Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना कम गराउँदै ‘रम्बल स्ट्रिप’

११, पौष, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलका दुवैतर्फ राखिएका ‘रम्बल स्ट्रिप’ ले सवारी चालकको दिमाख त हल्लाएको छ नै यात्रुहरुलाई समेत तनाव दिने गरेको छ । रम्बल स्ट्रिपमा सवारी साधानको पांग्रा पर्दा हुने घर्रर घर्ररले धेरैको यात्रामा असहजता महसुस गरेका छन् । तर, नारायणगढ मुग्लिन सडक आयोजना र ट्राफिक प्रहरीले भने रम्बल स्ट्रिपका कारण सवारी दुर्घटनामा कमी आएको दावी गरेको छ ।

सडक फराकिलो तर पुल पुरानै साँघुरो हुँदा दुर्घटना बढ्ने खतरा बढेपछि सडक आयोजनाले पुलका दुवैतिर ‘रम्बल स्ट्रिप’ राखेको हो । सडकखण्ड ८ मिटरदेखि ११ मिटरसम्म फराकिलो छ । पुल भने पाँच मिटर फराकिलो छ । पुलका मुखमा दुवैतिर राखिएका यस्ता साना–साना स्पीड ब्रेकरका बारेमा यात्रुहरुको पनि मिश्रित धारणा पाइन्छ ।

गैंडाकोटका गोपाल बरालले सडकको मुखमा दुवैतिर यस्ता स्पीड ब्रेकर राख्दा दुर्घटना कम भएकोले अति नै उचित भएको बताए । भरतपुरका हिम्मत पुरी रम्बल स्ट्रिप आवश्यक भए पनि धेरै भएकोले समस्या भएको बताउँछन् । त्यसलाई जनाउन संकेत नराखिनु, साइज फरक–फरक हुनु र दूरी पनि फरक फरक हुँदा असहज भएको पुरीको भनाइ छ ।

सडकखण्डका सबै पुलको मुखमा राखिएका रम्बल स्ट्रिपमा सवारीसाधन पुग्दा घरर्र घरर्र आवाज आउँछ । यसले चालकलाई सहज बताउने र बाध्य भएर गति कम गर्नुपर्ने सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

‘सडकखण्डमा यात्रा गर्ने यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यस्ता रम्बल रम्बल स्ट्रिप राखिएका हुन्’, आयोजना सूचना अधिकारी खनालले भने, ‘सामान्य असहजता भन्दा ठूला दुर्घटना रोक्नु नै बुद्धिमत्ता हुन्छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले रम्बल स्ट्रिपले सवारी दुर्घटना कम गराएको बताए । यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ । सडकखण्डमा पर्ने १८ वटा पुलमध्ये ४ वटा निर्माणको क्रममा छन् भने बाँकी १४ वटा पुल निर्माणको प्रक्रिया थाल्ने चरणमा सडक विभाग रहेको छ । पुलहरु फराकिला बनेपछि यस्ता रम्बल स्ट्रिप सबै हट्ने चितवनका ट्राफिक प्रहरी प्रमुख गौतमले बताए ।

‘साना सवारी, एम्बुलेन्सहरुलाई केही असहजता त भएको छ तर मुख्य कुरा दुर्घटना नै कम गराएको छ’, गौतमले भने, ‘अन्यत्रबाट ओभरटेक गरेर गएका सवारी पनि पुलको मुखमा पुगेपछि सम्हालिने गरेका छन्, आलोपालो गर्ने गरेका छन् यो सकारात्मक पक्ष हो । ’

कतिपय रम्बल स्ट्रिपहरु सवारी लोडका कारणले थिचिएर पातलो बन्दै गएका छन् । चीन सरकारले सहयोगस्वरुप उपलब्ध गराएको केबल ब्यारियरले पनि दुर्घटना कम गराएको पाइएको छ । केही समय अघि त्रिशूली नदीमा खस्न ठिक्क परेको ३५ टनको ट्रकलाई यही केवल ब्यारियरले रोकेको थियो । ‘३५ टनको ट्रकलाई त त्रिशूलीमा खस्नबाट यसले जोगायो भनेपछि यात्रुवाहक बसलाई सजिलैसँग रोख्ने देखियो’, सडक आयोजना सूचना अधिकारी खनालले भने, ‘नारायणगढ मुग्लिन सडकखण्डमा गरिएको यस्तो प्रयोग सफल पाइयो, दुर्घटना अति जोखिम क्षेत्रमा पनि यसलाई प्रयोग गर्न सकिने देखियो ।’

नारायणगढ मुग्लिन सडकखण्डमा केबल ब्यारियर ‘नमूना’का रुपमा पाँच सय मिटर सडकमा प्रयोग गरिएको छ । ब्यारिएर रातको समयमा टल्किन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको साउन यता पाँच महिनाको अवधिमा नारायणगढ मुग्लिन सडकखण्डमा २७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment