Comments Add Comment

राप्रपाको माग : ०४६ सालपछिका सबै मन्त्री र हाकिमको सम्पत्ति छानबिन गरियोस्

११ पुस, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग दुईवटा माग राखेको छ । पहिलो माग– ०४६ सालयताका प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीहरुको सम्पत्ति छानविन हुनुपर्ने । दोस्रो– फागुन ७ गतेदेखि हुन लागेको हिन्दु जागरण अभियानलाई सरकारले २० करोड रुपैयाँ दिनुपर्ने ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले संसदको हिउँदे अधिवेशनलाई सम्वोधन गर्ने क्रममा बुधबार यस्तो माग राखेका हुन् ।

संसदमा एकैछिन बसेर हिँडेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै लिङ्देनले भने– ‘मेरो कुरा प्रधानमन्त्रीज्यूले कहीँ सुन्दै हुनुुहन्छ, कसैले सुनाउने व्यवस्था छ भने सम्माननीय प्रधानमन्मन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु– ०४६ सालपछि भएका सबै प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु न्यायाधीशहरु, जिल्ला न्यायाशीससम्म र मन्त्रालयका सचिवदेखि विभागीय प्रमुखसम्मको सम्पत्ति छानविनको व्यवस्था गरौं ।’

लिङदेनले अगाडि भने– ‘खरदार, सुब्बालाई थुनेर मात्रै यो भ्रष्टाचार नियन्त्रण हुनेवाला छैन ।’

झापाबाट केपी ओलीकै साथ पाएर चुनाव जितेका राप्रपा सांसद लिङदेनले ओली सरकारको कडा आलोचना गर्दै भने– ‘प्रधानमन्त्रीबाट प्रतिवद्धता सुनेका थियौंं, म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न । अबको हाम्रो यात्रा समृद्धिको यात्रा हुनेछ । तर, आज सरकारी कार्यालयहरुमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न भन्ने बोर्डहरुमात्रै देखियो । म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्न भन्ने बोर्ड राखेर भित्र भ्रष्टाचार गरिरहेका मान्छे पक्राउ परिसके ।’

सरकारले विकासका नाममा कार्यकर्ताहरु पोस्ने काम गरिरहेको लिङदेनले आरोप लगाए । उनले भने– विकासले कुनै गति लिन सकेको छैन । तराई मधेस समृद्धिका नाममा एउटा कार्यक्रम गएको छ, स्थानीय सरकारलाई अधिकार दिइयो भन्ने तर केन्द्रबाट योजनाहरु तोकेर पठाउने र कार्यकर्ता पोस्ने खालका कामहरु भइराखेका छन् । हामी कहाँ गइराखेका छौं, कहाँ जाने भनेर हिँडेका थियौं ? कहाँ थियौं ? शान्ति सुरक्षाको स्थिति जहाँको त्यहीँ छ ।’

‘सबै जनप्रतिनिधिलाई क्रिश्चियन बनाइयो, हामीलाई २० करोड दिनोस्’

सरकारले क्रिश्चियनहरुको कार्यक्रममा मन्त्रीदेखि गाउँ नगरका प्रतिनिधिलाईसमेत सहभागी गराएर क्रिश्चियन बनाएको लिङदेनले आरोप लगाए ।

उनले भने– ‘दुई तिहाई बहुमतको नजिक पुगेर नेतृत्व गर्ने मौका पाउनुभएका प्रधानमन्त्रीज्यु ! पूरै देशलाई अघोषित रुपमा क्रिश्चियन राष्ट्र घोषणा गर्ने कार्यक्रममा सहभागी भएको र सरकार सहआयोजक भएको कुरा हामीले मन पराएका छैनौं, जनताले मन पराएका छैनन् ।’

लिङदेनले अगाडि भने– ‘त्यो कस्तो कार्यक्रम हो ? त्यो कार्यक्रममा देशको प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरु, प्रदेशसभाका सबै मन्त्री र सांसदहरु, गाउँपालिका÷नगरपालिकाका प्रमुख, उपप्रमुख र उनका श्रीमतीहरु सबैलाई एकै ठाउँमा बोलाएर उनीहरुलाई जिससकी छोरीले आशिर्वाद दिने र आशिर्वाद ग्रहण गर्ने यो कस्तो कार्यक्रम हो ?’

उनले प्रश्न गरे– ‘हामीले कुनै एउटा विदेशीलाई यज्ञोपवित गराउने र गायत्री मन्त्र धारण गरायौं भने त्यो हिन्दु भयो कि भएन ? त्यसैगरी देशभरका जनप्रतिनिधिलाई जिजससकी छोरीले आशिर्वाद दिएर होली वाइन खुवाएपछि उनीहरु क्रिश्चियन भए कि भएनन् ?’

सरकारले क्रिश्चियनको कार्यक्रमलाई १३ करोड दिएको भन्दै अब हिन्दुहरुको कार्यक्रममा पनि २० करोड दिनुपर्ने माग गरे ।

लिङदेनले भने– ‘सरकारले जनताको करबाट उठेको १३ करोड खर्च गर्नु अत्यन्तै दुःखदायी कुरा हो । सरकारले कुनै भ्रममा परेर यो कार्यक्रम गरेको रहेछ भने क्षमा याचना गर्नुपर्छ । सरकार यस्तो काममा लाग्ने हो भने फागुन ७ गतेदेखि मेरो पार्टी राप्रपाले हिन्दुराष्ट्र स्थापनाका लागि जनचेतना कार्यक्रमको सुरुवात गर्दैछ, त्यो कार्यक्रमका लागि २० करोड दिनुप¥यो, म लिखित माग लिएर आउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment