+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सय थरी कांग्रेस, सय थरी ताल !

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते ९:३३

४ पुस, काठमाडौं । धर्म निरपेक्षतालगायतका मुद्दामा नेपाली कांग्रेसका नेता कार्यकर्ता कसरी अल्मलमा परेका छन् भन्ने थाहा पाउन महासमिति सदस्यका कुरा सुन्दा प्रष्ट हुन्छ । पार्टीको लाइन स्पष्ट भएन र वैचारिक गोलचक्करमा फस्यो भने त्यसले गति लिँदैन भन्ने कम्युनिस्टहरुको ठम्याइ छ । तर, नेपाली कांग्रेसमा चाहिँ व्यक्तिपिच्छे फरक–फरक दृष्टिकोण पाइयो बैठक स्थलमा पुग्दा ।

राजधानीमा जारी महासमिति बैठक पूर्वनिर्धारित मितिअनुसार मंगलबार नै सकिनुपर्ने हो । तर, लम्बियो । नेताहरू आफू अनुकुलको विधान बनाउन रस्साकस्सीमा लागिरहेका बेला विभिन्न जिल्लाबाट आएका महासमिति सदस्यहरू भने बैठकस्थलमा आ–आफ्नै ध्याउन्नमा देखिन्थे । कसैलाई सेल्फी खिच्ने हतारो थियो त कोही आफन्तलाई पार्टी प्यालेसमा बोलाएर सुख–दुःखका गफ चुटिरहेका थिए ।

रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसको मूलगेटभित्र महासमिति सदस्यहरू मात्रै जान पाउने अर्को गेट बनाइएको छ । त्यहाँ महासमिति सदस्य हो कि होइन भन्ने सुनिश्चित गर्न तरुण दलका सदस्यहरू खटेका छन् ।

दोष सृष्टिमा होइन, दृष्टिमा छ भन्ने यसले देखाउँछ । कांग्रेसले पटक-पटक जातीय विभेद गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । तर, यो व्यवहारमा कार्यान्वयन भएको छैन

त्यो गेटकै मुखमा एउटा टेबल राखिएको थियो, जहाँ महासमिति सदस्यहरूले नाम, नम्बर उल्लेख गरेपछि हस्ताक्षर पनि गर्थे । तर, यो आयोजकले गराएको हाजिरी नभई हिन्दु राष्ट्र माग गर्नेहरूले संकलन गरेको हस्ताक्षर रहेछ ।

मंगलबार दिउँसो हामी त्यहाँ पुग्दा हस्ताक्षर गर्न नमान्नेलाई पूर्वसांसद शंकर पाण्डे सम्झाई बुझाई गरिरहेका थिए । पाण्डेले चार सय भन्दा बढीले हस्ताक्षर गरिसकेको र कम्तिमा ४० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिए ।

कतिले त प्रयोजन नै नसोधी हस्ताक्षर धस्काएका देखिन्थे भने कतिले पाण्डेको प्रतिवाद पनि गरे । हस्ताक्षर नगर्ने मध्येका एक थिए, महासमिति सदस्य वीरेन्द्र श्रेष्ठ । पाण्डेले पटक पटक हस्ताक्षर गर्न आग्रह गरेपछि श्रेष्ठले उनलाई प्रश्न गरे– ‘वीपी कोइरालाले हिन्दु राष्ट्र हुनुपर्छ भनेर कहिले भन्नुभएको थियो ?’

श्रेष्ठलाई मनाउन अनेक तर्क अघि सारिरहेका पाण्डेलाई हामीले सोध्यौं– यो हस्ताक्षर अभियान केका लागि ? हिन्दु राष्ट्र बनाउनैपर्ने कारण के हो ?

पाण्डेको भनाइ यस्तो आयो–

म टोपी र धोती लगाएर यो अभियानमा लागिरहेको छु !



राष्ट्रको पहिचान सम्पूर्ण देशवासीको पहिचानसँग गाँसिएको छ । आज पहिचानको मुद्दा अगाडि बढिराखेको छ । अनेकतामा एकता भएको यो मुलुकमा एकताभित्र अनेकता खोजिएको छ । अनेकता, वेमेल, भाई फुटेर कहिल्यै पनि विजय हुन सक्दैन । एकता, स्थिरता र राष्ट्रियताका लागि सनातन हिन्दु राष्ट्रय अपरिहार्य भएको छ ।

सनातन हिन्दु राष्ट्रलाई नेपाली कांग्रेसले नेतृत्व गरेर राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापना गर्न सकिन्छ । सनातन समाजवादी दर्शन र प्रजातान्त्रिक समाजवादमा कुनै भिन्नता छैन । संसारभरका दार्शनिक, राजनेताहरू सनातन सभ्यतातिर फर्किरहेका छन् । यसले गर्दा संस्कृत विषय अत्यन्तै लोकप्रिय भएर विश्वभाषाको रुपमा आउने तयारीमा छ । आँप, पीपल, तुलसी, वेल जस्ता वनस्पतिहरू सर्वाधिक लोकप्रिय हुँदैछन् । लोकन्मूख कामधेनु वंशका गाईहरू अत्यन्तै लोकप्रिय छन् ।

सनातन सभ्यतालाई बिर्सेर, भौतिकवादीहरूको पछि लागेर हिन्दु राष्ट्रलाई छोड्नु भनेको नेपाली कांग्रेसको आत्मघाती बाटो हो । कांग्रेस जस्तो पार्टीले हिन्दु राष्ट्रलाई दह्रोसँग उठाउन सक्नुपर्दछ ।

सनातन राष्ट्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिले विलासी जीवन बिताउन पाउँदैन । सनातन मान्यता अनुसार जनतालाई महलमा राखेर शासक झुपडीमा बस्नुपर्दछ । एक जना व्यक्ति भोको भयो भने हिन्दु राष्ट्र हुँदैन । एकजना नारीको अस्तित्व लुटिन्छ भने त्यो हिन्दु राष्ट्र हुन सक्दैन । हिन्दु राष्ट्रका शासकले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ । हामीले खोजेको सनातन हिन्दु राष्ट्र यस्तो हो ।

पार्टीको मौजुदा विधानमा ४० प्रतिशत महासमिति सदस्यले हस्ताक्षर बुझाएमा औपचारिक एजेण्डाका रुपमा राखेर भोटिङ गराउनुपर्छ । यो विषयमा भोटिङ भयो भने ९० प्रतिशत महासमिति सदस्यले हिन्दु राष्ट्रको पक्षमा मतदान गर्नेछन् । जनताको समर्थन लिन खोज्ने पार्टीले ९० प्रतिशत जनताको समर्थन प्राप्त यो मुद्दालाई छोड्न मिल्दैन । सनातन हिन्दु राष्ट्र कायम राखिनुपर्छ ।

हिन्दु राष्ट्रको अगाडि राजतन्त्र भन्ने विषय गौण हो । धेरै राजालाई जनतालाई फ्याँकेको कथा छ । नैतिक पतन भएका कसैले पनि हिन्दु राष्ट्रको नेतृत्व गर्न सक्दैन । चाहे त्यो राजा होस्, राष्ट्रपति होस वा प्रधानमन्त्री ।

संसदीय परम्परा पनि नैतिकताकै आधारमा चल्ने परम्परा हो । यो पनि सनातन हिन्दु परम्पराबाटै लिइएको यो व्यवस्था हो । आउने युग सनातन युग हुनेछ । २०६३ साल जेठ ४ गते धर्मनिरपेक्षताको घोषणा गरियो । त्यसदिनदेखि म निरन्तर यसको विरोधमा लागेको छु । संसदमा पनि मैले यसको विरोध गरेँ ।

०२७ सालमा नेविसंघको स्थापनाकालदेखि नै म कांग्रेसमा लागेको छु । तर, पार्टीले भौतिकवादीको पछि लागेर देशलाई धर्मनिरपेक्ष बनायो । म हिमालको टोपी, पहाडको भोटो र तराईको धोती लगाएर यो अभियानमा लागिरहेको छु ।

०३४ सालमा वीपी चढेको प्लेन पोखरामा ल्याण्ड हुन नदिएपछि मैले चप्पल लगाएको छैन । जुनदिन प्रजातन्त्र आउँछ, त्यही दिन चप्पल लगाउँला भनेको छु । मैले बुझेको प्रजातन्त्र भनेको सनातन हिन्दुराष्ट्र अनुसारको हुनुपर्दछ । सनातन दर्शनमा ब्रह्मा, विष्णु र महेश्वर छन् । जन्म दिएर मात्रै हुँदैन, पाल्नु पनि पर्छ, शिव भएर संहार पनि गर्नुपर्छ । कांग्रेसलाई हिन्दु राष्ट्रमा लैजान जीवनको अन्तिम क्षणसम्म पनि लागिरहन्छु ।

हिन्दुराष्ट्र बेमौसमी बाजा हो, कांग्रेस अब पूर्ण समानुपातिकमा जानुपर्छ

स्याङ्जा स्थायी घर भएका पूर्वसांसद पाण्डेका हिन्दुवादी कुरा सुनेपछि हामीले आदिवासी जनजाति समुदायका महासमिति सदस्यलाई भेट्यौं । हाम्रो सम्पर्कमा आए, इलामका प्रेमलाल चाम्लिङ ।

प्रेमलाल पुस्तेनी कांग्रेस हुन् । उनका बुबा तिलमान चाम्लिङ ००७ सालका क्रान्तियोद्धा थिए । ०४२ सालमा नेविसंबाट राजनीति शुरु गरेका प्रेम गत वर्ष सम्पन्न निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयरमा उठेका थिए ।

महासमिति बैठकमा आएका चाम्लिङ भने हिन्दु राष्ट्रको पक्षमा रहेनछन् । उनले हामीलाई आफ्नो धारणा यसरी सुनाए–

हामीले यतिबेला आएर हिन्दु राष्ट्रको कुरा गर्नु भनेको बेमौसमी बाजा बजाउनु हो । धर्मरिनपेक्षतामा जाने निर्णय स्वागतयोग्य छ । हिन्दु राष्ट्र हुँदा त्यसले धर्मान्तर पनि बढाएको थियो । वीपी कोइराला पनि एकल धर्मको पक्षमा हुनुहुन्नथ्यो । कांग्रेस जस्तो पार्टीले कुनै पनि हालतमा हिन्दु धर्मको पक्षमा लाग्नु हुँदैन । किनभने राज्यको धर्म हुनुहुँदैन । व्यक्तिलाई भने आफूले चाहेको धर्म मान्ने स्वतन्त्रता हुनुपर्छ ।

मेरा बुबा नै कांग्रेसमा हुनुहुन्थ्यो । मैले ०४२ सालमा शंकरदेव क्याम्पसबाट राजनीति शुरु गरें । पार्टीको जिल्ला उपसभापति बनेँ । हाम्रो परिवारलाई कट्टर कांग्रेसी परिवार भन्छन् । आदिवासी जनजातिका आन्दोलन भए । पहिचानवादी दल खुले । तर मेरो शुरुदेखिकै अडान के रह्यो भने यो देशका तमाम समस्याहरूले कांग्रेसले नै हल गर्नुपर्छ ।

स्थापनाकाल ताका कांग्रेस निकै समावेशी थियो । यसले जातीय, भाषा, क्षेत्रको प्रतिनिधित्वमा ध्यान दिएको देखिन्थ्यो । बीचमा क्रमभंग भयो । अहिले समावेशी बनाउन खोजेको देखिन्छ । तर, यो पर्याप्त छैन । किनभने कांग्रेस अब पूर्ण समानुपातिकमा जानैपर्छ ।

कांग्रेस जनताको भोटले नै ठूलो पार्टी बनेको हो । उनीहरू सम्बोधन गर्ने गरी पार्टीको नीति बन्नुपर्छ । जनताको भोट लिने तर उनीहरूको मुद्दाको सुनुनवाई गर्ने अवस्था किञ्चित आउन दिनुहुँदैन ।

पार्टीले विधानमै व्यवस्था गरेर आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, कर्णाली, अपाङ्गता भएका, अल्पसंख्यक समुदायको प्रतिधित्वको ग्यारेन्टी गर्नुपर्दछ । पार्टी टाठाबाठाको मात्रै भयो भने त्यो कांग्रेसकै लागि पनि दुर्भाग्यको कुरा हो ।

चाकडी चाप्लुसी गर्नेको हाईहाई हुने र इमान्दार तथा मिहेनती कार्यकर्ता बाईबाई हुने अवस्थाको अन्त्य गरिनुपर्छ । नातावाद हाम्रो पार्टीको अर्को समस्याको रुपमा आएको छ । यो समस्यालाई नेतृत्वले नै समाधानको पहल गर्नुपर्दछ ।

जनजातिहरू स्वभावैले सोझा हुन्छन् । हाम्रो जस्तो राजनीतिमा यस्तोखालको सोझोपन काम नलाग्दो रहेछ । कांग्रेसलाई अब धूर्तहरूको पार्टी होइन, सम्पूर्ण जातजातिको पार्टी बनाउन सक्नुपर्छ । यो पार्टी राजनीतिलाई व्यवसाय बनाउनेको हुनुहुँदैन । कांग्रेसलाई अब साँच्चै जनताको सेवा गर्नेहरूको पार्टी बनाउनु आवश्यक छ ।

‘कांग्रेस नेताका घरमा दलित कार्यकर्ताले बास पाउँदैन’

पाण्डे र चाम्लिङको कुरा सुनिसकेपछि हामीले पर्वतका डम्बर बिकसँग कुरा गर्‍यौं । प्राध्यापनमा लागेका उनलाई पार्टीले दलित समुदायलाई उचित सम्मान दिएको छैन भन्ने लागेको रहेछ ।

झण्डै १६ सयमध्ये महासमिति सदस्यमध्ये दुई प्रतिशत भन्दा कम दलित समुदायबाट प्रतिनिधित्व हुनुले पनि बिकको भनाइ पूरै असत्य भन्ने आधार थिएन । उनले अनलाइनखबरसँग आफ्नो धारणा यसरी राखे–

हाम्रा लागि धर्मभन्दा पार्टी ठूलो कुरा हो । तर, धर्मको मामिलामा हामी संघारमा छौं । हिन्दु हौं भन्यौं भने शुद्ध हिन्दु पनि मानिँदैन । क्रिश्चियन वा अरु धर्ममा जाने चाहना छैन । हामी वास्तवमै यता न उताका भएका छौं । तपाई आफैंले भन्नुस् दलितहरू हिन्दु राष्ट्रको पक्षमा लाग्ने कि विपक्षमा ?

नेपाली कांग्रेसलाई दलितको पार्टी भनिन्छ । चुनावका बेला दिनभरि नेताको भोट माग्न खट्ने दलित समुदायका कार्यकर्ताले साँझ सुत्न बास पाउँदैन । जुन नेताका लागि भोट मागिरहेको हुन्छ उसैले बास नदिएका थुप्रै उदाहरण छन् ।

दोष सृष्टिमा होइन, दृष्टिमा छ भन्ने यसले देखाउँछ । कांग्रेसले पटक-पटक जातीय विभेद गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । तर, यो व्यवहारमा कार्यान्वयन भएको छैन । कानूनी रुपमा छुवाछुट हटेको यतिका वर्ष भइसक्यो । त्यसैले मैले नीतिमा होइन नियत खराबी छ भन्ने गरेको हुन ।

सबै ठाउँमा छ भन्न खोजेको होइन । तर, २१ औं शताब्दीमा आएर पनि हामीले छुवाछुतकै विषयमा बहस गर्नु परेको छ । यो आफैंमा लाजमर्दो कुरा होइन र ?

तथाकथित दलित समुदायका साथीहरूलाई राजनीतिमा आउन विभिन्न चरण पार गरेर आउनुपर्ने हुन्छ । शुरुमा त उहाँहरूले सामाजिक बन्धन तोड्नुपर्छ । त्यसपछि आर्थिक । अनि मात्रै राजनीतिक प्रतिस्पर्धाको कुरा आउँछ ।

विधान बनाउने बेलामा साथीहरू प्रतिस्पर्धामा आउन कसले रोकेको छ र ? भन्छन् । क्रियासील सदस्यता भएका जोकोही नेता बन्न सक्छन् पनि भन्छन् । हाम्रा लागि यस्तो कुरा गर्नु भनेको हाँस्न जति पनि पाईन्छ तर मुख खोल्न पाइदैन भने जस्तै हो ।

त्यसैले कांग्रेसलाई दलितको पार्टी बनाउने हो भने हाम्रोलाई होइन, राम्रोलाई अवसर दिनुपर्दछ । दलित भित्रकै पनि अवसर नपाइएला भनेर आफ्नो मुद्दामा आँखा चिम्लने साथीहरू नभएको होइन । यसलाई मैले आन्तरिक समस्याको रुपमा लिएको छु ।

खासगरी दलित समुदायका युवाहरू कांग्रेसप्रति आकर्षित हुन सकिरहेका छैनन् । यहाँ आइसकेकालाई पनि टिकाउन गाह्रो छ । उनीहरूको स्वाभिमानमा कहाँ ठेस पुगेको छ भन्ने विषयलाई पार्टी नेतृत्वले गम्भीररुपमा लिनुपर्छ ।

‘गाछी छाडेर अन्त गइनँ’

जगन्नाथपुर–४, पर्साका रामदेवप्रसाद चौहानका लागि ‘मधेस कांग्रेस, कांग्रेस मधेस’ हो । बीएस्सी पढ्ने बेलादेखि चारतारे झण्डा समाएका ७१ वर्षीय चौहानले आफन्तहरू सारा मधेसवादी दलमा लाग्दा पनि रुखकै छहारीमा बस्न चाहे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका छिमेकी चौहानलाई घरमै आएर सांसदको टिकट र केन्द्रीय सदस्य दिने प्रस्ताव पनि आएछ । संसदीय समितिका सभापति लक्ष्मणलाल कर्णले पनि उनलाई मधेसवादी दलमा लाग्न ‘अफर’ गरेका रहेछन् । तर, उनलाई पूर्वकांग्रेसी बन्न मन लागेन ।

महासमिति बैठकस्थलमा आफ्नो कांग्रेस मोहबारे उनले यसरी प्रस्ट्याए–

भारतको मोतीहारीमा बीएस्सी पढ्ने बेलादेखि नै म कांग्रेसमा लागेको हुँ । त्यहाँ पढ्ने बेलामा आत्मराम ओझा, गोवद्र्धन मेहता, मेघराज शर्मा लगायतका साथीहरू थियौं । सबै नेपालीले समान अधिकार प्राप्त गर्छन् भनेर म कांग्रेसमा लागेको हुँ । प्रजातान्त्रिक समाजवाद भएपछि मधेस, पहाड, हिमालका जनता सुखी हुन्छन् भन्ने मान्यताले कांग्रेस बनेँ । किसान, गरिब जनताको पक्षमा काम गर्नका लागि आन्दोलनमा लागियो ।

मेरो क्षेत्रबाट तीनपटक रमेश रिजाल सांसद बन्नुभयो । हाम्रोमा मधेसी, पहाडीको भावना छैन भन्ने यसले पनि देखाउँछ । मलाई मसाल (संघीय समाजवादी फोरम) र छाता (राष्ट्रिय जनता पार्टी) का नेताहरूले घरमै आएर सांसदको टिकट लिन अफर गर्नुभएको थियो । हाम्रो पार्टीमा आएर केन्द्रीय सदस्य बन्नुस् भनेका थिए । तर, म गाछी छोडेर अन्त जान चाहिनँ ।

मेरो भदा मधेसवादी दलबाटै स्थानीय चुनाव पनि लड्नुभयो । धेरै आफन्तले मसाल र छातामा भोट हाल्छन् । तर, मलाई भने कांग्रेस बाहेक अरु पार्टीमा जानु छैन ।

०३६ सालमा भूमिगत भएर राजनीति गर्दा वीपी कोइरालाले बाबु डराउनु पर्दैन, दिन सबैको आउँछ भन्नुभएको थियो । यस्तो महासमिति बैठक, महाधिवेशन भएका बेला म वीपीले भन्नु भएजस्तो सबैको दिन कहिले आउँछ भनेर सोधिरहन्छु ।

किसानको पक्षमा, गरीबको पक्षमा, उत्पादन बढाउने कुरा पार्टीको ध्यान जान सकेको छैन । मधेसी, जनजाति, मुस्लिम, महिलालाई समेट्ने गरी विधान बनाउनुपर्छ । नागरिकताको समस्या र समावेशी समानुपातिकताको विषयलाई सम्बोधन गर्न सक्नुपर्छ ।

यो महासमिति बैठकले पार्टीको नेतृत्व युवा वर्गलाई दिने र पुराना नेतालाई अपर हाउसमा लैजाने निर्णय गर्नुपर्छ । पार्टीलाई युग सुहाउँदो बनाउन युवाको काँधमा जिम्मेवारी दिनुपर्छ । यति गरे मात्रै राष्ट्रियता बलियो हुन्छ, समाजवाद आउँछ ।

तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?