Comments Add Comment

चितवनका राजमार्गभन्दा भित्री सडकमा दुर्घटना धेरै

१२ पुस, चितवन । जिल्लाका राजमार्गभन्दा भित्री सडकमा अधिक सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चितवनको एक तथ्यांकले देखाएको छ । यो संख्या हरेक वर्ष बढ्दै गइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार विगत पाँच वर्षमा भित्री सडकमा मात्रै भएका दुर्घटनामा १५० भन्दा बढीको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७०/७१ मा १७, २०७१/७२ मा १३, २०७३/७४ मा १८ र गत आर्थिक वर्ष २०७४/७५ मा ४३ जनाको मृत्यु भएको छ ।

गत वर्ष भित्री सडकमा कुल ९० वटा दुर्घटना भएका थिए । १०९ जना घाइते भए । चालु आर्थिक वर्षको मंसिर महिनासम्म जिल्लाभरिमा भएका १३५ दुर्घटनामध्ये ५२ वटा दुर्घटना भित्री सडकमा भएका छन् । मंसिरसम्म भित्री सडकमा भएका दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते बनेका छन् ।

चितवन हुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ-मुग्लिन सडक गएका छन् । प्रहरीले दिएको जानकारी अनुसार २०७५ साउन यता मंसिरसम्म पूर्वपश्चिम राजमार्गमा भएका २७ वटा सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ भने, ५२ जना घाइते भएका छन् ।

यस्तै, नारायणगढ-मुग्लिन सडकखण्डमा भएको २७ वटा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् । भरतपुर नगर क्षेत्र भएका १९ वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते बनेका छन् ।

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेमा गाडीमा रहेका भन्दा सडकमा पैदल हिँड्ने धेरै छन् । त्यसमा मोटरसाइकल दुर्घटना अधिक छ ।

भित्री सडकमा सवारीको चाप अधिक बढ्दै गएको, अटो रिक्सा र मोटरसाइकल तीव्र गतिमा बढ्दै गएको, लाइसेन्सविना नै सवारी चलाउने गरिएको, जथाभावी बाटो काट्ने, मापसे गरेर चलाउने, सडक साँघुरा हुनु, ट्राफिक जनशक्ति सीमित हुँदा ग्रामिण सडकमा निगरानी गर्न नसक्दा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताए ।
ट्राफिक प्रहरीले राजमार्गलाई प्रमुख प्राथमिता दिएर सवारी जाँच गर्दछ । तर भित्री सडकमा भने ट्राफिकको उपस्थिति न्यून छ ।

ट्राफिक प्रहरीले सचेतनाका विभिन्न कार्यक्रम निरन्तर चलाउँदै आए पनि चितवनमा सवारी दुर्घटना भने बढ्दै गएको छ । ट्राफिक प्रहरी प्रमुख गौतमले मुख्य राजमार्गमा भन्दा पनि भित्री सडकमा दुर्घटना बढी हुने देखिएकाले यसतर्फ ट्राफिक प्रहरी सचेत भएको बताए । तीन पांग्रे गाडीको लापरवाही र मादक पदार्थ सेवन गरी सवारी चलाउने भएकाले भित्री सडकहरुमा दुर्घटना बढेको उनको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनमा दरवन्दी नै कम छ । अहिले जम्मा ४८ जना ट्राफिक कार्यरत छन् । ट्राफिक प्रहरीको जनशक्ति सवारी चाप, राजमार्ग र सडकको लम्वाइका आधारमा १ सयभन्दा बढी ट्राफिक प्रहरी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख गौतम बताउँछन् ।

चितवनमा राजमार्ग क्षेत्र ९३ किलोमिटर छ । यसबाहेक अन्य सडक २१ सय ८३ किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment