Comments Add Comment

तपाईंको विद्यालय कति बालमैत्री छ ?

१० पुस, काठमाडौं । विद्यालयको जनाउ घण्टी ‘टिङ–टिङ’ बज्दा बालबालिका सावधान हुन्छन् कि उमंगित ? विद्यालयको प्राङ्गण टेक्दा बालबालिकाको पाइला फुर्तिला हुन्छन् कि गह्रौं ? शिक्षक–शिक्षिकाको सामुन्ने उभिँदा विद्यार्थी सर्तक हुन्छन् कि भयभित ? पुस्तकका पानाहरु पल्टाइरहँदा बालबालिकाको मन कौतुहलले भरिन्छ कि दिक्दारीले ?

विद्यालय धाइरहेका बालबालिकाको मनोदशा कस्तो हुन्छ ? कक्षाकोठाभित्र उनीहरु जिज्ञासु हुन्छन् ? यो प्रश्न किन पनि गर्नुपर्ने अवस्था छ भने विद्यालयले अहिले वालमष्तिष्कको ‘ट्रिटमेन्ट’ यसरी गरिरहेका छन्, जसले उनीहरुलाई रचनात्मक बन्नबाट रोकिरहेको छ ।

सुन्दा अप्रिय लाग्छ । तर, वर्तमान पठनविधि र शिक्षाप्रतिको सामाजिक धारणा बाल–मैत्री छैन । अभिभावक ठान्छन्, ‘छोराछोरीलाई सफल बनाउन पढाउनुपर्छ ।’ शिक्षक–शिक्षिका ठान्छन्, ‘विद्यार्थीलाई उत्तीर्ण गराउन किताब हुबहु कण्ठस्थ गराउनुपर्छ ।’ हाम्रो समाजले भन्छ, ‘शिक्षित बन्नुपर्छ । डिग्री हासिल गर्नुपर्छ । जागिर खानुपर्छ ।’

तर, हाम्रो अपेक्षा र बालबालिकाको अवस्था मिल्दो छ त ? के हामीले भनेजस्तै विद्यालयमा पढेपछि, पुस्तक घोकेपछि, शिक्षित भएपछि सबैकुरा हुन्छ ? उत्तीर्ण हुनु, डिग्रीको प्रमाणपत्र हासिल गर्नु, लोकसेवा पास गर्नु, जागिर खानु नै शिक्षाको सार हो ?

कलिलो मस्तिष्कमा भविष्यको भय

हामी आफूले बनाएको रेडिमेड धारणाभित्र आफ्ना कलिला बालबालिकालाई कोच्ने यत्न गर्छौं । उनीहरु के बन्न चाहन्छन् ? हामी सोध्दैनौं । हामी जे चाहन्छौं, उनीहरु त्यही बन्नुपर्छ ।

हामी बारम्बार भन्छौं, ‘तिमीहरु पढ्नुपर्छ । फलानो जस्तै बन्नुपर्छ । भविश्य बनाउनुपर्छ ।’

भविश्यको भय देखाएर हामी बालबालिकालाई विद्यालय पठाउँछौं । भोलिका दिन उनीहरुले कुनै जोखिम उठाउन नपरोस्, कुनै कठिनाई झेल्न नपरोस्, कुनै अभाव र समस्यासँग जुध्न नपरोस् भनेर पढ्न लगाउँछौं । तर, शिक्षाको उद्देश्य र सार के हो ? हामी घोत्लदैनौं ।

हामी त चोर औंला ठड्याएर बालबालिकालाई यति मात्र भन्छौं, ‘नियमित विद्यालय जानु, राम्ररी पढ्नु, ठूलो मान्छे हुनु ।’

हामीले लाद्ने यही कुराले उनीहरुको मस्तिष्क भरिन्छ । जब कलिला बालबालिका विद्यालय गइरहेका हुन्छन्, उनीहरुको मस्तिष्कमा एउटै कुरा आउँछ, ‘पढ्नुपर्छ । विद्यालय जानुपर्छ । होमवर्क गर्नुपर्छ । प्रश्नको उत्तर दिनुपर्छ ।’

यसको नतिजा के हुन्छ ? अब बुझौं ।

घरबाटै दिमागमा पढाइको भारी बोक्ने


घरबाट निस्केर विद्यालयको प्राङ्गण टेक्दासम्म बालकालिकाले जे–जे देख्छन्, जे–जे भोग्छन् के त्यसलाई उनीहरुले महसुस गर्छन् ? यो प्रश्नलाई दोहोर्‍याएर बुझौं ।

निस्कने बेला उनीहरुले गह्रौंं ब्याग बोक्छन् । तर, ब्यागको बोझ कस्तो छ ? उनीहरुले अनुभूत गर्दैनन् । घरबाट निस्कने बेला घरको अवस्था कस्तो थियो ? त्यसबारे पनि उनीहरुलाई मतलब हुँदैन । घरबाट निस्नेबेला उनीहरु स्कुलको बससम्म पुग्ने ध्याउन्नमा हुन्छन् ।

बसमा चढेपछि उनीहरुको मस्तिष्कमा कक्षाकोठा, शिक्षक, होमवर्क, पुस्तकका नानाथरी दृश्यहरु नाच्न थाल्छ । विद्यालय अघिल्तिर पुगेर बस रोकिन्छ, उनीहरु माहुरीको गोलाबाट माहुरी निस्किएझै हुर्रिएर कक्षाकोठातर्फ बढ्छन् ।

यहाँसम्म आइपुग्दा उनीहरुको सोचाई केवल त्यसदिनको पाठ, होमवर्क आदिमा मात्र केन्द्रित भइरहेको हुन्छ । अर्थात उनीहरुको दिमागले घरबाट नै पढाइको भारी बोकेर आएको छ । त्यही कारण उनीहरुको इन्द्रिय आँखा, नाख, छाला आदिको उपयोग हुँदैन ।

जबकी उनीहरु घर बाहिर निस्कदा चारो खाइरहेको भँमरा वा चरा भुर्र उडेको थियो । अलि पर ढलको दुर्गन्ध फैलिएको थियो । बसभित्र पुग्दा कति साथीहरुले सिट पाएका थिएनन् । कतिले एक्लैले एउटै सिट ओगटेका थिए । चोकमा ट्राफिक जाम थियो । जेब्रा क्रसबाट बटुवाहरु बाटो काट्दै थिए । बाटोको किनारमा सुन्तला र बदाम बेचिदै थियो । हरियो मकै पोलेको थियो ।

यी सबै दृश्यहरु उनीरुले देखे । तर, अनुभव गरेनन् । अनुभव गरेको भए उनीहरुको मनमा प्रश्न उठ्थ्यो । बालबालिकाको मनमा जति धेरै प्रश्न उठ्छ, जति धेरै जिज्ञासा पैदा हुन्छ, उनीहरुको ज्ञान भण्डार उत्तिनै समृद्ध हुन्छन् ।

चरा भुर्रर उडेको देखेर उनीहरुमा किन उक्त चराको जात, प्रकृति, रंग आदिबारे जिज्ञासा जागेन ? ढलको दुर्गन्ध किन र कसरी फैलियो भन्ने प्रश्न किन उठेन ?

किनभने उनीहरुको दिमागमा अभिभावकले भारी बोकाइदिएको थियो, पढाईको । विद्यालयले भारी बोकाइदिएको थियो, होमवर्कको । यसले गर्दा उनीहरुको इन्द्रियको अनुभव मस्तिष्कले गर्न पाएन ।

अब उनीहरु कक्षाकोठामा बस्छन् । शिक्षकले पुस्तक पल्टाएर प्रश्न गर्छन्, ‘कस्तो लाइट बालेपछि मात्र जेब्रा क्रसबाट बाटो काट्नुपर्छ ?’

जवाफका लागि बालबालिका हतार–हतार पुस्तक पल्टाउन थाल्छन् । केही अघिसम्म उनीहरुले बाटोमा ट्राफिक लाइट देखेका थिए । रातो लाइट बलेपछि गाडी रोकिएको थियो । जेब्रा क्रसतर्फको हरियो लाइट बलेपछि बटुवाले बाटो काटेका थिए । यी सबै दृश्य साक्षतकार गरेरै उनीहरु विद्यालय पुगेका थिए । तर, उनीहरुले ति कुराको जवाफ किन दिन सकेनन् ? किन उनीहरु किताबमा जवाफ खोज्न थाले ?

किनभने हाम्रो शिक्षक/शिक्षिकाले त्यही कुरामा उनीहरुलाई तालिम दिलाए ।

शिक्षक सोध्छन्, ‘गाईले के दिन्छ ?’

एउटा किसान परिवारका बच्चा, जसले साँझ–बिहान गाई देखेका छन् । घाँस काटेका छन् । गोबर सोहोरेका छन् । दुध दुहेका छन् । उसले जवाफका लागि आफ्नो घर, गाईको गोठ सम्झदैन । किताब सम्झन्छ । कुन च्याप्टरमा गाईको विषयमा लेखिएको सोही च्याप्टर पल्टाउन थाल्छ ।

किन ?

किनभने उनीहरुलाई शिक्षक/शिक्षिकाले किताबमुखी बनाएका छन् ।

शिक्षक सोध्छन्, ‘विन्टर सिजनमा कुन फलफूल पाइन्छ ?’

बालकालिकाले अघि बसबाट देखेका थिए, बाटोको किनारमा सुन्तला र बदाम बेचेको । उनीहरुले कक्षाकोठाकै झ्यालबाट पनि सुन्तला फलेको देखिरहेका हुनसक्छन् । तर, जवाफको लागि फेरी किताब नै पल्टाउन थाल्छन् । अघि देखेको कुराप्रति उनीहरुको ध्यान नै जाँदैन ।

विद्यालयले, हाम्रो पठन विधीले, शिक्षक/शिक्षिकाले हाम्रा बालबालिकाको मस्तिष्कलाई पाठ्यपुस्तकमा यसरी केन्द्रित गराएका छन्, त्यहाँभन्दा दायाँबायाँ उनीहरुले केहि देख्दैनन् । जसले देख्छन् र त्यसप्रति कौतुहलता राख्छन्, उसलाई ‘वदमास’, ‘अनपढ’, ‘अनुशासनहिन’को ट्याग भिराएर तिरस्कार गरिन्छ ।

हामीले त सोचेका हुन्छौं, ‘मेरा छोराछोरी पढ्दैछन् । जान्नेबुझ्ने हुँदैछन् ।’ तर वास्तविकता फरक हुन्छ । हाम्रा बालबालिकाको जान्ने–बुझ्ने गुणमा त विद्यालयले बिर्को लगाइदिन्छ । उनीहरुको जिज्ञासलाई कलिलो अवस्थामा निमोठिन्छ । उनीहरुको मनमा उठ्ने स्वभाविक प्रश्नहरुमाथि ताल्चा ठोकिन्छ । र, किताब, होमवर्क, कक्षाकोठाभित्र एकोहोरो बनाइन्छ ।

पढाउने कि बुझाउने ?

शिक्षक भन्छन्, ‘फोहोर खेल्नु हुँदैन । खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ ।’

बालबालिकाले यो कुरा अनुभूत गर्दैनन् । घोक्छन् । उनीहरुले यो कुरा केवल परीक्षामा उत्तर दिनका लागि साँचेर राख्छन् । आफुमा अभ्यस्त गराउँदैनन् ।

किनभने शिक्षकले त पाठ पढाएका हुन् । विद्यालयमा बालबालिकालाई पढाइन्छ । जानकारी दिइन्छ । सिकाइन्छ । तर, अनुभूत गराइँदैन । बुझाइँदैन ।

फोहोरमा कस्ता जिवाणु हुन्छन् ? फोहोरको माध्यामबाट ति जीवाणु शरीरमा कसरी प्रवेश गर्छ । प्रवेश गरेपछि त्यसले शरीरका अंगहरुमा कसरी असर गर्छ ? यावत् कुरा बुझाउने हो भने उनीहरुले ‘फोहोर खेल्नु हुँदैन’ भनेर परीक्षामा लेख्ने काम मात्र गर्दैनन् । आफ्नो दैनिक जीवनमा पनि उपयोग गर्छन् ।

हामी स्वास्थ्यका लागि फलफूल खानु राम्रो हो भनेर उनीहरुलाई उपदेश दिन्छौं । फलफूलले स्वास्थ्यलाई कसरी राम्रो गर्छ भनेर बुझाउँदैनौ ।

हामी बालबालिकालाई पढाउँछौं । सिकाउँछौ । तर, बुझाउँदैनौ । खासमा बुझाउनुपर्ने हो । हामी त के भन्छौं भने, त्यो खराब हो, यो असल हो । यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन । यसो गर्दा राम्रो हुन्छ, त्यसो गर्दा नराम्रो हुन्छ । समाजले बनाएको धारणा अनुसार नै उनीहरुलाई यी कुराहरु सिकाउँछौं ।

जबकि हामी जे कुरा गलत भन्छौं, त्यो उसको लागि गलत नठहर्न पनि सक्छ । हामी जे गर्दा राम्रो भन्छौं, त्यो कुरा उसका लागि नराम्रो पनि हुन सक्छ । किनभने हामीले भन्ने यस्ता कुराहरु समाजले तय गरिदिएका रेडिमेड धारणा हुन् । त्यही धारणाले हामी बालमष्तिकलाई टालटुल गर्ने यत्न गछौं ।

बाल–जिज्ञासाः कक्षाकोठामा मारिन्छ

हरेक कुरामा जिज्ञासा उठ्नु, कौतुहलता जाग्नु मानविय स्वभाव हो । तर, यही स्वभावको हत्या गरिन्छ, विद्यालयमा । फलत उनीहरु किन पाकेको स्याउ रुखबाट भूँइतिर खस्यो ? किन चराहरु उड्न सक्छन् ? किन माछा जमीन बाहिर आउन सक्दैनन् ? भनेर खोज्दैनन् । उनीहरुलाई जवाफ घोकाइएको छ, ‘स्याउँ तलतिर झर्छ । चराहरु उड्छ । माछा पानीमा बस्छ ।’

उनीहरुमा प्रश्न वा कौतुहलता रोप्ने होइन, जवाफ वा जानकारीले भरिपूर्ण बनाइदिन्छौं । त्यही कारण हाम्रा बालबालिकाहरु पढेर पनि जान्ने हुँदैनन् । डिग्री गरेर पनि केही उद्यम गर्न सक्दैनन् । उनीहरु आफ्नो योग्यता देखाउनुपर्‍यो भने प्रमाणपत्र झुन्ड्याउँछन् ।

बालबालिकामा अथाह जिज्ञासा हुन्छ, कौतुहलता हुन्छ, आँखाले देख्ने हरेक दृश्यमा उनीहरुको प्रश्न हुन्छ । तर, जसै उनीहरु शिशु कक्षामा भर्ना गरिन्छ, जसै उनीहरु कक्षाकोठामा पुर्‍याइन्छ, त्यही बाट उनीहरुको कौतुहलता, प्रश्नमाथि ताल्चा लगाइन्छ । किनभने यसरी मनलाग्दो प्रश्न गर्ने, जिज्ञासा राख्ने, कुनैपनि कुरा सोध्ने, आफुखुसी रमाउने बच्चा विद्यालयको भाषामा ‘अनुशासनहिन’ हुन् । फटाह हुन् ।

खासमा हामीले छोराछोरीलाई विद्यालय पठाईरहेका छौैं कि उनीहरुको जिज्ञासाको हत्या गर्ने बधशालामा ? वा त अनुशासनको बन्दी बनाउने कारागारमा ? अभिभावकले यी प्रश्नहरुको चित्तबुझ्दो जवाफ आफैंभित्र खोज्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment