Comments Add Comment

‘यूपीएफ’बारे नेकपामा विवाद : माधव नेपालको स्पष्टीकरण अधुरो

८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’लाई लिएर चर्को बहस भएको छ ।

सम्मेलनमा सरकारको सहभागितालाई लिएर नेताहरुले चर्को आलोचना गरेपछि आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् ।

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नराम्रो संगठन नभएको र उसले आयोजना गरेको सम्मेलनमा भाग लिएर आफूहरुले गलत काम नगरेको भन्दै बचाउ गरे । ‘जे भयो राम्रो नै भएको छ भन्नुभएको छ’ एक नेताले भनेका छन् ।

उनले आफू युनिभर्सल पिस फेडेरेसनमार्फत २२ पटक नभई ६ पटक विदेश गएको स्पष्टीकरण पनि दिए । साथै यो संस्थामाथि छानविन गर्ने भए गरौं भनेका छन् ।

लगतै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल अग्नि सापकोटा लगालयतले वरिष्ठ नेता नेपालको दाबी खण्डन गरेका छन् । सम्मेलनमा सरकार र पार्टी शीर्ष तहको सहभागिता गलत भएको यसले पार्टी नेताहरुको छवि धमिल्याएको बताए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले २०१२ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरकारसँग मिलेर संयुक्त कार्यक्रम गर्ने प्रस्ताव आएको तर, आफूले विरोध गरेको स्मरण गरेका थिए ।

यो पटक पनि आफूले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुबैलाई सचेत गराएको सुनाए । उनले भने, ‘मैले केपी ओलीलाई भेटेर तपाई पस्दै हुनुहुन्छ भनेको थिएँ ।’

नेता भीम रावल र घनश्याम भुसालले पनि युनिभर्सल पिस फेडेरेसन अत्यन्त बदनाम संगठन भएको र सम्मेलनमा सरकारको सहभागिता गलत भएको बताए ।

रावलले सम्मेलनमा आएका पाहुनाहरुलाई प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको पत्रसमेत पढेर सुनाएका थिए । उनले एउटा विवादास्पद संगठनले आयोजना गरेको सम्मेलनमा आउने पाहुनालाई यसरी प्रधानमन्त्रीले पत्र पठाउने र सल्लाहकारले बाँड्ने काम गर्न मिल्छ भन्ने प्रश्न गरेका छन् ।

नेता अग्नि सापकोटाले राष्ट्रियताको मामिलामा यतायता गर्न नपाइने भन्दै नेतृत्वले गल्ती सच्याउनुपर्ने बताए । एकपछि अर्को नेताले माधव नेपालको स्पष्टीकरणको खण्डन गरेपछि प्रधानमन्त्री ओलीले यसलाई धेरै नउचाल्न आग्रह गरे । साथै उनले आफू अलि बढी वरिष्ठ नेता नेपालको भरमा परेको समेत बैठकमा बताएका छन् ।

अर्का अध्यक्ष प्रचण्डले भने राजनीतिक प्रस्ताव परिर्माजन गरेर अन्तिम रुप दिँदा यसबारे पनि एउटा निश्कर्षमा पुगौंला भन्दै विवाद तत्काललाई टारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment