Comments Add Comment

सन् २०१८ः ‘बलिउडकर्मीको बिहेको बर्ष’

सन् २०१८ आजबाट बिदा हुँदैछ । भोलीबाट नयाँ बर्षको उमंग छाउनेछ । नयाँ सोच, नयाँ जोशका साथ फेरि मानिसहरु अगाडि बढ्नेछन् । तर, यो बर्ष सकिदै गर्दा यसलाई फर्किएर हेर्न आवश्यक छ । यो बर्ष बलिउडका लागि बिहेको बर्ष नै रह्यो भन्दा फरक नपर्ला । बलिउडका चर्चित जोडीको बिहेले यो बर्ष ततायो ।

१. दीपिका–रणवीरः यो बर्ष बलिउडका सर्वाधिक चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणले बिहे गरे । इटालीमा बिहे गरेको यो जोडीले भारतका केही शहरमा भव्य पार्टीको आयोजना गरेको थियो । उनीहरुको इटालीमा आयोजना भएको महंगो बिहेको चर्चाले बजार गर्मायो ।

यो जोडीको बिहेले भारतीय मिडिया मात्र नभएर विश्वभरका मिडिया नै तातेका थिए । करिब ५ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । नोभेम्बर १४ र १५ तारिखमा यो जोडीले बिहे गरेको हो । बिहेपछि बल्ल यो जोडी हनिमुन मनाउन भारत बाहिर पुगेको छ । बलिउडमा राम्रो स्टारडम बनाएका दीपिका र रणवीरको बिहे यो बर्षको सबैभन्दा हट केक बिषय बनेको थियो ।

२. प्रियंका– निकः नायिका प्रियंका चोपडाले अमेरिकामा रहँदा नै आफू भन्दा कान्छा उमेरका गायक निक जोनशसँग प्रेम गरिन् । निक र प्रियंकाको प्रेम केही समय मिडियाका लागि मसला बनेको थियो । तर, उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई लामो समयसम्म अगाडि बढाएनन् ।

भारतमा नै आएर चोपडाले निकसँग हिन्दु र क्रिस्चियन परम्परा अनुसार बिहे गरिन् । बिहेपछि पनि उनीहरुले विभिन्न स्थानमा पार्टी दिए । निक र प्रियंका जोडी हट केक जोडीको रुपमा रहँदै आएको छ । यो बर्षको सर्वाधिक चर्चित बिहेमा प्रियंका र निकको पनि रहन पुग्यो ।

३. सोनम–आनन्दः नायक अनिल कपुरकी छोरी तथा बलिउडकी चर्चित नायिका सोनम कपुरले यो बर्ष आफ्ना प्रेमी आनन्द आहुजासँग बिहे गरिन् । आनन्द बलिउड भन्दा बाहिरी क्षेत्रका हुन् । व्यापार व्यवसायमा आवद्ध आनन्दसँग सोनम केहि बर्षदेखि प्रेममा थिइन् । उनीहरुको बिहे र पार्टीको खबर मिडियाका लागि लामो समय मसला बन्यो ।

४. नेहा–अंगदः यो बर्ष नायिका नेहा धुपियाले पनि बिहे गरिन् । तर, नेहाको बिहे गुपचुप रुपमा नै गरिएको थियो । बिहेपछि मात्र नेहाले बिहे गरेको जानकारी दिइन् । प्रेमी अंगद बेदीसँग नेहाले बिहे गरेकी थिइन् । उनले बिहे गरेको ६ महिनामा नै सन्तानलाई जन्म दिएकी थिइन् । पछि, अंगदले नेहा बिहे अगाडि नै गर्भवती रहेको खुलासा गरेका थिए ।

यसरी, यो बर्ष बलिउडका ४ चर्चित जोडीले बिहे गरेका छन् । बिहेपछि उनीहरु बलिउड यात्रा कसरी अगाडि बढ्नेछ, त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment