Comments Add Comment

हुवावेको आम्दानी १ खर्ब डलर नाघ्ने

पछिल्लो समय चीन र अमेरिकाबीचको व्यापार युद्धको तारो बनिरहेको चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हुवावेले वार्षिक आम्दानीमा छलाङ मारेको छ ।

सन् २०१८ मा हुवावेको कूल आयमा २१ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब डलर पुग्ने देखिएको छ ।

हुवावेका अध्यक्ष गुओ पिंगले नयाँ वर्षको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन् । उनका अनुसार यो वर्ष हुवावेले २६ वटा फाइभ जी कन्ट्रयाक्ट प्राप्त गरेको छ भने यो वर्ष हुवावेका स्मार्टफोनको बिक्री २० करोड गोटा पुग्नेछ ।

यो महिनाको सुरुमै हुवावेले आफ्नो वार्षिक आय १ खर्ब डलर नाघ्ने घोषणा गरेको थियो । विश्वभर २६ वटा व्यवसायिक फाइभ जी नेटवर्कको जिम्मा लिएको हुवावे सबैभन्दा ठूलो फाइभ जी भेन्डर पनि बनेको छ ।

स्मरण रहोस् हुवावे विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता हो भने दोस्रो ठूलो स्मार्टफोन बिक्रेता पनि हो ।

तर यसका डिभाइसमार्फत चीनले जासूसी गरेको भन्दै अमेरिका, अष्ट्रेलिया तथा न्युजिल्याण्डलगायतका देशले हुवावेका डिभाइसमा प्रतिबन्ध लगाएसँगै यो कम्पनीमाथि अन्तर्राष्ट्रिय दबाव बढिरहेको छ । तर हुवावेले भने आफूमाथि बेइजिङको कुनै प्रभाव नभएको बारम्बार दाबी गर्दै आएको छ ।

डिसेम्बरको सुरुवातमा कम्पनीकी प्रमुख वित्तीय अधिकृत साब्रिना मेंग अमेरिकी अधिकारीहरुको उजुरीका आधारमा क्यानडामा पक्राउ परेसँगै हुवावे कम्पनी पछिल्लो समय झनै चर्चामा आएको छ ।

७३ लाख अमेरिकी डलर धरौटीमा डिसेम्बर ११ मा मेंग रिहा भए पनि चीनले बदलास्वरुप दुईजना क्यानेडालीलाई पक्राउ गरेको थियो ।

एक समाचार अनुसार अमेरिकी कम्पनीहरुलाई चिनियाँ कम्पनीहरु हुवावे र जेडटिइले निर्माण गरेका विद्युतीय उपकरणहरु प्रयोगमा बन्देज लगाउने कार्यकारी आदेश ह्वाइट हाउसले जारी गर्ने तयारी गरेको छ । यसले हुवावे कम्पनीको आय तथा विश्व व्यापारमा धक्का लाग्ने अनुमान गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment