Comments Add Comment

बनेकै छैन कर्मचारी समायोजनको अनलाइन सिस्टम, हतारमा आवेदन आह्वान

१२ पुस, काठमाडौं । नेपाली समाजमा एउटा चर्चित उखान छ, हतारको काम लतार । यो उखान अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग ठ्याक्कै मिल्छ ।

बुधबार मन्त्री लालबाबु पण्डितले सबै सचिवहरुलाई साथमा राखेर कर्मचारीहरुको समायोजनको लागि अनलाइन आवेदन फारम खुला भएको घोषणा गरेका थिए । तर, मन्त्रालयले दिएको वेबसाइटमा आवेदन फारम भर्ने ठाउँ नै छैन ।

समायोजन फारम भर्नका लागि समायोजन डट जिओभी डट एनपी नामक वेबसाइट तयार पारिएको छ । त्यो वेबसाइट खोल्दा ‘कर्मचारी समायोजन प्रणालीमा स्वागत छ’ लेखिएको देखिन्छ । तर, त्यसमा अनलाइन फारम भर्ने ठाउँ नै छैन । समायोजन फारम भर्न नपाउँदा कर्मचारीहरु अन्योलमा परेका छन् ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले अनलाइन सिस्टम एक्टिभ हुन अझै तीन–चार दिन समय लाग्ने बताए । ‘डाटा अपलोडको काम भइरहेको छ । एक्टिभ हुन तीन–चार दिन लाग्ला जस्तो छ,’ उनले भने ।

यसअघि गत बुधबार मन्त्री पण्डितले पत्रकार सम्मेलन आयोजना गरेर २१ दिने म्यादसहित अनलाइन आवेदन फारम खुल्ला भएको घोषणा गरेका थिए । २१ दिने म्याद  अनलाइन सिस्टम एक्टिभ भएको दिनदेखि गणना हुने प्रवक्ता अधिकारीले बताए । उनले भने, ‘समायोजनको सन्देश जावस् भनेर हिजो पत्रकार सम्मेलन गरिएको हो । जहिलेदेखि अनलाइनमा फारम भर्न मिल्ने हुन्छ, त्यही दिनदेखि २१ दिनको पनि गणना हुन्छ ।’

स्रोतका अनुसार मन्त्रालयका कर्मचारीहरुले वेबसाइट तयार भइसकेपछि मात्रै पत्रकार सम्मेलन गर्नुपर्ने राय मन्त्रीलाई दिएका थिए तर, मन्त्रीकै दबावमा बुधबार नै पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

सामान्यको सूचना अधिकारीको फोन खानेपानी मन्त्रीको सचिवालयमा !

सामान्य प्रशासन मन्त्रालयको वेबसाइटसँग सम्बन्धित रोचक अर्को कुरा पनि छ । त्यो के हो भने मन्त्रालयको सूचना अधिकारीको भनेर दिइएको ल्याण्डलाइन फोनमा सम्पर्क गर्दा खानेपानी मन्त्रालयमा उठ्छ ।

सूचना अधिकारी रमेश न्यौपानेको ल्याण्डलाइन फोन भनेर वेबसाइटमा ०१–४२००६०३ नम्बर दिइएको छ । तर, त्यहाँ फोन गर्दा खानेपानी मन्त्रीको स्वकीय सचिवको कार्यकक्षमा उठ्छ ।

एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘सिंगो कर्मचारी प्रशासन सुधारको कुरा गर्नेले आफ्नो मन्त्रालयको यस्तो हविगत पनि सुधार गरुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment