Comments Add Comment

‘महेन्द्र र वीपीको भ्रममा बाँचेका छन् केपी ओली’

११ पुस, काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा फर्काउन महामन्त्री सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाहरुको कसरत चलिरहेका बेला कांग्रेस नेता डा.नारायण खड्काले कांग्रेसमा अब विरासतको राजनीति नचल्ने ठोकुवा गरेका छन् । उनले कोइराला परिवारका कुनै पनि सदस्यमा कांग्रेसको नेतृत्व गर्ने क्षमता समेत नदेखिएको टिप्पणी गरेका छन् ।

भारतमा नेहरु गान्धी परिवारले क्षमता र फराकिलो स्वीकार्यताका कारण कांग्रेस पार्टीको नेतृत्व गरे जस्तो नेपाली कांग्रेसमा कोइराला परिवारले त्यो स्तरको स्वीकार्यता स्थापित गर्न नसकेको दावी खड्कको छ । कोइराला परिवार र महात्वाकांक्षी नेताहरुको जमघटका कारण रामचन्द्र पौडेले शेरवहादुर देउवा विरोधी गुटको सर्वसम्मत नेता बन्न नसकेको समेत उनको दावी छ ।

तीन वर्षअघि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट केन्द्रीय कार्य समिति सदस्यमा निर्वाचित भएका डा.नारायण खड्का अहिले पौडेल पक्षका भेला बैठकहरुमा देखिन छाडेका छन् ।

वास्तवमा ओलीजीले मौका पाएको हो । दुई तिहाईको नेतृत्व गर्ने अवसर विपी कोइरालापछि ओलीलेनै पाएको हो । तर, उनले धेरै महत्वाकांक्षा देखाए । आफ्नो प्रचारमा बढी केन्द्रित भए । फोटो शहरमा टाँग्ने प्रोपोगाण्डाको भूत सवार भएको छ
उनी देउवा पक्षका भेलामा पनि देखिएका छैनन् । एक वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिटमात्र जित्दा डा. खड्काले एक सिट बढाएका थिए ।

राजनीति र अर्थशास्त्रका विज्ञसमेत मानिने डा. खड्कासँग कांग्रेसको पछिल्लो महासमिति बैठकका निष्कर्ष, कांग्रेसभित्रको आगामी समिकरण र सरकारविरुद्ध कांग्रेसको सम्भावित आन्दोलनका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ–

कांग्रेस महासमिति बैठकमा प्रधानमन्त्री केपी ओलीका बारेमा तपाईंहरुको मूल्यांकन के रह्यो त ?

अहिले प्रधानमन्त्रीजीको ग्राफ वास्तवमा निकै तल झर्दो क्रममा छ । उनी मानसिकरुपमा पनि अलिकति आत्तिएको जस्तो देखिएका छन् । उनका अभिव्यक्तिहरुले त्यो संकेत गर्दछन् । उनको फरक गुटका मान्छेहरुले लखेट्न खेद्न थालिसकेका छन् ।

एउटा कुरा म जोड्न चाहान्छु भने अहिलेको विश्व एकदमै पपुलिष्ट कार्यक्रम लिएर जाने, डेलिभरी दिन नसक्ने अनि पतन हुँदै जानेखालको देखिन्छ । हंगेरीमा त्यही भएको छ । फ्रान्समा इमानुयल म्याक्रोन राष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा लोकप्रिय मत पाएर जितेका थिए । तर, डेढ वर्षको दौरानमा यति तल झर्‍यो नि उनको ग्राफ, अहिले उनी मस्ट अनपपुलर प्रेसिडेण्ट बनेका छन् ।

अब अहिलेको समाज एकदमत्तै सुसुचित र उत्तेजित छ । उसले तुरुन्तै डेलिभरी चाहान्छ । यो कुरा हाम्रो छिमेकबाटै सिक्दा पनि हुन्छ । मोदीजीकै लोकप्रियता घट्दो छ । अहिलेको विश्वको ट्रेण्ड नै यस्तै छ ।
यो पनि पढ्नुहोस ‘कांग्रेसमा शेरबहादुरजी हट्नुपर्छ भन्ने च्याप्टर क्लोज भयो’

अब, आउने कुनै पनि सरकारले जे गर्न सकिन्छ ठिक्क बोल्ने गरिहाल्ने भयो भने हुन्छ । तर, खड्गप्रसादजीले धेरै ठूला कुरा गरेर भोट लिनुभयो । उहाँले ती सबै काम गर्न सक्ने अवस्था त छैन । त्यसैले उहाँको बोली र डेलिभरी मिलेन । अब ओरालो यात्रा शुरु भयो ।

तपाईको विचारमा ओलीजीको नियति के होला त ?

यिनको नियतिचाहिँ अब ५/६ महिना अरु यसैगरी तानिन्छन् । त्यसपछि आन्तरिक वातावरण यसरी पाक्दै जान्छ कि पार्टीभित्रै कर्नरमा पार्छन् । अहिलेनै पूर्वएमालेका नेताहरुले पुष्पकमललाई पावर हातमा दिइहाल्न पनि सकेका छैनन् । तर खड्गप्रसादलाई पावर चेक गर्नको लागि माधव नेपालहरुले माओवादीसँग तालमेल गर्न सक्छन् ।

माधव नेपाल कडा विकल्प होइनन् । कडा विकल्प पुष्पकमल नै हुन् । विस्तारै पुष्पकमलले पावर हातमा लिने अवस्था आउला । प्रचण्डलाई अलि–अलि बाह्य ब्याकअप पनि हुन सक्छ । अहिले भारत अर्को असार साउनसम्म आफ्नै चुनावमा व्यस्त हुने भएकाले बाहिर नहेर्ला ।

अहिले बाहिरी वातावरणले तुरुन्तै राजनीतिक परिवर्तन हुँदैन । तर, आन्तरिक वातावरणचाहिँ ओलीजीको विरुद्ध बनिरहेको छ । अबका दिनमा हेर्दै जाउँ । तर, उनको त्यति राम्रो हुने देखिन्न ।

केपी ओलीमा महेन्द्रको भूत सवार भएको भन्ने आरोप तपाईहरुले किन लगाउनुभएको ?

वास्तवमा ओलीजीले मौका पाएको हो । दुई तिहाईको नेतृत्व गर्ने अवसर विपी कोइरालापछि ओलीलेनै पाएको हो । तर, उनले धेरै महत्वाकांक्षा देखाए । आफ्नो प्रचारमा बढी केन्द्रित भए । फोटो शहरमा टाँग्ने प्रोपोगाण्डाको भूत सवार भएको छ ।

अर्को कुरा यी मान्छे कन्फ्युजमा छन् । वाह्य सम्बन्ध उनले सोचेजस्तो पनि भइसकेकोछैन । जनतालाई डेलिभरी दिन पनि सकेका छैनन् । वास्तवमा दुई तिहाइको वजनलाई उनले बोक्न सकिरहेका छैनन् । दुई तिहाईको भारले उनलाई बिस्तारै थिच्दै लगेको छ ।
यो पनि पढ्नुहोस सय थरी कांग्रेस, सय थरी ताल !

वीपीको त उनी छेउमै पर्न सक्दैनन् । वीपीसँग त उनको तुलनै हुन सक्दैन । तर पनि मैले नै गर्दा आएको त हो दुई तिहाई भन्ने परेको होला । अलि–अलि वीपी कोइरालाको करिस्म्या्टिक पनि मसँग छ भन्ने उनमा परेको होला । अर्कोतिर राजा महेन्द्रको राष्ट्रको राष्ट्रवावादी सोच पनि छ भन्ने होला । यसरी दुईटाको बीचमा म छु भन्ने भ्रममा यिनी बाँचिरहेका छन् जस्तो लाग्यो मलाई ।

अब कांग्रेस चाहिँ ओलीको पतन र नेकपाको पराजयमा आफ्नो उत्थान देखेर बस्ने कि आफ्नोभित्र पनि समीक्षा गर्नुभयो यो महासमितिमा ?

हामीले गत वैशाखभरि नै चुनावमा पराजयको समिक्षा गर्‍यौं । यो महासमितिमा त समिक्षाको कुरा थिएन । महासमितिमा केही साथीहरुले कुरा उठाउनुभयो । चुनाव हार्नमा हामी सबै कार्यसमितिका सदस्य जिम्मेवार हौं भन्यौं । तर, पनि यसमा साथीहरुले असन्तुष्टि जनाउनुभएको छ ।

वास्तवमा शेरबहादुरजीले भन्नुहुन्छ–आफू हार्ने अनि मैले हारको जिम्मा लिनुपर्ने ? सभापतिले नैतिक जिम्मेवारी त लिनुर्छ भनेको छु मैले । तर उहाँ त्यसको लागि तयार हुनुहुन्न ।

हिजो शेरबहादुर देउवालाई सभापति बनाउन सघाउने कृष्ण सिटौला र अर्जुननरसिंह केसीलगायतका नेताहरुले निकै ठूलो आरोप लगाएर उहाँलाई छाडेको देखिन्छ, कांग्रेसमा अबको सत्ता राजनीति फेरिन लागेको हो ?

यो बडो ठूलो समस्या हो । बैचारिक गुट नभएपछि यस्तो हुँदोरहेछ । शेरवहादुरजीले नयाँ आइडिया वा विचार लिएर समाजवादको विषय उठाएको भए वा धर्मकै कुनै मुद्दा बोकेर ती व्यक्ति जोडिएका भएदेखि त्यो बिचारले जोडि राख्थ्यो । जस्तो कि खुमबहादुरजीले हिन्दूत्वको बिचार बोकेका थिए । त्यहाँ पनि मान्छे अल्झिए । खुमबहादुरका जो थिए, ती रहिरहे ।

तर, यहाँ बिचार नभएकाले हिजो शेरवहादुरजीसँग जोडिँदा चुनाव जित्छु भन्ने लागेर उनीतिर गए । मन्त्री बन्न पाइन्छ भन्ने भयो । तर, जब व्यक्तिगत स्वार्थमा टकराव आयो, जिल्लाको राजनीतिको समीकरण बिग्रिएपछि गुट छाड्ने कुरा आउँदो रहेछ ।

त्यसोभए जिल्लाको मान्छेलाई प्रवक्ता बनाएर सिटौलाजी बिच्किए त ?

त्योभन्दा पनि उनको अरु गुनासो थियो जस्तो लाग्छ । चुनावमा टिकट दिने बेलामा मलाई समानुपातिकको लिष्ट पनि नदेखाउने ? को को समानुपातिकमा परे भनेर हामी जत्तिको नेताले पनि हेर्न नपाउने ? उनको यसमा प्रश्न थियो । पछि त के के भयो मलाई थाहा छैन । म व्यक्तिहरुको कुरामा जान चाहान्न ।

 

नेकपामा केपी ओली कमजोर हुँदै गएको भन्नुभयो, कांग्रेसमा पनि महासमितिसम्म आइपुग्दा शेरवहादुर देउवा कमजोर भए कि झन् बलियो हुँदैछन् ?

अहिले एउटा कुरा मैले बिचार गरेँ, महासमितिकै बीचमा पनि शेरवहादुरजीको धेरै खस्किसकेको थियो । निकै कचिंगल र असन्तुष्टि थियो । ७० अशन्तुष्टि शेरवहादुरलाई र ३० प्रतिशत रामचन्द्रलाई बोकाइराखेका थिए । तर, विधान घारघुर तरिकाले पारित गरेपछि उनले जुन चलाखीपूर्ण अभिव्यक्ति दिए, त्यसले ताली प्नि खाए ।

पार्टीमा विधान नै नआउने हो कि, झगडा गरेर यत्तिकै फर्किनुपर्ने हो कि भन्ने थियो । विधान पनि आयो । उनीहरुले भनेका एकदुईटा माग पनि पूरा भए । केन्दीय सदस्य तलबाट जानुपर्छ, पटक–पटक समानुपातिकमा त्यही व्यक्ति आउनु हुँदैन भन्नेमा शेरवहादुरजीले समर्थन जनाए ।

यी सबै घटनाक्रमले शेरवहादुरजीको फिगर जसरी झरेको थियो त्यसलाई पूरानै पोजिशनमा ल्याएको छ । बरु महासमितिले रामचन्दजीलाई अलि छायाँमा पारेको देखियो । जस चाहिँ शेरवहादुरजीले पाउने अवस्था देखियो । समग्रमा महासमितिले शेरवहादुर बलियो र रामचन्द्र छायाँमा परे ।

अहिले जसरी विधान पारित भयो धेरै पदाधिकारी राख्ने गरी, यसले शेरबहादुरलाई बलियो बनाएको हो र ?

यो विधानलाई त मैले गुटहरुबीचको सम्झौताको दस्तावेज हो भनेको छु । बढ्दै बढ्दै गएर यहाँसम्म पुग्यो । मैले आफूले कार्य समिति बैठकमा पनि भनेको छु– यो अति उदार हुने मान्छेहरुलाई राम्रो लाग्ला । दक्षिणपन्थी उदारवादीहरुलाई त रामा्रो लाग्ला । तर, व्यवहारिकरुपमा यो विधानलाई थेग्न गाह्रो हुन्छ । यसको व्यवस्थापन गर्न गाह्रो हुनेछ ।
यो पनि पढ्नुहोस महासमिति कि महाभद्रगोल ?

समावेशी राम्रो सिद्धान्त हो । तर, भोलि सभापति एउटा पक्षको र पदाधिकारी अर्को पक्षको हुने अवस्था आउँछ । सभापतिले कामै गर्न नसक्ने अवस्था आउँछ । प्यानलवाइज चुनाव हुन्छ र सभापति अल्पतमा पर्ने खतरा देखिन्छ । यसले समस्या खडा पार्ने देखिएको छ ।

बरु सभापति महाधिवेशनबाट सिधै निर्वाचन गरौं र अरु पदाधिकारी कार्य समितिबाट निर्वाचित गरौं भनेको हो । अब शेरबहादुरजीले को–कोसँग कुन कोठामा बसेर यो सम्झौता गर्नुभयो, मैले बुझेको छैन । वास्तवमा यो विधान पार्टीमा वृहत छलफल गरेर भन्दा पनि अँध्यारा कोठाभित्र बसेर आएको हुनाले यसले क–कसलाई अप्ठेरो पार्छ हेर्दै जाउँ । यद्यपि शेरबहादुरजीले यसमा पनि बाजी मार्नुभयो ।

त्यसोभए कांग्रेसभित्रको शेरबहादुर देउवा विरोधी गुट झन् कमजोर हुन्छ ?

वास्तवमा कांग्रेसभित्र शेरवहादुरजी आफ्नो गुटमा चुनौतिविहीन छन् । यतापट्टि अर्को गुटमा सबै महत्वाकांक्षीहरुको जमात छ । कोही विरासतका कुरा बोकेर आइरहेका छौं । हामी कोइराला हौं भन्दैछन् । लञ्चहरु चलेका छन् । मानिलिउँ कोइराला हौं भनेपछि सबै झुकिहाल्छन् भन्ने सोच देखिन्छ ।

विरासत बोकेर अघि बढ्नेवाला छन् । कोही हामी महामन्त्री भइसकेका हौं भन्ने पनि छन् । यी सबै जमात एकातिर छन् । अर्कोतिर शेरबहादुरजी उनको गुटमा सर्वसम्मत रुपमा छन् । अर्को गुटमा जो सभापतिको बलियो दाबेदार भन्छ, उसले सबैलाई सन्तुलन मिलाउनुपर्ने चुनौति छ ।

रामचन्द्र पौडेल अर्को गुटको नेता होइन र ?

नेता त हो । तर, एकले अर्कोलाई त्यहाँ टेर्दैन । विरासत, परिवार र पावरको कुरा छ । उहाँ अझै पनि छाड्ने मुडमा हुनुहुन्न । तर, त्यो ब्लकको सिंगो नेता उहाँ हुन सक्नुभएको छैन र सम्भव पनि छैन । त्यहाँ परिवारवादको कुरा पनि चर्को रुपमा आइसकेको छ ।

भारतमा गान्धी परिवारजस्तै नेपालका कांग्रेसभित्र कोइराला परिवारको विरासततै स्वीकार्य भइसकेको कुरा होइन र ?

भारतको प्रसंग अलि फरक छ । गान्धी परिवारको लिगेसी स्वीकार्य छ । मैले त भारतीय कांग्रेसको ८४ औं महाधिवेशन पर्यवेक्षक भएर हेरेँ पनि । त्यहाँचाहिँ माइनस राहुल गर्ने हो भने ठूला घाघडान नेताहरुबीचमै कसलाई मान्ने हो भन्ने समस्या आइहाल्यो ।

अहिले राहुल गान्धी सबैलाई बाइण्ड गर्नसक्ने देखिए । तर, त्यहाँ गान्धी परिवारजस्तो स्वीकार्य यहाँ हाम्रोमा कोइराला परिवार हुँदैन ।

यो पनि पढ्नुहोस कांग्रेसको आर्थिक बहसः दाइ महत ठीक कि भाइ ?

त्योखालको आकर्षण पनि छैन यहाँ उनीहरुमा । वीपी आफैंले पनि त्यो खालको परिवारवादको विरासतको कुरा गर्नुभएन । गिरिजाबाबुले धेरै गर्नुभयो । सकेसम्म परिवार स्थापित गर्न खोज्नुभयो । तर विरातसँगै क्षमता पनि भयो भने स्वीकार्य हुन्छ । क्षमता नभई विरासतमात्र भँजाएर हुँदैन ।

महासमिति बैठकबाट निस्कँदै गर्दा कांग्रेसले आन्दोलन गर्ने भनेको छ, अहिले आन्दोलन गरिहाल्नुपर्ने मुद्दा के छन् ?

यो सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने धेरैवटा मुद्दा छन् । अधिनायकवाद भन्ने कुरा त एउटा जार्गनमात्र हो । अहिले केपी ओली वा यो सरकार अधिनायकवादतर्फ जान सक्ने सम्भावना त देखिन्न । प्रधानमन्त्रीले बढिमात्रामा पावर हातमा लिन खोजे भन्ने कुरा छ । ५० अर्बमाथिका ठूला आयोजनाहरु सिधै प्रधानमन्त्री माताहतमा लैजाने लगायत गुप्तचर सम्बन्धी निकाय सिधै उहाँले सम्हाल्ने भनेपछि अलि शक्ति केन्द्रित भयो । त्यसले अधिनायकवादको ट्रेण्ड चाहिँ देखाउँछ ।

अहिले जुन हत्या र बलात्कारमा केसहरु धेरै आइरहेका छन् । महँगीका कुरा छन्, निजी क्षेत्र निराश भएको छ । कर्मचारीदेखि लिएर पुँजी बजारका मान्छेहरु पनि आन्दोलनमा छन् । यी सबै कुराको विरुद्ध सशक्त आवाज लिएर कार्यकर्तालाई अझ बढि सक्रिय र उर्जाशील बनाउँदै यो सरकारलाई दबाबमा पार्नुपर्छ भन्ने कुरा आएको हो ।

हामी कहिले सडक आन्दोलनमा जाने भन्ने सल्लाह गर्छौं । तर हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।

आन्दोलनचाहिँ नगरी नहुने के भाउँतो आइलाग्यो त ?

अब हेर्नुस् न धर्मकै कुरा आएका छन् । एशिया प्यासिफिक समिटका नाममा जुन गरियो यी सबैले गर्दा अस्थिरताको राजनीति होला जस्तो छ । यसका विरुद्ध त आन्दोलन गर्नुपर्नेभयो ।

यो समिटमा हिजो गिरिजाप्रसाद र कृष्णप्रसादहरु पनि भाग लिएर अवार्डेड भएका थिए, कांग्रेसले गर्दाचाहिँ ठीक हुने ?

यसको प्रक्रिया र नेचरमा फरक छ । हिजो गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अवार्ड दिए पनि पवित्र माता बोलाएर होली वाइन खुवाएका थिएनन् । पशुपति र बौद्धनाथको बीचमा यो कार्यक्रम गरिएको थिएन । हिजो शान्तिको नाममा गरेका हुनाले अज्ञानताका कारण उहाँहरु सहभागी हुनभएको थियो ।

मैले त किसुनजीलाई त्यतिबेलै पनि यो गलत कार्यक्रम हो भनेको थिएँ । उसको लक्ष्य नै एक सय वर्षमा सबैलाई क्रिश्चियन बनाउने हो । मलाई एकनाथ ढकालको संस्थाले दुई तीनपटक भाग लिनुपर्‍यो भनेको हो । कतिपयलाई योबारेमा थाहा छैन ।
यो पनि पढ्नुहोस केशवकुमार बुढाथोकीः कांग्रेसमा युवा नेता प्रभावकारी भएनन्

अहिले हाम्रो प्रधानमन्त्री लगायतका नेताहरुले यो बारेमा बुझ्नुपथ्र्यो । एशिया प्यासिफिक समिटमा अरु देशका महामहिम राष्ट्रपति,सरिकार प्रमुख बोलाउँदा आपत्ति भएन । तर, यसको पृष्ठभूमि राम्रो भएन । हाम्रा परम्परागत धार्मिक मान्यतालाई चुनौति दिने ढंगले आएको हुनाले यसको बिरोध गर्नुपरेको हो ।

हामी सबै धर्मको सम्मान गर्छौं । तर, प्रलोभनमा पारेर धर्म परिवर्तन गर्ने, हाम्रो परम्परात विपरीत होली वाइनका नाममा के–के गर्ने यो ठीक भएन । यसमा सरकार र नेकपाको सहभागिता देखियो ।

तपाईहरुको निष्कर्ष कम्युनिस्ट पार्टीले संस्थागत रुपमा क्रिश्चियानिटी बढाउन खोज्यो भन्ने हो ?

अझै पनि म उहाँहरुलाई त्यो आरोप लगाउन चाहान्न । जान अन्जानमा उहाँहरु यसमा सहभागी हुनभएको छ । टिकट फ्री पाइने, देश विदेश घुम्न पाइने, फाइभ स्टरमा बस्न पाइने भनेर पनि नेताहरुले विश्लेषण नगरी भाग लिएका पनि हुन सक्छन् ।

कांग्रेसको महासमितिमा यही मौकामा हिन्दूत्वको एजेण्डा ल्याउन तपाईहरुमाथि दबाव बढेको हो ? अझ महामन्त्रीले नै प्रस्ताव नै ल्याउने भन्ने थियो, के भयो ?

यसमा फेरि पनि प्रष्ट पारौं, हामी क्रिश्चियन धर्मको विपक्षमा होइनौं । राज्य नै सहभागी हुनुहुँदैनथ्यो त्यो सम्मेलनमा भन्ने मात्र हो । धर्म परिवर्तन रोक्नुपर्छ भन्ने हो । हिन्दू धर्मको एजेण्डा कांग्रेस महासमितिमा उठेको हो । तर, यो कुरा मञ्चबाट होइन, फ्लोरबाट आएको हो ।

हामीले कार्य समितिबाट पारित गरेर हिन्दूत्वको एजेण्डा लगेको होइन र अहिले आउँदा पनि आउँदैन । तलबाट यो कुरा आएको हो । ८० प्रतिशत हिन्दू भएको देश हिन्दू राज्य हुनुपर्छ भनेर तलबाट कुरा आउनु स्वाभाविक हो । तर, कार्य समितिमा यो प्रवेश गरेको छैन ।

भनेपछि कांग्रेसको कार्य समितिमा हिन्दूत्वको एजेण्डा प्रवेश गरेको छैन ?

केन्द्रीय सदस्यहरुका बिचार आउँछन् । तपाईले भनेजस्तो एकजना महामन्त्रीले पनि कता बाहिर यो कुरा राख्नुभयो । तर, महामन्त्रीले पनि आधिकारिक रुपमा यो कुरा उठाउनुभएको छैन । उहाँले अस्ति त धार्मिक स्वतन्त्रताको कुरा पो गरेको भन्दै हुनुहुन्थ्यो ।

वास्तवमा यो धार्मिक लफडामा परेर प्रधानमन्त्री खड्गप्रसाद ओलीजी आफैंले आफूलाई विवादमा तान्नुभयो ।
यो पनि पढ्नुहोस कांग्रेसकै वरिपरि सबै घुम्दैछन् : महेश आचार्य
यो पनि पढ्नुहोस वीपी, केपी र पुस १ ! फेरि अर्को वीपी चाहियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment