Comments Add Comment

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुँदै

१८ पुस, बुटवल । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (पर्यटन बजार) आयोजना गरिने भएको छ ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक जनवरी १० देखि १२ गतेसम्म लुम्बिनी र भैरहवामा ट्राभल मार्ट आयोजना गर्न लागिएको हो ।

मार्टमा विदेशी पर्यटन व्यवसायी (क्रेता) ५० जना र स्वदेशी पर्यटन व्यवसायी (बिक्रेता) ५० जना, विदेशी टुर गाइडहरुको सहभागिता रहने छ । यसका लागि हालसम्म १५ देशबाट ५० वटा निवेदन प्राप्त भइसकेको नाट्टा महासचिव रमेश थापाले जनाए ।

त्यसमध्ये हालसम्म उत्कृष्ट १० छनोट गरिएको छ । यीमध्ये अन्तर्राष्ट्रिय ट्राभल्स एजेन्सीलाई बढी प्राथमिकता दिइएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तब्यहरुको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न ट्राभल मार्ट आयोजना गरिएको पर्यटन मन्त्रालयका सचिव एवं ट्राभल मार्ट मूल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन लुम्बिनीको पवित्र उद्यानमा गर्ने छन् भने बीटूबी सेसनहरु भैरहवास्थित होटल टाइगर प्यालेसमा सञ्चालन गरिनेछ । कार्यक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित उच्चपदस्थ अधिकारीको सहभागिता रहने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न दुई करोड आठ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।

‘ट्राभल मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरुबीच सेवा तथा व्यापार विनिमयको अवसर श्रृजना गर्नेछ’, उनले भने, ‘मार्टका अवसरमा लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायतका स्थानमा विदेशी पर्यटन व्यवसायी र टुर गाइडहरुलाई अवलोकन गराइ पर्यटकहरुको बसाइ लम्ब्याउने रणनीतिमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ ।’ विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरुलाई एकै थलोमा जमघट गराउँदा पर्यटन व्यवसाय प्रबद्र्धनका लागि अनुभव आदान प्रदानसँगै पर्यटन व्यवसाय विस्तारमा सहयोग पुग्ने उनले बताए ।

बुद्धिस्ट मार्टको सुरुवात लुम्बिनीबाट हुनेछ । लुम्बिनीसँगै भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्त्वका स्थानहरुको विदेशी पर्यटन व्यवसायीलाई अवलोकन गराइने छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपराज जोशीले विदशी पर्यटकहरुको नेपाल बसाइ लम्ब्याउन मार्टले सकारात्मक भूमिका निर्वाह गर्ने दाबी गरे । ‘पर्यटकको बसाइ नलम्बिँदा पर्यटन क्षेत्रबाट सार्थक लाभ लिन सकिएको छैन’, उनले भने, ‘यो मार्टले बसाइ लम्ब्याउन योगदान गर्नेछ ।’

सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनसमेत कार्यक्रमले सहयोग गर्ने उनले जनाए ।

नाट्टाका वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईले कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने दाबी गरे । उनले बौद्ध पर्यटनको विश्वकै केन्द्र लुम्बिनीसहित नेपालका सबै गन्तव्यको व्यावसायिक विकासमा मार्टले टेवा पुर्याउने बताए । ‘मार्टले नेपाललाई पर्यटन बजारको विनिमय स्थलको लागि उत्कृष्ट गन्तव्य देश बनाउन सहयोग पुग्नेछ’, उनले भने ।

रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले लुम्बिनीसँगै बुद्ध जीवनीमा आधारित सबै क्षेत्रलाई जोडेर पर्यटन प्रबद्र्धन गर्नुपर्ने जनाए । उनले रामग्राम ओझेलमा परेको बताउँदै त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल संघ यूएटीएका अध्यक्ष सुनीलकुमार, भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र अस्ट्रेलियाका स्टेभ क्यारन्सले पर्यटन क्षेत्रबारे सम्बोधन गर्नेछन् । नाट्टा प्रदेश ५ का अध्यक्ष विष्णुप्रसाद शर्माले पश्चिम नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको मेलाले पर्यटनको विविधीकरण गर्न, सो क्षेत्रमा भएको पर्यटनको पुँजी लगानीलाई सुरक्षित गर्न सहयोग पुग्ने अपेक्षा लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment