Comments Add Comment

‘वीपीले जनै फाले, मलाई बाहुन सम्झाउने ?’

वाल्यकालमा म रामायण, महाभारत पढ्थें ।

जब म वीपीको संगतमा पुगें, त्यसपछि आ… यो बाहुन साहुन केही रैनछ, म त मान्छेमात्रै हो भन्ने लाग्यो । अहिलेसम्म म मान्छेमात्रै हुँ भनेर आइरहेको छु । तर, मलाई बाहुन सम्झाउने ? मैले प्रचण्डलाई पनि र उपेन्द्र यादवलाई पनि भनेको छु- मलाई बाहुन नसम्झाउनु है । म त मान्छे मात्रै हुँ ।

म त मान्छे मात्रै हुँ भनिरहेको मान्छेलाई अहिले आएर बाहुन सम्झाउने ? बाहुन-साहुन केही हैन, अब त मान्छेलाई मान्छेका रुपमा हेरौं न । त्यसपछि दीगो विकास गरौं । पछाडि परेकालाई अगाडि बढाऔं ।

मैले बुझेको वीपी कोइरालाबारे म तपाईहरुलाई एउटा कुरा सुनाउँछु ।

विसं. ०१५ सालको आम चुनावको बेला थियो । त्यो चुनावमा रिडीमा वीपी कोइराला जानुभयो । त्यहाँका सबै कट्टर बाहुनहरुले भने, ‘यो गोर्खा परिषदले जातफाला कांग्रेस भनेर बिछट्ट गरेको छ, वीपीले आज काली नदीमा नुहाउन जाँदा जनै लगाएर गइदिनुपर्‍यो ।’

बाहुनहरुले वीपीलाई असाध्यै कर गरे । र, जनै लगाइदिए ।

वीपी कोइराला पौडी खेल्न पनि सक्ने अग्लो मान्छे । कालीनदीको माझमा पुगेर उहाँले त्यो जनै पानीमा बगाइदिनुभो । र, त्यहाँबाट निस्किएर आएर भन्नुभयो- अब हेरौं, चुनाव हार्छु कि जित्छु !

नभन्दै त्यो क्षेत्रमा कांग्रेसले मात्रै जितेन, गोर्खापरिषदको नामै आएन, बरु कम्युनिस्टले पनि जित्यो । त्यो क्षेत्र सबै कांग्रेसले जित्यो । यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ । वीपीलाई यसरी बुझे हुन्छ ।
त्यसकारणले तपाईहरुले यसबारेमा चिन्ता नगर्नु होला कि हामी कुनै धर्मलाई बोकेर राजनीति गर्न चाहन्नौं । यो हाम्रो एजेण्डा हुन सक्दैन ।

संविधानले कुनै जातलाई शक्तिशाली बनाएको होइन । नेपालमा जातहरु शक्तिशाली भएका नेपाली समाजको चरित्रले हो । सामन्ती युगले जन्माएको विशेषता हो । सामन्ती युगका अवशेषहरु हुन् यी । यो हामीले ल्याएको होइन । ००७ सालदेखि कांग्रेसले जातीय विभेदलाई हटाउँदै आएको छ । ००७ सालमा कांग्रेसले गरेको के हो ? बाहुनले हलो जोतेर सुरु गरेको हो नि । छैन जातसात भनेर आएको हो ।

महासमितिमा र बाहिर धेरै साथीहरुले के के बोल्नुभयो । तर, हामीले निश्कर्ष कसरी निकाल्यौं भनेदेखि नेपाली कांग्रेस भनेको राजनीतिलाई धर्मसँग मिसाउने पार्टी होइन । नेपाली कांग्रेस भनेको दलितको पनि, जनजातिको पनि, मधेसी, अल्पसंख्यक, सबै जातजातिको पार्टी हो । कांग्रेसले सबै धर्मको संरक्षण गर्दछ । सबै विचारहरुकबो संरक्षण गर्न चाहन्छ । नेपाली कांग्रेस एउटा विचार, एउटा धर्म, एउटा सम्प्रदायलाई मात्रै बोक्न चाहँदैन भनेर हामीले ‘कन्क्लुजन’ गर्‍यौं । महासमितिबाट हामीले यो निचोड निकालेका छौं व्यक्ति विशेषका कुराहरु आफैंले जान्ने हो ।

ओलीको समाजवाद ठीक कि मेरो समाजवाद ?

म केपी ओलीहरुसँग तिमीहरुको समाजवाद ठीक हो कि मेरो समाजवाद ठीक हो भनेर बहस चलाउन चाहन्छु । र, मैले एउटा कुरो भन्छु- मैले धेरै सानैदेखि उहाँहरुसँग, विद्यार्थी आन्दोलनमा हुँदादेखि नै बहस गर्दै आएको छु । त्यसबेला जनार्दन आचार्य, महेशमान श्रेष्ठ भन्नेहरु थिए । वाचस्पति देवकोटा, गणेश पण्डित भन्नेहरु थिए । त्यस्तै खड्गबहादुर सिंह भन्नेहरुसँग हाम्रो बहस हुन्थ्यो । पछि वामदेव गौतमहरुसँग बहस भयो । भद्रगोल जेलमा आएपछि मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरुसँग बहस भयो । यी सप्पैसँग बहस गर्दैगर्दै आएको हुँ म ।

उहाँहरुले मलाई जेजे भन्नुहुन्थ्यो, मैले उहाँहरुलाई जेजे भन्थें, उहाँहरु जे कुराले मलाई बुर्जुवा भनेर सिद्ध गर्न खोज्नुुहन्थ्यो, आज उहाँहरु कता जानुभयो, म कता गएको छु ? मैले भनेको कुरा ठीक ठाउँमा रहेछ भन्ने कुरा मैले आज उहाँहरुलाई भन्न सक्छु ।

त्यतिमात्रै होइन, बर्नस्टिनदेखि लिएर रोजा लक्जम्बर्गदेखि लिएर बहस हुँदै आयो । आज के कुरा के भयो ? म यसबारे कम्युनिस्टहरुसँग बहस गर्न चाहन्छु । मेरो एउटा एजेण्डाचाहिँ यो हो ।

प्रचण्डजीहरुसँग, माधव नेपालजीहरुसँग मेरो छलफल हुन्थ्यो । म उहाँहरुलाई निर्धक्कसँग के भन्थें भने तपाईहरु ‘कन्फ्युज्ड’ हुनुहुन्छ र यो सारा समाजलाई ‘कन्फ्युजन’ मा पारिरहनुभएको छ । उहाँहरु आफैं भ्रममा हुनुहुन्छ । कहिले बहुदलीय जनवाद, कहिले नौलो जनवाद, कहिले के जनवाद भन्दै गएर अहिले फेरि एउटाले समाजवाद, अर्कोले जनवाद भनेर प्रचण्ड र केपी ओलीको आयो भनेर हिजोमात्रै पढें । यसरी दुनियाँलाई भ्रमित पारेर चल्दैन भन्ने मेरो भनाइ छ उहाँहरुप्रति ।

मैले बुझेको समाजवाद भन्नुहुन्छ भने फरक छ । त्यो के हो भने निमुखालाई न्याय, विपन्नलाई आय । निमुखा जनताले न्याय पाउनुपर्छ ।

समाजवादको कुरा गर्दा, हन्टिङटनले के भने भन्दाखेरि अब दुनियाँमा आइडियोलोजीको राजनीति किनारा लाग्यो र सांस्कृतिक द्वन्द्वको युग आयो । म हन्टिङटनलाई असत्य सावित गर्न चाहन्छु । ‘कल्चरल कन्पिm्क्ट’मा यो दुनियाँ गयो भने सोमालिया हुन्छ, रुवाण्डा हुन्छ । सिद्धान्तको राजनीतिमा गयो भने युरोप बन्छ । अब हामी युरोपतिर जाने कि ? समोलिया बन्ने कि यही नेपालमा बस्ने ?

मेरो महन्थ ठाकुरहरुसँग बहस हुन्थ्यो । उहाँ मधेस भन्नुहुन्थ्यो । म भन्थें, तपाईको मधेस डेमोक्रेसी नभई हुँदै हुँदैन । तपाई मधेसको जुन कुरा गर्दै हुनुहुन्छ, त्यसको आधार डेमोक्रेसी हो । हिजो पञ्चायतकालमा हामीले देखेका थिएनौं गजेन्द्रबाबुले साष्टङ्ग गरेको ? त्यसकारण लोकतन्त्र हुनुपर्छ । लोकतनत्र भनेको असली लोकतन्त्र हुनुपर्छ । अर्थात समाजवाद मिसिएको लोकतन्त्र । मैले बुझेको सच्चा लोकतन्त्र त्यो हो ।
समाजवाद उन्मुख भनेर हामीले संविधानमा लेख्यौं । यो संविधानसभा कांग्रेसको हो । सबैभन्दा पहिले वीपीले भन्नुभएको हो संविधानसभा । त्रिभुवन राजाको वक्तव्य त्यसबेला वीपीले लेख्नुभएको हो । त्यसकारण संविधानसभा कांग्रेसको हो, अरु कसैको होइन । पछि बिर्सेका हुन् कांग्रेसीहरुले । कांग्रेसभित्र पनि पछि काम नगर्ने, दरबारियालाई खुशी पार्ने प्रवृत्तिहरु विकसित भयो । तर, संविधानसभा नेपाली कांग्रेसकै हो ।
म अस्ति महासमिति चलिराखेका बेलामा सिधै तनहुँ गएर आएँ । तनहुँमा हामीले ५/७ वटा स्कुलहरु यस्ता बनाएका छौं, त्यहाँ बोर्डिङ स्कुलमा भन्दा धेरै राम्रो स्तरको पढाइ छ । बोर्डिङमा कोही जान चाहँदैनन्, त्यहाँको सत्यवती सामुदायिक स्कुलमा जान सबैको हानाथाप हुन्छ । मैले त्यो सत्यवती स्कुलको वार्षिक सभामा आउँछु भनेर प्रतिवद्धता गरेको थिएँ । त्यसैले म महासमिति बैठककै बेला तनहुँ पुगेर आएँ । यस्ता केही स्कुलहरु हामीले बनाएका छौं ।

मैले यो सरकारलाई भन्न खोजेको के हो भने तपाई समाजवाद उन्मुख हो भने तपाईले पहिले सबै सार्वजनिक विद्यालयको क्वालिटी यो स्तरमा पुर्‍याउनोस् । त्यो नै समाजवाद हुन्छ । क्वालिटीको शिक्षा र स्वास्थ्य जनतालाई दिऔं, समाजवादको प्रारम्भ त्यहाँबाट हुन्छ ।

नेपाली कांग्रेसले शिक्षालाई प्राथमिकता दिन खोजेको हो । खोज्दा खोज्दै पनि यहाँ कता के भो के भो ! अलिकति शिक्षामा कडाइ गरेर लान खोज्दा स्वार्थ समूहले त्यसको प्रतिकार गर्‍यो । तर, जनमत निर्माण गरेर हामीले त्यहाँ पुर्‍याउनैपर्छ । सामुदायिक विद्यालयहरुमा जब बोर्डिङ स्कुलमा भन्दा राम्रो पढाइ हुनेछ, त्यसपछि नेपालमा दुई वर्ग हुने छैनन् । दुईवटा नेपाल हुने छैनन् । एउटा शिक्षामा पहुँच हुनेको नेपाल, अर्को पहुँच नहुनेको नेपाल हुन्न । अब एउटै नेपाल बनाउनुपर्छ । अरु उपाय छैन ।

सरकारी विद्यालय दिल्लीमा कति राम्रो छ । जापानमा कति राम्रो छ सरकारी शिक्षा ? प्राइभेटभन्दा सरकारी स्कुल राम्रा छन् । नेपालमा चाहिँ किन गर्न सकिँदैन ? हामीले गर्नुपर्छ ।

देउवाजीको छायाँ सरकारले काम गर्न सकेन !

कांग्रेस कमजोर भयो, नेता बलिया भए तपाईहरुले भन्नुभएको छ । मेरो अर्थमा त सभापति बलियो हुँदा कांग्रेस कमजोर भयो । सभापति बलियो हुने, तर कांग्रेस कमजोर हुने यो हुँदैन भनेर हामीले सबै निर्वाचनमा जाने भन्यौं । सब सभापतिले मनोनित गर्ने पदाधिकारी रहँदैनन् । सबै चौधैजना पदाधिकारी निर्वाचित हुन्छन् ।

यो पार्टीलाई हामीले लोकतान्त्रीकरण गर्न खोजेका छौं र आन्तरिक लोकतन्त्रलाई हामीले साकार रुप दिन चाहेका छौं । यो प्रयोग हो । यो प्रयोग कस्तो हुन्छ, हेर्नु छ । यो कांग्रेसलाई चुनौती पनि हो । अब हुने सभापतिका लागि धेरै ठूलो च्यालेञ्ज पनि हो, कसरी ऊ आफूप्रति उदार भएर प्रस्तुत हुन सक्छ ? उसले मलाई कांग्रेसबाहेक अरु केही चाहिँदैन भन्न सक्छ कि सक्दैन ? सक्दैन भने ऊ फेल हुन्छ । असफल हुन्छ । त्यसैले यो एउटा प्रयोग नै हो ।

हामीले नेपाली कांग्रेसलाई लोकतान्त्रीकरण गर्न चाहेका छौं । र, आफूलाई लोकतान्त्रीकरण गरेर नेपाली समाजलाई लोकतान्त्रीकरण गर्न चाहन्छौं । र, समावेशीकरणको पनि हामीले दृष्टान्त दिएका छौं । केन्द्रीय समितिमा मात्रै नभएर लिडरसिपमा पनि हामीले सबैलाई समावेश गर्न काम गरेका छौं ।

प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । अब हाम्रो सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाएको, त्यो सरकारले काम गर्न सकेन ।

पार्टीमा कुनै पनि काम समयमा हुँदैन भन्ने छ । यो समयवद्ध काम हुनुपर्छ भन्ने मेरो साथीहरुसँग बहस हुन्छ । सुनौलो युगमा पुग्नका लागि कांग्रेसले समयवद्ध काम गर्नुपर्छ ।

नयाँ मतदातालाई के सन्देश दिन्छौ भनेर प्रश्न उठाउनुभएको छ । यो प्रश्नले मलाई रन्थन्याएको छ । म त के भन्छु भने राजनीतिमा धेरै विकृति आएको छ, अब राजनीतिलाई सिद्धान्तमा ल्याऔं । राजनीतिलाई अब आइडियोलोजीको बाटोमा ल्याउनुपर्छ ।

(कांग्रेसका बरिष्ठ नेता पौडेलले आइतबार साँझ राजधानीमा आयोजित लेखक/पत्रकारहरुसँगको छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment