सहमति उल्टाउने काम भयो ?

आफूलाई समावेशी विरोधीका रुपमा प्रस्तुत गर्ने खेल स्वीकार्य नभएको भन्दै पौडेलले भने, ‘तपाईसँग बहुमत छ, जे मन लाग्छ प्रस्ताव ल्याएर पास गर्नुस् ।’

२०७६ फागुनमा महाधिवेशन गर्ने प्रस्ताव

केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता नेता पौडेलले बैठकमा कार्ययोजना समेत पेश गरेका छन् । उनले पुस १६ बाट देशव्यापी जागरण अभियान चलाउने प्रस्ताव गरेका छन् भने २०७६ फागुन ७ गते महाधिवेशन उद्घाटन प्रस्ताव गरेका छन् ।

तर, उपसभापति विमलेन्द्र निधिले यस्तो प्रस्ताव वरिष्ठ नेताले नभई केन्द्रीय कार्यसमितिले ल्याउनुपर्ने भन्दै विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment