Comments Add Comment

नेकपा स्थायी कमिटीमा ओली र प्रचण्डले जवाफ दिँदै, संसदीय दलको बैठक पनि बोलाइयो

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि मिश्रति प्रतिक्रिया प्राप्त भएको महासचिव विष्णु पौडेलले बताए । राजनीतिक प्रतिवेदनको विशेषतः पूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेताहरुले आलोचना गरेका छन् । त्यस्तै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि प्रतिवेदन पुनर्लेखनको पक्षमा छन् ।

पूर्व एमालेभित्रको केपी ओली पक्षका नेताहरुले प्रतिवेदनका साथै सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन् । त्यस्तै पूर्व माओवादीभित्र प्रचण्ड र बादल निकट नेताहरुले पनि राजनीतिक प्रतिवेदनमा सुधार र सरकारको कामबारे प्रश्न उठाए पनि उनीहरु नेतृत्वको बचाउमा उभिएका छन् ।

जनार्दन शर्मा र देवेन्द्र पौडेल बाहेक सबै स्थायी कमिटीका सदस्यहरु बैठकमा सहभागी भएर आ-आफ्नो धारणा राखेको नेकपाले जनाएको छ । सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिवेदन आवश्यक सुझाव समेटेर पारित हुने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

विहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिने क्रम चलिरहेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । स्थायी कमिटी बैठकपछि आजै नेकपाको संसदीय दलको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment