Comments Add Comment

प्रधानाध्यापक सरुवाको विरोधमा प्रदर्शन, विद्यार्थी र प्रहरीबीच झडप

११ पुस, वीरगञ्ज । प्रधानाध्यापक सरुवाको विरोधमा माइस्थान विद्यापिठ माविका विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । जसका कारण विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ ।

हरिखेतान क्याम्पस, महानगरपालिका कार्यालय अगाडि र घण्टाघरमा भएको झडपमा परी केही विद्यार्थी र २ जना प्रहरी जवान घाइते भएका छन् ।

विद्यार्थीहरुतर्फ सोनु सिंह, सिदार्थ सर्राफ, रोहित चौरसिया, आन्त्री गुप्ता, सुरेश झालगायत घाइते भएका हुन् । प्रहरीको लाठी प्रहारबाट उनीहरुको हात खुट्टा, तथा ढाडमा चोट लागेको छ ।

विद्यार्थीको ढुंगा प्रहारबाट प्रहरीतर्फ पनि प्रहरी जवान कमल सुवेदी र मुकेश यादव घाइते भएका छन् । उनीहरुको कन्चटमा ढुंगाले लागेको छ ।

विद्यार्थीहरुले महानगरपालिकाको कार्यालय घेराउ गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । झडपका कारण आदर्शनगर क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । त्यहाँ उनीहरुले विरुवा जोगाउनका लागि बनाइएको ट्री गार्डहरुसमेत भत्काइदिएका छन् ।

विद्यार्थीहरुको भीडलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

विद्यार्थीहरुले आन्दोलनलाई समर्थन गर्न आग्रह गर्दै अन्य शैक्षिक संस्थाहरु बन्द गराउने प्रयाससमेत गरेका थिए । सोही क्रममा हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थी र आन्दोलित विद्यार्थीबीच पनि झडप भएको थियो ।

विद्यार्थीहरुले प्रधानाध्यापक मेहताको सरुवा फिर्ताको माग गर्दै आइतबारदेखि नै प्रदर्शन गर्दै आएका छन् ।

आन्दोलनमा नेपाली कांग्रेस निकट विद्यार्थी नेताहरुको उपस्थितिले अवस्थालाई झनै तनावग्रस्त बनाएको थियो । आन्दोलनमा नेविसंघका विद्यार्थी नेता सुधिर पटेल र विश्वास रञ्जन द्विवेदीलगायतको उपस्थिति देखिएको छ । विद्यार्थीहरुको आन्दोलन उग्र भएकोले आफूहरुले नेतृत्व लिएर अघि बढ्न लागेको पटेलले स्वीकार गरे ।

आन्दोलनलाई शान्त गर्न विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि पुनः आन्दोलन चर्किएपछि प्रहरीले विद्यार्थी नेताहरुलाई छोडेको छ ।

वीरगञ्ज महानगरपालिकाले गत बिहिबार ८ जना प्रधानाध्यापकको सरुवा गर्ने क्रममा वि.स.०६० सालदेखि माइस्थान माविमा कार्यरत विनोदकुमार मेहतालाई सुखचैना माविमा सरुवा गरिएको थियो । अन्य विद्यालयमा समस्या नदेखिएपनि माइस्थान विद्यापिठमा मात्रै समस्या देखिएको छ ।

माइस्थानमा माविमा अंग्रेजी माध्यममा समेत पढाइ हुँदै आएको छ । बिहान टिफिनसम्म राम्ररी पढाइ भएको भएपनि त्यसपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

शुरुमा सरुवा अटेर गरी विद्यालयमा आफैंले तालाबन्दी गरेका त्रिजुद्ध माविबाट सुरजीदेवि माविमा सरुवा भएका नविनकुमार मिश्रले बुधबार चिठ्ठी बुझिसकेका छन् ।

माइस्थानबाट सुखचैना माविमा सरुवा भएका प्रधानाध्यापक विनोदकुमार मेहता भने महानगरपालिकाको चिठ्ठी नबुझी भोट माग्नमा व्यस्त छन् ।

मेहता पुस १४ गते हुन लागेको शिक्षक महासंघको निर्वाचनमा नेपाल शिक्षक संघबाट नगर अध्यक्षमा उठेका छन् । उनले आफूले महानगरपालिकाको चिठ्ठी नै नपाएको दावी गर्दै आएका छन् ।

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले ८ जना मध्ये ७ जना प्रधानाध्यापकहरुले सरुवा स्वीकारेर गइसकेको बताएका छन् । ‘सरुवा भएका ८ जना मध्ये ७ जनाले चिठ्ठी बुझेर हाजिर गरिसक्नुभएको छ ।

‘माइस्थान विद्यापिठमा मात्रै समस्या देखिएको छ । सबैलाई सहज हुने उहाँलाई मात्रै असहज भन्ने हुन सक्दैन,’ उनले भने, ‘व्यक्तिगत फाइदाका लागि विद्यार्थीहरुको भविष्यमा असर पार्ने काम कसैले गर्न हुँदैन ।’ माइस्थान विद्यापिठका विद्यार्थीहरु कतैबाट परिचालित भएको ठहर महानगरपालिकाले गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा ९५ वटा समुदायिक विद्यालय छन्, जसमा ३० हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment