Comments Add Comment

गौरी खोलामा मापदण्ड विपरीत उत्खनन् भएको भन्दै स्थानीयको बिरोध

८ पुस, कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ को तेघरी सामुदायिक वनभित्र भएर बग्ने गौरी खोलामा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै स्थानीयवासीले बिरोध गरेका छन् ।

नदीजन्य पदार्थको उत्खनन्ले उक्त क्षेत्रमा भू-क्षय तथा कटानको जोखिम बढेको भन्दै उनीहरुले बिराध गरेका हुन् । मापदण्ड विपरीत नदी उत्खनन्को ठेक्का दिएकोबारे पटकपटक आवाज उठाउँदा पनि सुनुवाई नभएको उनीहरुले गुनासो गरेका छन् ।

गोदावरी खोलाको गौरी घाटमा अहिले दैनिक ५ वटा स्काभेटरले नदीजन्य सामग्री उत्खनन गरिरहेका छन् ।

मापदण्ड विपरीत खोला उत्खनन् हुँदा बस्तीनै जोखिममा परेको स्थानीयले बताएका छन् । यसको रोकथामका लागि नगरपालिकामा पटक-पटक जानकारी गराउँदा समेत बास्ता नगरेको उनीहरुको भनाइ छ। बाढी आउने बेलामा गाउँमा खोला पस्ने सम्भावना रहेपनि कसैको ध्यान नदिएको गुनासो उनीहरुको छ ।

विकास गर्ने बाहानामा गोदावरी नगरपालिकाले खोलामा अवैध उत्खनन गराएर विनास निम्त्याइरहेको स्थानीय मोहन योगीले बताए । उनले गौरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा खोलाको स्वरुप नै परिवर्तन भएको बताए ।

राष्ट्रिय गौरवका आयोजनाका नाममा यसरी खोलामा ठूला मेसिनको प्रयोग हुदाँ वातावरणमा समेत असर परिरहेको योगीको भनाइ छ ।

गोदावरी नगरपालिकाले भने वातावरणीय प्रभाव मूल्याङकनका आधारमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको दाबी गरेको छ । नगरपालिकाका मेयर हरिसिंह साउँदले गोदावरी नगरपालिकाले मापदण्डभित्र रही गोदावरीमा रहेको खुटिया नदी, गोदावरी नदी र मछेली खोलामा नदीजन्य पदार्थका उत्खनन्का लागि १० करोडमा ठेक्का दिएको बताए ।

उनले गोदावरी नदीमा मापदण्ड विपरीत ढुङ्गा गिटी उत्खनन भएको पाइए त्यसलाई तत्काल रोक्ने प्रतिबद्धता जनाए ।

खोला किनारबाट २५/२५ मिटर भित्र गहिराइ १.२ मिटर जती उत्खनन् गनुपर्ने प्रावधान रहेको मेयर साउँदले जानकारी दिए । तर, ठेक्दारहरुले मापदण्डमा रहेर काम नगरी जथाभावी रुपमा नदिजन्य पदार्थको दोहन गरिरहेको स्थानीयको आरोप छ । ठेकदारलेसामुदायिक वन भित्रै क्रसर मेसिन राख्ने गरेका छन् ।

उता डिभिजन वन कार्यालय धनगढी तत्कालीन जिल्ला वन कार्यालय कैलालीका प्रमुख अमरबहादुर बुलनले सामुदायिक वनमा क्रसर मेशिन राख्नु सरासर कानून विपरीत भएको भन्दै ठेकेदार कम्पनीलाई अनुमति दिने निकाय, राजश्व संकलन गर्ने निकाय र वाषिर्क कति घनमिटर उत्खनन् गर्ने हो सोको कागजातसहित उपस्थिति हुन निर्देशन दिएको बताए ।

उनले उक्त कागजात हेरेपछि मात्रै अन्य आवश्यक कारवाहीका लागि पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment