Comments Add Comment

रंग नम्बरः धर्मको खोल ओढेर इमोशनल ब्ल्याकमेलिङ

‘आमा, अब धर्म परिवर्तन गर्नुपर्छ ।’

अनपेक्षित प्रस्ताव सुनेपछि उहाँले विस्मयको सुस्केरा हाल्नुभयो, ‘बहुलायौं कि क्या हो, नचाहिँदो कुरा नगर है ।’

हामीले आमालाई फकायौं । सम्झायौं । बुझायौं । मनायौं । मरिहत्ते गर्‍यौं । आखिर आमाको मन न हो, पग्लन कति बेर लाग्छ !

उहाँले धर्म परिवर्तन गर्नुभयो ।

पितापूर्खाले मान्दै आएको धर्मसँग अब उहाँको कुनै नाता रहेन । उहाँले मान्ने चाड बद्लियो । पूज्ने देवता बद्लियो । आमा बद्लिनुभयो । तर, यो बद्लाव हाम्रो निम्ति ‘प्रत्युत्पादक’ भइदियो । के सोचें मैलें, के भयो अहिले भनेजस्तै ।

दशैं, तिहार, चाडपर्वको उल्लासमा हामीसँग एकाकार हुनुभएन आमा । न उहाँले मान्ने पर्वमा हामी रमाउन सक्यौं । एउटै घर तर लय बेग्लै । एउटै परिवार तर धून बेग्लै ।

हाम्रो परिवारको सुर-संगीत जति माधूर्य हुनुपर्ने, त्यसो भएन ।

हामीले आमालाई अर्कै ‘धर्म’मा लगायौं । दोष उहाँको थिएन, ‘ग्रान्ड डिजाइनर’ हामी नै थियौं । र, यसको पछाडि केही बाध्यता जरुर थियो ।

****

आमाको शरीर आफैमा प्रयोगशाला जस्तै थियो । अनेकथरी उपचार, अनेकथरी औषधीले त्यो शरीरलाई गलाउँदै लगेको थियो । शरीरभन्दा बढी गलाएको थियो, आमाको मानसिकतालाई । उहाँ ठान्नुहुन्थ्यो, ‘म रोगी छु ।’

जति अस्पताल पुर्‍याइयो, जति चिकित्सक भेटियो, उनीहरुले रोगको सूची तन्काउँदै लगे । औषधीको पोका थप्दै लगे । तर, रोगी ज्यान तंग्रिएन ।

अन्ततः हामी पुग्यौं, बाँसबारीस्थित शहिद गंगलाल हृदयरोग केन्द्र । सम्पूर्ण चेक-जाँच भएपछि चिकित्सकको कक्षामा उभियौं । आमाले उनको अघिल्तिर औषधीको पोको-पन्तुरो राखिदिए । चिकित्सकले हाँस्दै भन्नुभयो, ‘आमा यी कुनै औषधीको काम छैन । तपाईंलाई केही भएको छैन ।’

त्यसपछि चिकित्सक हामीतर्फ फर्किए, ‘आमालाई चिन्ताले सताएजस्तो छ । खास केही रोग छैन । औषधी ख्वाउने, उपचार गराउने भन्दा पनि कुनै भजन-किर्तनमा लगाइदिनू ।’

भजन-किर्तनमा लगाएपछि आमाको मन बहलिन्छ । धार्मिक आस्था बढ्छ । आस्थाले आड-भरोसा दिन्छ । बाँच्नका लागि उत्साह दिन्छ । चिकित्सकको भनाईको सार हाम्रो लागि रामवाण ओखती समान थियो ।

शिव मुखिया

डेरा फर्केपछि हामी धर्मकर्म, मठमन्दिर, भजन किर्तनको खोजीमा लाग्यौं । संयोगले नजिकै चर्च भेटियो । हामीले फकाई-फुल्याई आमालाई क्रिश्चियन बनायौं । हामी ढुक्क थियौं, धर्म-मण्डलीमा हुने प्रार्थना, प्रवचन आदिले आमाको मनोदसा पखाल्नेछ । बेचैनी हट्नेछ । औडाह मेटिनेछ । उदासी निथि्रनेछ । र, उहाँको मन उमंग, खुसी, उत्साहले हराभरा हुनेछ । तर, त्यसो भएन ।

उहाँ धर्मभीरु निस्कनुभयो । प्रार्थना नगरे, नियमित चर्च नधाए, दशअंश नबुझाए ‘अपवित्र’, ‘सैतान’ हुने भयले गाँज्न थाल्यो ।

यसको साइड इफेक्ट त के भने, आमाले मान्ने ईश्वर र हामीले मान्ने भगवान अलग-अलग भइदियो । हामीले गर्ने पूजाआजा र आमाले गर्ने प्रार्थना अलग-अलग भइदियो । हामीले मनाउने चाडबाड र आमाले मनाउने पर्व अलग-अलग भइदियो ।

हाम्रा खुसीहरु, हाम्रा उमंगहरु, हाम्रा उत्साहरु विभाजित भए ।

****

‘धर्म’प्रति कुनै आग्रह/पूर्वाग्रह होइन । कतै आशक्ति र कतै घृणा पनि छैन । हिन्दु, मुश्लिम, बौद्ध, ईशाई सबैलाई हेर्ने आँखामा मेरो कुनै दृष्टिदोष छैन ।
तर, मेरो जीवनको घर्षण जुन पद्दतीबाट भयो, त्यसमा म समाहित हुँदै हुर्किएँ ।

म जन्मिदा न्वरान गरियो । अन्नप्राशन गरेपछि पहिले पटक मेरो मुखले अन्न चपायो । दशैंको रातो टिका, नयाँ लुगा र मासुभातले ममा उमंग छायो । तिहारको देउसी-भौलो, ढाका टोपी, सेलरोटीले ममा उत्साह ल्यायो ।

माघे संक्रान्ति, सरस्वती पूजा, असार पन्ध्र, शिवरात्री, नाग पञ्चमी, होलीसँग मेरो जीवन-चक्रले लय समात्यो । यी पर्व, खानपान, चालचलनसँग भावनात्मक अट्यामेन्ट रह्यो । त्यसैले ‘मेरी क्रिसमस’ भन्दै हग गर्न वा ‘अल्लाह’ भन्दै हज गर्नमा म अभ्यस्त भइन । यद्यपी यी ‘धर्म’प्रतिको वितृष्णा भने हुँदै होइन ।

किनभने जुन कुरालाई यहाँ ‘धर्म’ भनिन्छ । त्यसलाई म धर्म बुझ्दिन, जीवन पद्दती बुझ्छु । हिन्दु एक जीवन पद्धती हो, वौद्ध एक जीवन पद्दती हो, ईशाई एक जीवन पद्धती हो । यी सबै आ-आफ्नो भूगोल, हावापानी, प्रकृति अनुरुप मानव जीवनको तालमेल मिलाएर मार्गदर्शन गराउने अद्भूत प्रणाली हो ।

हामी अहिले कस्तो जीवनशैली अपनाउने, कस्तो खानपान खाने, बालबच्चा कसरी हुर्काउने, कस्तो सोंच-चिन्तन राख्ने इत्यादिबारे अनेक टिप्स खोज्छौं । जबकी यसको विश्वसनिय, तार्किक, प्रयोगात्मक जवाफ श्रीमद्भागत गीता, बाइबल जस्ता ग्रन्थबाट प्राप्त हुन्छ ।

जन्मदेखि मृत्युसम्म उत्साहजनक, स्वस्थ्य, खुसी, समृद्ध, आत्मिय, विनयी, प्रमिल जीवन बाँच्नका लागि यी ग्रन्थहरुले सिकाउँछ । जस्तो कि, तपाई कस्तो खानपान शरीरका लागि उपयुक्त हुन्छ भनेर खोज्नुभयो भने सबैभन्दा प्रभावकारी जवाफ यिनै ग्रन्थबाट मिल्छ । तर, अहिले ‘धर्मका ठेकदार’हरुले यी ग्रन्थलाई ‘पाप र पुण्य’को सौदाबाजी गर्ने माध्याम बनाए । यो रंग नम्बर हो ।

धर्म र आडम्बर

हिन्दु धर्म होइन, ईशाई धर्म होइन । यी मान्ने कुरा हुन् । धर्म मानिँदैन, गरिन्छ । भेद यतिमा छ ।

धर्म त उपकार, सेवा, त्याग, समर्पण हो । कुनै असक्तलाई सहयोग गर्नु धर्म हो । कुनै भोकालाई भरपेट ख्वाउनु धर्म हो । कुनै घाइतेलाई उपचार गरिदिनु धर्म हो ।

मन्दिर जानु, पूजाआजा गर्नु, तप गर्नु ‘धर्म’ होइन । यी त जीवन-पद्दतीको एक चक्र हो । मन्दिर गएर ‘स्वर्गका लागि एडभान्स बुकिङ’ हुने होइन । तर, मनको शुद्धिकरण हुन्छ ।

मन्दिर जानु, पूजाआजा गर्नुलाई ‘धर्म’सँग जोडेर धर्मका ठेकेदारहरुले विना श्रमको व्याज पचाइरहेका छन् । धर्मको नाममा इमोशनल ब्ल्याकमेलिङ गरिरहेका छन् । यसलाई तथाकथित बौद्धिक/शिक्षित/आधुनिकहरुले सोझै ‘आडम्बर’ भनेर अस्विकार गरिरहेका छन् ।

यसरी एकथरीले धर्मलाई व्यापारिकरण गर्ने र अर्कोथरीले यसलाई ‘ढोंग/अन्धविश्वास’ भनेर नकार्ने प्रवृत्तिको घनचक्करमा समाज रन्थनिएको छ । त्यही कारण कोही मन्दिरभित्र पुजारी बनेर हत्या, हिंसा, बलात्कार गरिरहेका छन् । कोही आधुनिक आवसमा सानो मन्दिर बनाएर लुकीलुकी साँझ-बिहान ‘हरे कृष्ण, हरे राम’ जपिरहेका छन् । ‘धर्म’को नाममा समाज एकदम विरोधभासपूर्ण छ ।

मन्दिर किन बनाइए ? भगवानको रचना किन गरिए ? पूजाआजाको विधी किन चलाइए ? यी प्रश्नमाथि घोत्लिने आवश्यक्ता हामीले कहिल्यै महसुष गरेनौं । बरु शिक्षित व्यक्तित्वको मुखुण्डो लगाएर चिच्याइरह्यो, ‘यी सबै ढोंग हुन् । यी आडम्बर हुन् । पाखण्ड हुन् । अन्धविश्वास हुन् ।’

जबकी यी सबै कुरा हाम्रो जीवन व्यवस्थित गर्नका लागि तय गरिएका समुन्नत विधी हुन् । हाम्रो सोंच, चिन्तन, जीवनशैलीलाई सन्तुलित र सही ढंगले डोहोर्‍याउनका लागि रेखांकन गरिएका मार्ग हुन् ।
मन्दिर जाँदै गर्दा हामी भन्छौं, ‘दर्शन गर्न गएको ।’ जब मन्दिरको मूल ढोकामा पुग्छौं । आँखा चिम्लन्छौं । किन ?

‘दर्शन गर्नु’ भनेको हेर्नु हो । तर, मन्दिरको ढोकामा पुगेर किन आँखा चिम्लन्छौं ?

यो एक संकेत हो, ‘बाहिरी आँखा बन्द गर, भित्री आँखा खोल ।’

पूजा गर्दा हामीले शरीरलाई जुन पोज अर्थात अवस्थामा राख्छौं, अहिले योग विज्ञानले अभ्यास गराउने पोज त्यही हो । मेरुदण्डलाई ठाडो बनाउनु, घुँडा टेकेर बस्नु, दुई हात जोडेर नमस्कार गर्नु, आँखा चिम्लनु यी सबै शरीर विज्ञान र मानसिक स्वास्थ्यसँग सम्बन्धित छन् ।

शिवरात्री किन मनाइन्छ ? तीजमा किन उपवास बसिन्छ ? किन तिर्थयात्रा गरिन्छ ? किन होलीमा रंगहरुको पर्व मनाइन्छ ? यी प्रश्नहरुको जवाफ ‘धर्म’सँग जोडिएर आउँदैन । यी त मौसमी चक्रसँग हाम्रो जीवनको लय मिलाउने विधी हुन् ।

पृथ्वीले सूर्यको एक फन्को लगाइरहँदा हामी प्रकृतिसँग तालमेल मिलाएर एउटा जीवन-चक्र सम्पन्न गर्छौं ।

हिन्दु मात्र होइन, ईशाई, मुस्लिम, बौद्ध सबैमा यस किसिमको पद्दति छ । त्यसो भए के हामीले ईशाई भए के फरक पर्छ ?

हिन्दु हुने कि ईशाई ?

हामी जुन भूगोल, हावापानी, रहनसहनमा उभिएका छौं, त्यस हिसाबले हाम्रो लागि अनुकुल नहुने मात्र हो । हिन्दु पद्दती छाडेर ईशाई हुँदैमा ‘पाप’ हुने होइन । न त ईशाई त्यागेर ‘हिन्दु’ हुँदैमा ‘सैतान’ हुने नै हो । हुने त यतिमात्र हो, मौसमी चक्र वा प्रकृति अनुरुप हाम्रो जीवनको तालमेल मिल्दैन ।

अहिले पृथ्वीको अर्को गोलार्द्धमा बसोबास गर्नेहरु क्रिसमस मनाइरहेका छन् । त्यहाँ हिमपातको समयमा लामो विदा हुन्छ । सोही विदामा उनीहरु कोणधारी बुट्यानमा अनेकथरी बिजुली, घण्टी आदि सजाएर रमाउँछन् । टर्कीको मासु खान्छन् । वाइन चियर्स गर्छन् । प्रकृतिको यो प्रतिकुलतामा उनीहरुका लागि यो जीवनलाई उमंगित तुल्याउने माध्यम हुन् ।

यसै मेसोमा बालबालिकालाई सद्मार्गमा लाग्न प्रेरित गर्दै भनिन्छ, ‘बर्षभरमा बच्चाले गर्ने व्यवहारलाई आकासमा बसेर सान्त क्लजले नियाल्छन् । अनि राम्रो काम गर्ने बच्चाका लागि क्रिसमसको रात सुटुक्कै ढोकामा आएर गिफ्ट छाडेर जान्छन् ।’ आधुनिक सभ्यताको उत्कर्षमा रहेको मुलुकले यो कथालाई आडम्बर भन्दैन । बरु बालबालिकाका लागि मार्गदर्शन र मनोरञ्जन मान्छन् ।

हामीकहाँ पनि दशैंमा यसरी नै फलनाको जस्तो यश राख्नु, फलाना जस्तो पराक्रमी हुनु भनेर आर्शिवाद दिइन्छ ।

क्रिश्चियनहरु खाना खानुअघि घुँडा टेकेर परमेश्वरलाई धन्यवाद दिन्छन्, खानाका लागि । हाम्रा पूर्खाले पनि खाना खानुअघि कृतज्ञ हुनु भनेर सिकाएका छन् । योग विज्ञानले खाना खानुअघि कृतज्ञ भावमा आनन्दित भएर खाना खानुपर्छ भन्छ । वास्तवमा यी सबै पद्दतीको सार एउटै हो, जीवनप्रति आशावादी हुनु । उत्साहित हुनु । कृतज्ञ हुनु । स्वस्थ्य हुनु । खुसी हुनु ।

पिके प्रश्न

‘यी सारा मानिस धर्मप्रति आस्था राखेर बाँचेका छन् । के उनीहरु सबै झुट हुन् ? यी सबै रंग नम्बर हो ? आज बताउ के हो राइट नम्बर ?’

स्वघोषित धर्मगुरुको यो प्रश्नको जवाफ पिके (आमिर खान)ले त्यती स्वतस्फूर्त दिदैन, जो अरुबेला दिने गथ्र्यो ।

 

पिकेको यो गम्भीरता, मौनतालाई धर्मगुरु आफ्नो विजय ठान्छन् । र, कुटिल मुस्कानका साथ प्रश्नमा जोड गर्छन्, ‘सबै झुट हो ?’

‘म मान्छु, भगवान छ । त्यही भगवानप्रति आस्थाले हामीलाई उत्साह मिल्छ । अप्ठ्यारा परिस्थितीमा जुध्नका लागि हिम्मत मिल्छ, सहास मिल्छ’ पिके सारमा भन्छन्, ‘भगवान छ भन्ने कुरा मान्छु । तर, भगवानको नाममा जग्गा ओगटेर, भवन खडा गरे, दुःखी गरिबलाई भेला गरेर तिमी जस्ता कथित धर्मगुरुले धर्मको व्यापार गरिरहेका छौ ।’

राजकुमार हिरानी निर्देशित फिल्म ‘पिके’को यो जवाफ मननयोग्य छ । धर्म, भगवान, ईश्वर, अल्लाह यी सबै हाम्रा आड-भरोसा, आस्था र उत्साह हुन् । बाँच्नका लागि हामीलाई उत्साह चाहिन्छ । जब उत्साह हुँदैन, हामी दिक्दारी, निरासा, बेचैनीले घेरिन्छौं ।

तर, धर्मको ढोंगमा ठेकेदारहरुले समाजमा डर, त्रास पैदा गरेका छन् । लोभ, मोह र भ्रमको जाल विच्छ्याएका छन् । त्यसैले हामीकहाँ धर्म परिवर्तन र धर्म विस्तारका नाममा हुने गतिविधिहरु सबै ‘धन्दा’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment