Comments Add Comment

बैंकर दाहालको जीवन कथा : सरकारी जागिर छाडेर यसरी भए सफल

१५ पुस, काठमाडौं । संसारका हरेका मानिसका आ–आफ्नै चाहाना हुन्छन् । सबैका सपना आ–आफ्नै छन् । तर, सबैका सपना पूरा हुन भने सक्दैनन् । कतिले कोशिस गरेर पनि पूरा गर्न सक्दैनन् त कतिले सपना पूरा हुने अपेक्षा गर्छन्, तर कोशिस गर्दैनन् ।

पेशाको रोजाइमा पनि मानिसका फरक–फरक ईच्छा छन् । कोही जागिरै खान चाँहदैनन् त कोही जागिरकै लागि मरिहत्ते गर्छन् । कसैलाई सरकारी जागिर मनपर्छ त कसैलाई बिजनेश । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने सरकारी जागिरमै बढ्दो आकर्षण छ ।

तर, कतिपय त्यस्ता व्यक्ति पनि छन्, जो पाइसकेको सरकारी जागिर छाडेर निजी क्षेत्रमा जागिर खानसमेत गएका छन् । जेहोस् अधिकांश नेपालीको चाहना भने सरकारी जागिरमै हुन्छ । सरकारी जागिर खाएपछि जिन्दगी बन्यो भन्ने भावना सबैको हुन्छ ।

यस्ता बाबुआमा बिरलै होलान्, जसले आफ्नो सन्तानले सरकारी जागिर खाओस भन्ने चाहँदैनन् । यति भन्नुको अर्थ चाहिँ हामी यस्तो व्यक्तिको सफलताको कथाबारे चर्चा गर्न खोज्दैछौं, जसले सरकारी जागिर छाडेर निजी क्षेत्रमा जागिर खाए । तर, पनि सफल व्यक्तिको पहिचान बनाए । उनी हुन् बैंकर– भुवन दाहाल ।

सिन्धुलीदेखि रौतहट हुँदै काठमाडौंसम्म

अहिलेका सफल बैंकर मानिने भुवन दाहाल ०२८ सालमा सिन्धुलीको भिमान भन्ने गाउँमा जन्मिएका हुन् । मध्यमवर्गीय परिवारका उनले बालापनका केही वर्ष सिन्धुलीमै बिताए ।

उनको औपचारिक शिक्षा पनि सिन्धुलीमै शुरु भयो । दाहालले कक्षा एक सिनधुलीमै पढे । तर, त्यसपछिको शिक्षा भने उनले सिन्धुलीमा लिएनन् । उनको परिवार तराईतिर बसाइँ सर्ने निधो गर्‍यो । ०३५ सालमा रौतहट जिल्लाको चन्द्रनिगाहापुर बसाइँ सरेपछि एक कक्षापछिको अध्ययन दाहालले रौतहटमै गरे ।

रौतहटमा २ कक्षामा भर्ना भएका उनले एसएसलीसम्मको अध्ययन सोही ठाउँमै गरे । तर, उच्च शिक्षाका लागि भने उनले रौतहट छाड्नैपर्ने बाध्यता आयो । घर नजिकै उच्च शिक्षा अध्ययन गर्ने कलेज नभएका कारण उनले काठमाडौं जाने विचार गरे ।

शिक्षाको गुणस्तर पनि राम्रो हुने भएकाले उच्च शिक्षाका लागि मुलुकको राजधानी नै सही भएको ठहर गर्दै उनी काठमाडौं आए । काठमाडौंमै उनले प्रविणता प्रमाणपत्र तह (प्लटू) हुँदै स्नातकसम्मको अध्ययन गरे ।

दाहाललाई मन पर्ने पेशा भनेको अध्यापन थियो । उनले शिक्षक नै उनले सपना देखेका थिए ।

शिक्षकमा पनि अंग्रेजी विषयको शिक्षक हुने दाहालको चाहाना थियो । जसका कारण उनले स्नातक तहसम्म अंग्रेजी र अर्थशास्त्र विषय लिएर पढे ।  उनले फाइनान्स विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरे । गाउँमा मान–सम्मान बढी हुने भएकाले पनि उनी अंग्रेजी भाषाको शिक्षक हुन चाहान्थे ।

‘गाउँमा प्रेम नारायण चौधरी नाम गरेको अंग्रेजी पढाउने शिक्षक हुनुहुन्थ्यो’ दाहाल स्मरण गर्छन, ‘त्यसबेला चौधरी सरले पाएको मान–सम्मान र वहाँको इज्जत प्रतिष्ठा देखेर म लोभिएँ, मलाई अंग्रेजी शिक्षक बन्ने इच्छा लाग्यो ।’

अंग्रेजी भाषाको शिक्षक बन्ने उद्देश्यले नै उनको उच्च शिक्षा पनि त्यसैतर्फ केन्द्रित भयो ।

‘पूरा भयो चाहाना मेरो…’

दाहालको मुख्य सपना नै शिक्षक हुने थियो । चाहे के हुँदैन र ? उनको चाहाना असीमित पनि थिएन । जसका कारण उनले अध्ययनरत रहेकै बेला आफ्नो चाहाना पूरा गरे । उनी शिक्षक भए । विद्यार्थीहरुलाई अंग्रेजी भाषा पढाए । काठमाडौंको जोरपाटीमा रहेको कुमारी इंग्लिस स्कूलमा शिक्षण पेशा अवलम्बन गरे ।

दाहाल एक वर्ष शिक्षण पेशामै रमाए । ‘मासिक ६ सय रुपैयाँ कमाउँथे’ आफ्नो पारिश्रमिक खुलेरै भन्छन् दाहाल । पारिश्रमिकभन्दा पनि उनी पेशामा सन्तुष्ट थिए ।

तर, आफूलाई मन परेको पेशामै लामो समय भने उनी टिक्न सकेनन् । ‘पेशामा म सन्तुष्ट थिएँ, तर पनि लामो समय शिक्षण पेशामा रहन सकिनँ’ दाहाल भन्छन् । उनलाई सरकारी जागिरतर्फ ध्यान गयो ।

राष्ट्रिय वाणिज्य बैंक र लोकसेवामा सँगै आवेदन दिएका दाहालको बैंकमा बैकल्पिक उम्मेद्वारको रुपमा नाम निस्कियो भने लोकसेवामा भने उतिर्ण भए ।


शिक्षण पेशामा लागिरहेकै बेला उनले लोकसेवा आयोगका विज्ञापनहरु हेर्न थाले । गोरखापत्रमा लोकसेवा आयोगको विज्ञापन देखे र खरिदार पदमा उनले आवेदन दिए । नभन्दै उनको नाम निस्कियो ।

दाहालको सरकारी सेवामा जुन दिन पोस्टिङ भयो, त्यो पनि अविष्मरणीय छ । उनी भन्छन्, ‘०४६ साल चैत्र २६ गते हाजिर हुनु भन्ने मैले पत्र पाएको थिएँ, जुन दिन बहुदल आयो ।’

त्यसबेला उनलाई पहिलो दिन हाजिर हुन जान नै समस्या भयो । काठमाडौंमा कफर््यू लागिरहेको थियो त्यसबेला । कर्मचारीहरुका लागि एक घण्टा खुलाइएको कर्फ्यूमा संसद सचिवालय पुगेर उनले नियुक्ति पत्र लिए । अनि, शुरु गरे उनले निजामति सेवा ।

तत्कालीन संसद कार्यालयमा उनको पोष्टिङ भयो । उनले केही वर्ष सरकारी सेवा गरे । यसमा पनि उनी लामो समय भने टिक्न सकेनन् । निजी क्षेत्रमा जागिर खानकै लागि उनले सरकारी जागिर नै छाडे ।

सरकारी जागिरमा अझै पनि आकर्षण छ । त्यसबेला त नहुने कुरै भएन । तर, पनि घरपरिवार कसैको सल्लाह नै नलिई उनले जागिर छाडे । ‘घरपरिवारसँग सल्लाह गरेको भए सायद अहिले म स्थानमा आइपुग्दिन थिएँ होला’ उनी भन्छन्, ‘मैले एकजना अग्रज गुरुलाई यो कुरा भनेको थिएँ, बाँकी कसैलाई पनि नभनी सरकारी जागिर जोड्ने शिघ्र निर्णय लिएँ ।’

सरकारी जागिर छाडेर बैंकिङ करियर

सरकारी जागिर खाएपछि भविश्य सुरक्षित बन्यो भन्ने भनाइ समाजमा हुँदाहुँदै पनि उनले सरकारी जागिर छाडे । सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो सेवा सुविधा । नेपाल सरकारको खरिदार पदमा जागिर खाँदा उनको तलब जम्मा १ हजार २ सय ४० रुपैयाँ थियो ।

तर, नबिल बैंकमा उनले सहायक पदमा जागिरका लागि आवेदन दिए । नविल बैंकले सहायक पदमा त्यसबेलै ३ हजार ३ सय ५० रुपैयाँ तलब दिन्थ्यो । त्यसमा राजधानी बाहिर जानेलाई थप ८ सय रुपैयाँ पनि ।

बिराटनगर शाखाका लागि नविलले कर्मचारी माग गरेको थियो । विराटनगर जाँदा उनले मासिक ४ हजार १ सय ५० रुपैयाँ तलवमात्रै पाउने भए । खाइरहेको सरकारी जागिर भन्दा ३ गुणा बढी तलव हुने भएपछि उनी त्यतातर्फ लागे ।

नभन्दै उनले ०४८ सालमा नविल बैंकको सहायक पदमा नाम निकाले । त्यहीँबाट शुरु भयो उनको बैंकिङ करियर । उनी स्नातक तह दोस्रो वर्षमा रत्नराज्य क्याम्पसमा अध्ययनरत छँदै नविलको बिराटनगर शाखामा जागिर खान शुरु गरे ।

उनको बैंकिङ करियर डिसेम्बर २६ देखि शुरु भएको थियो । अहिले पनि उनको मुखमै छ । कहिल्यै बिर्सन सक्दैनन् उनी त्यो समय । त्यही डिसेम्बर २६ देखि नै उनको सफलताको यात्रा शुरु भएको थियो । गत डिसेम्बर २६ अर्थात गत बिहीबारदेखि उनको बैंकिङ करियरको २७ वर्ष पूरा भएको छ ।

‘शुरुमा त काम गर्न साह्रै गाह्रो भयो’ उनी सम्झन्छन्, ‘आफू शिक्षक बन्ने चाहाना राखेको मान्छे बैंकतिर लागें, फेरि बैंकिङबारे धेरै ज्ञान थिएन मलाई, जसका कारण काम गर्न पनि गाह्रो भयो ।’

कामले काम सिकाउँछ भन्ने विषयमा दाहाल जानकार थिए । यसकारण पनि उनी आत्तिएनन् र निरन्तर काम गर्दै गए ।

नबिल बैंकमा ०४८ सालमा नियुक्त भएका उनले २ वर्षपछि सरुवा मागे । उनको काठमाडौं नै सरुवा भयो । बैंकिङ सम्बन्धी ज्ञान शुरुमा कम भए पनि उनले आफ्नो इमान्दारिता देखाए । इमान्दारिता नै उनको सफलताको उपहार बन्यो । काम शुरु गरेको ३ वर्षमै उनले अधिकृत हुने मौका पाए ।

त्यतिमा रोकिएनन् उनी । उनले इमान्दारिता घटाएनन् । कामप्रति सधंै उत्तदायी बने, जसको फलस्वरुप उनी बैंकिङ क्षेत्रमा प्रवेश गरेको ५ वर्षमै अधिकृत हुँदै वरिष्ठ अधिकृतमा बढुवा भए ।

दहालले काम गर्दै गए, सिक्दै गए । अन्ततः उनी अब्बल सावित भए । नभन्दै २७ वर्षको उमेरमा नै उनी सहायक प्रवन्धक भए । त्यसपछि प्रवन्धक, वरिष्ठ प्रवन्धक हुँदै सहायक महाप्रवन्धक (एजीएम) सम्म भए ।

दाहालको बढुवा रफ्तारमै भएको थियो । एजीएमसम्म भइसक्दा नविल बैंकमा उनकाे कार्यकाल दुई दशक पनि पुगेकाे थिएन । उनले करिब २२ वर्ष नविल बैंकमा बिताए ।

कान्छो वाणिज्य बैंकको सफल नेतृत्व

सानिमा बैंक नेपालको सबैभन्दा कान्छो वाणिज्य बैंक हो । विकास बैंक (ख वर्गको) बाट शुरु भएको सानिमा वाणिज्य बैंक बन्यो । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कान्छो वाणिज्य बैंक नै यहीँ बैंक हो ।

गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको सानिमा बैंक करिब ७ वर्ष अघि विकास बैंकबाट स्तरोन्नति भएर वाणिज्य बैंक बनेको हो । तर, दाहाल सानिमा बैंकमा साढे ५ वर्ष अघिमात्रै आएका हुन् ।

करिब २२ वर्ष नविल बैंकमा काम गरेका उनलाई त्यहाँको सेवा सुविधा चित्त बुझ्दो थियो । काम गर्ने वातावरण सबै ठीक थियो । तर, पनि उनलाई बैंकको नेतृत्व लिने चाहाना जाग्यो र सानिमामा आए ।

दाहाललाई बैंकको सीईओ बनाउने शर्तमा सानिमा बैंक सञ्चालक समितिले साढे ५ वर्ष अघि नियुक्त गर्‍यो  । दाहाल सानिमामा दोस्रो वरियतामा (सेकेन्ड म्यान) को रुपमा प्रवेश गरेका थिए ।

सीईओ हुन उनी केही वर्ष पर्खन पनि तयार थिए, तर धेरै समय पर्खिनु भने परेन । उनी सानिमा गएको ६ महिना पनि बित्न नपाउँदै बैंकका तत्कालीन सीईओ कुमार लम्सालले पदबाट राजीनामा दिए । लम्सालको राजीनामाले दाहाललाई बैंकको नेतृत्व लिने अवसर प्रदान गर्‍यो ।

अन्ततः बैंक सञ्चालक समितिले दाहाललाई ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्‍यो  । ४ वर्षे कार्यकाल पूरा गरेपछि पनि उनलाई बैंक सञ्चालक समितिले थप दोस्रो कार्यकालका लागि एक वर्ष अगाडि नियुक्त गर्‍यो  ।

तीन वर्षपछि बैंकबाट बिदा लिने तयारीमा

बैंकमा दाहालको कार्यकाल अझै ३ वर्ष बाँकी छ । बैंकिङ क्षेत्रमा २७ वर्ष काम गरिसकेका दाहाल वाह्य लगानी, जोखिम विश्लेषण र सञ्चालनमा राम्रो ज्ञान भएका बैंकरका रुपमा चिनिन्छन् ।

दाहालले सानिमा बैंकको नेतृत्व लिएको ५ वर्ष पूरा हुनै लागेको छ । जनवरी २०१४ मा उनी बैंकको सीईओ भएका थिए । दाहाललाई बैंकिङ क्षेत्रमा वौद्धिक र प्रभावशाली बैंकरका रुपमा लिइन्छ । दाहाल नेपाल बैंकर्स एसोसिएनसनको नीति निर्माणमा पनि सहभागी हुँदै आएका छन् ।

दाहालले बैंकको नेतृत्व लिएपछि धेरै सुधारका कामहरु गरेका छन्, जसका कारण पनि उनी सफल बैंकरका रुपमा यस क्षेत्रमा चिनिन्छन् । ग्राहकलाई सहज र सहज तरिकाले सेवा दिने प्रयत्न गरिएको तर अझै गर्न पर्ने धेरै रहेको उनी बताउछन् ।

सानिमा बैंक निरस्तर कम निस्कृय कर्जा कम रहेको बैंक पनि हो । टिम राम्रो भएको र कर्मचारी सबैले राम्रो काम गरेकाले बैंकको सकरात्मक दिशामा रहेको उनको दाबी छ । विभिन्न आधारहरुमा सानिमा बैंक अहिले पनि उत्कृष्ट १० (टप टेन) भित्र रहेको छ । अब बैंकलाई प्रविधिमैत्री बनाएर घरबाटै बैंकिङ सेवा लिन सकिने बनाउने सोच रहेको उनी बताउँछन् ।

आगामी तीन वर्षसम्म कार्यकाल बाँकी रहेका दाहाल त्यसपछि भने बैंकबाट बाहिरिने सोचमा छन् । ‘३० वर्ष पुगेपछि चाहिँ बैंकबाट बाहिरिन्छु’ २७ वर्ष बैकिङ क्षेत्रमा काम गरिसकेका उनी भन्छन्, ‘अब बैंकबाट रिटायर्ड लिएर आफूले चाहेको पेशातिर लाग्न सक्छु ।’

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार पनि अबको तीन वर्षपछि सानिमा बैंकको नेतृत्व दाहालले गर्न मिल्दैन । तर, अनुभवी दाहाललाई अन्य बैंकले अफर नगर्ने कुरै छैन । तथापि तीन वर्षपछि अफर आयो भने पनि अर्को बैंकमा गएर काम गर्ने सोच नरहेको उनी बताउँछन् ।

बैंकबाट बिदा लिएपछि दाहालको सोच पुस्तक लेख्ने पनि छ । किनकि उनी लेखक पनि हुन् । दाहाल र उनकी धर्मपत्नी सरिता पोखरेलले सन् १९९९ मा ‘अ ह्याण्ड बूक अफ बैंकिङ’ नामको पुस्तक लेखेका थिए । दाहाल पत्नी पोखरेल पनि बैंकिङ क्षेत्रमै आवद्ध छिन् ।

दाहालको नजरमा वर्तमान बैंकिङ

मुलुकको वर्तमान बैंकिङका विषयमा दाहालको धारणा सामान्य छ । नेपालको बैंकिङ क्षेत्र विकास हुने क्रममा रहेको उनी बताउँछन् । बैंकिङ क्षेत्रमा देखिदै आएको तरलता समस्याको दीर्घकालिन समाधानको उपाय भनेको आयात घटाउनु नै भएको दाहालको निश्कर्ष छ ।

आयातमुखी अर्थतन्त्र हुँदा मुलुकलाई धेरै समस्या रहेको भन्दै आयात घटाउनुको विकल्प नरहेको उनी बताउँछन् । विदेश भ्रमणलाई कम गरेर आन्तरिक पर्यटनतर्फ ध्यान दिनुपर्ने साथै विदेशी पर्यटक भित्र्याउनका लागि आवश्यक कामहरु गर्नुपर्ने दाहालको भनाइ छ ।

तपाईको नजरमा वर्तमान बैंकिङ ? भन्ने जिज्ञासामा दाहाल यसरी प्रस्तुत भए–

‘बैंकिङ क्षेत्र प्रतिस्पर्धी छ । बैंकका केही फटाइँ तथा कमजोरी पनि छन् । तर, अन्य क्षेत्रको तुलनामा बैंक धेरै ठीक छन् । अब नेपाली बैंकहरु प्रविधिमैत्री हुँदैछन् । संसारका धेरै बैंकिङ भन्दा हाम्रो बैंकिङ कमजोर छैन । बंगलादेश, बर्मा लगायतका देशमा गएको छु, त्यहाँका बैंक भन्दा नेपालका बैंकहरु धेरै अगाडि छन् ।

छिमेकी मुलुक भारतसँग नै तुलना गर्ने हो भने पनि हामी धेरै पछाडि छैनौं । छ्या भन्नुपर्ने अवस्था छैन । तर, दुःखको कुरा– युवा अवस्थामा नेपाली बाहिर जाने क्रम बढ्दो छ । मुलुक वृद्धाश्रम जस्तो भएको छ । सरकारले स्वरोजगार बनाउने उद्देश्यले विभिन्न योजनाहरु ल्याएको छ । त्यसको सदुपयोग गर्नुपर्ने आवश्यकता छ ।

लगानीयोग्य रकमको अभाव हुने समस्या अझै समाधान हुन सकेको छैन । नेपालजस्तो मुलुकमा यतिछिटै यो समस्या समाधन भइहाल्ने अवस्था पनि छैन । मुलुकमा स्थायी सरकार आएको छ, यसले लगानीको वातावरण बनेको र कर्जाको माग पनि भइरहेको छ । चाहे त्यो जुनसुकै क्षेत्रमा होस् । अहिले निक्षेपको भन्दा कर्जाको माग धेरै छ । निक्षेपले धान्ने अवस्थामा कर्जाको माग छैन ।

एक हिसाबले क्रेडिट क्रञ्च भएको बैंकहरुलाई राम्रो हो । बैंकमा भएको पैसा समयमा प्रयोग हुन्छ । सरकारले बजेट खर्च बढाउँदै जाँदा यसको समस्या समाधान हुँदै जानेछ । निजी क्षेत्र भनेको त्यस्तो हो, जसले नाफा कसरी कमाउनुपर्छ भन्ने सोचिहाल्छ । यसलाई नियमनकारी निकायले नियमनमा ध्यान दिनुपर्छ ।

अन्य नियमनकारी निकायभन्दा नेपाल राष्ट्र बैंक उत्कृष्ट छ । राष्ट्र बैंकले सुधारका लागि प्रयास गरिरहेको छ । अभिभावकले त सुध्रनका लागि आग्रह गर्ने हो, सुध्रने त सन्तान हो । त्यस्तै राष्ट्र बैंकले सुध्र भनेकै छ । सुध्रने चाहिँ हामी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment