Comments Add Comment

राजनीति घुसेर कतिपय संस्था प्रदुषित भएका छन् : प्रधानमन्त्री ओली

८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका केही संस्थाहरु राजनीति घुसेका कारण प्रदुषित भएको बताएका छन् । सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई संबोधन गर्दै उनले वैचारिक र आर्थिक प्रभावले कतिपय संस्थाहरु बिग्रेको बताएका हुन् ।

‘केही केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘कहिले वैचारिक प्रभाव, कहिले द्रव्यलाभ वा कतैतिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावसायिक बनाउनुपर्दछ ।’

उनले सुशासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन् । जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको बताएका हुन् ।

उनले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न महान्यायाधिवक्ता र मातहतका निकायलाई आग्रह गरे । समाजलाई अपराधमुक्त बनाउन प्रभावकारी अनुसन्धान गरी अभियोजनमा जानुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले चुनाव मार्फत मुलकमा राजनीतिक स्थिरता र स्थायित्व कायम भएकाले अस्थिर राजनीतिमा चलखेल गर्ने सबै किसिमका क्रियाकलाप अन्त्य भएको दाबी गरे । विकास र समृद्धि हासिल गर्ने सवालमा सरकारसंग स्पष्ट दृष्टिकोण सहितका नीति भएको पनि उनले उल्लेख गरे ।

३ दिनसम्म चल्ने सम्मेलनमा फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा छलफल गरी साझा धारणा तय गरिनेछ । सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्तासहित ३ सय ७९ जना सरकारी वकिल र ८० बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment