Comments Add Comment

नेकपा बैठकमा ओलीको जवाफ: जनतामा वाहवाही छ, पार्टीमा आलोचना भयो

१२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको टिप्पणी गरेका छन् ।

केही दिनदेखि बस्दै आएको नेकपा स्थायी कमिटीमा बिहीबार ओलीले नेताहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । उनले २ घन्टा १० मिनेट सम्बोधन गरेका थिए तर, अधिकांश समय आफ्नो नेतृत्वको सरकारको प्रशंशामा खर्चिएका छन् ।

उनले पार्टीमा एकताको सन्देश दिनुपर्ने र विरोधीहरुको अपेक्षालाई असफल बनाउनुपर्नेमा जोड दिएका छन् । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको र अब प्राप्त गर्नुपर्ने केही नरहेको तथा नियतबस कुनै गल्ती नगरेको स्पष्टीकरण दिएका छन् ।

०५१ सालमा गृहमन्त्री हुँदा पनि आफ्नो कामको जनताले प्रशंशा गरेको र पहिलोपटक प्रधानमन्त्री हुँदा पनि जनताबाट वाहवाही पाएको उनले सुनाएका छन् । ‘अहिले पार्टीमा आलोचना भएको छ तर, जनतामा वाहवाही नै छ’, उनले भनेका छन् ।

उनले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूलाई हटाउन कोको लागेका थिए भन्ने पनि जानकार रहेको बताए । सरकारका मन्त्रीहरुले भ्रष्टाचार, अनियमिता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको दाबी गरेका छन् ।

निर्मला हत्या प्रकरणमा सुरुमा केही कमजोरी भए पनि अहिले प्रभावकारी रुपमा छानविन भइरहेको र आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाउने बताए ।

राम्रोसँग बिफ्रिङ नगर्नु र प्रतिवाद गर्न नसक्नु भने मन्त्रीहरुको कमजोरी भएको उनले बताएका छन् ।

आफू र प्रचण्डले असाधारण शक्ति प्रयोग गरेर भए पनि पार्टी एकता गर्ने निर्णय गरेको र यो ऐतिहासिक भएको बताए । यद्यपि सांगठनिक एकतामा केही ढिला भएको स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment