+
+

राष्ट्र बैंक र बैंकर्सको ‘लञ्च मिटिङ’:, ब्याजदरमा पुनः सीमा तोक्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ५ गते ११:१७

५ पुस, काठमाडौं । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको विषयमा छलफल गर्न आज बिहीबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई बोलाएको छ ।

‘लञ्च मिटिङ’ नाम दिइएको बैठकमा २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुने बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘बैंकर एशोसिएसनले बोलाएको बैठक होइन, राष्ट्र बैंकले बोलाएको हो’, अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष ढुंगानाले भने, ‘राष्ट्र बैंकका अधिकारीसहित २८ वटै वाणिज्य बैंकहरुका सीईओ बैठकमा सहभागी हुनुहुनेछ ।’

उनले बैंठकमा ब्याजदरको विषयमा छलफल हुने बताए । ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्न ब्याजदरको सीमा तोक्ने विषयमा पनि छलफल हुने ढुंगानाको भनाइ छ ।
ब्याजदर बढाउने बैंकका सीईओहरुलाई गत मंगलबार बालुवाटार कार्यालयमा बोलाएर राष्ट्र बैंकले ब्याजदरमा संयमता अपनाउन तथा पुनः अधिकतम् सीमा तोक्न सुझाएको थियो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो ।  निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।

संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरी संघले सीमा लगाउने भएको छ ।  थप निर्णय भने बैंकर संघले नै गर्ने बैंकठमा सहभागी भएर आएका एक बैंकरले जानकारी दिए ।

‘राष्ट्र बैंकले संयमित हुन आग्रह गरेपछि संघको बैठक बसेर यस विषयमा आवश्य निर्णय लिने कुरा भएको छ’, उनले भने । कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत पुर्‍याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?