Comments Add Comment

घर खाली गर्नु भनेपछि प्रेरणा शाह रिट लिएर सर्वोच्चमा

६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले आफूले दाइजोमा पाएको सम्पत्तिबाट बलपूर्वक हटाउन खोजिएको भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध रिट दायर गरेकी छन् ।

उनले सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७३ पुस २१ गते भएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेकी हुन् । उक्त मुद्दा संवैधानिक इजलासबाट फैसला हुनुपर्नेमा पूर्ण इजलासबाट हुनु अन्यायपूर्ण भएको बताएकी छन् । उनले आफूलाई घर कम्पाउण्ड खाली गर्न दबाब आइरहेको भन्दै यस रिटको अन्तिम फैसला नभएसम्म घर कम्पाउण्ड खाली गर्न चालिएका सबै कदम रोक्न अन्तरिम आदेश पनि माग गरेकी छन् ।

प्रेरणाका वारेस कानून व्यवसायी गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा भनिएको छ ‘संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिनासाथ संविधानको धारा १३३ (१) तथा १३७ बमोजिम संवैधानिक इजलाससमक्ष निर्णयका लागि पठाउनुपर्नेमा संवैधानिक एवं कानूनी प्रावधानको गम्भीर उपेक्षा निर्णय पूर्ण इजलासबाट हुन गएको प्रष्ट छ ।’

पूर्ण इजालसले संवैधानिक इजलासको अधिकार क्षेत्र आफै ग्रहण गरी गरेको फैसला तथा निर्णय कानूनी ब्याख्याको आधारमा अमान्य र बदरभागी हुने रिटमा उल्लेख गरिएको छ ।

प्रेरणाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून न्याय तथा संसदीय मामिला, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय र कलंकी मालपोत कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी छन् ।

प्रेरणाले दाइजोस्वरुप पाएको काठमाडौं महानगरपालिका १३ को १५ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा जाने फैसला सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको थियो । प्रेरणाले दाइजो, दान बकस पाएको सम्पत्तिमा महिलाको अधिकार हुने तत्कालीन कानूनी व्यवस्था रहेको भन्दै उक्त सम्पत्ति नेपाल ट्रष्टको कार्यालयको नाममा नजाने दावी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment