Comments Add Comment

फिल्म क्षेत्रसँग मन दुखाउँदै मुम्बई हानिएकी निरुता

सानैदेखि नाच्न मन पराउने निरुता सिंहको एक मात्र सपना थियो, तुलसी घिमिरेको चलचित्रको हिरोइन बन्ने । अफिसको कुर्सीमा बसेर काम गरौंला भन्ने त उनले सोचेकी पनि थिइनन् । उनलाई दिनभर अफिस बसेर काम गर्ने भनेको सुन्दा पनि दिक्दार लाग्थ्यो । निरुता भन्छिन्–‘मलाई अफिसमा बसेर काम गर्छु भन्ने अलिकति पनि थिएन । सानैदेखि हिरोइन बन्ने सोच पालेको थिए । आखिर मेरो सपना पूरा पनि भइदियो ।’

निर्देशक तुलसी घिमिरे र निरुताको परिवारमा राम्रो चिनजान थियो । एकदिन तुलसीले निरुताको अंकलसँग आफू ‘दक्षिणा’ नामक चलचित्र बनाउन लागेको र आफूलाई नायिका चाहिएको बताए । निरुताको अंकलले निरुतालाई देखाइदिए । तुलसीले निरुताको फोटो हेरे । फोटो हेरेपछि तुलसीले निरुतालाई स्क्रिन टेस्ट गर्न बोलाए । निरुताले स्क्रिन टेस्ट पनि दिइन् । सबैले उनलाई राम्रो भने ।

जब तुलसीले ‘ल हुन्छ’ भने, निरुतामा खुसीको सिमा थिएन । निरुता सम्झिन्छिन्–‘मेरो सपना नै तुलसी घिमिरेको चलचित्रमा काम गर्नु थियो । त्यो सपना पूरा हुदा खुशी नहुने कुरै भएन ।’ तर निरुतामा मनको एउटा कुनामा डर पनि थियो । ‘काम गर्न सक्दिन होला, मलाई चलचित्रबाट पक्कै पनि निकालिदिन्छन्’ भन्ने डर पलाएको थियो । त्यो डरले गर्दा पनि उनले आफू चलचित्र खेल्न लागेको कसैलाई भनेकी थिइनन् । उनी भन्छिन्–‘सुटिङको बेला श्रमण दाई मलाई लिन जानु भएको थियो । त्यो बेलासम्म पनि मैले कसैलाई भन्ने आट गरेको थिइनँ ।’

जब सुटिङ सुरु भयो, उनले पहिलो दृश्य एकदमै राम्रो गरेको टिमबाट प्रतिक्रिया पाइन् । उनले त्यहाँ ‘बाबा’ भन्दै रुनु पर्ने दृश्य थियो । उनी हास्दै भन्छिन्–‘राम्रैसँग रोइएछ कि भन्ने लाग्यो । सबैले कामको तारिफ गर्नुभयो ।’ उहाँहरुले गर्न सक्छौ भनेपछि ममा पनि आत्मविश्वास बढेको थियो ।’ उनले पहिलो दिनको सुटिङ सकिएपछि मात्र अरुलाई आफूले चलचित्र खेल्न लागेको सुनाइन् ।

‘दक्षिणा’ निकै सफल भयो । यस चलचित्र पश्चात् उनलाई धेरै निर्माता–निर्देशकले आफ्नो चलचित्र खेलाउन खोजे । तर, कोहि पनि सफल भएनन् । उनी भन्छिन्–‘दक्षिणा पश्चात् मलाई धेरै चलचित्रको अफर आएको थियो । तर मेरो बाबालाई म हिरोइन बनेको राम्रो लागेको थिएन । उहाँले नै तुलसी दाईको भन्दा अरु चलचित्रमा काम गर्न दिनुभएन ।’ ‘दक्षिणा’ पश्चात् उनले तुलसी घिमिरेकै चार वटा फिल्ममा काम गरिन् ।

तुलसीको चार चलचित्रमा अभिनय गरिसकेपछि उनलाई बाहिरी ब्यानरबाट अत्याधिक चलचित्रको अफर आयो । तर बाबाले उनलाई बाहिरी चलचित्र गर्न दिएका थिएनन् । पछि तुलसीले सम्झाएपछि मात्र उनका बाबाले निरुतालाई अरु प्रोजेक्टमा काम गर्न दिएका थिए । निरुताले तुलसी क्याम्पबाट बहिरिएर पहिलो चलचित्रका रुपमा ‘ठुल्दाई’मा काम गरेकी थिइन् ।

करियरमा फर्केर हेर्न परेन
निरुता कुनै समय यति व्यस्त नायिका भइन् कि, उनलाई चलचित्रमा खेलाउन जो कोहि निर्माता–निर्देशक उनले दिएको समय कुर्न तयार हुन्थे । दर्शकमाझ पनि उनको क्रेज खुबै थियो । जब उनले चलचित्र ‘दर्पण छाया’मा कम गरिन्, उनको क्रेज झनै बढ्यो । निरुता भन्छिन्–‘म कहिल्यै खाली हात बस्नु परेको थिएन । बरु मेरै लागि भनेर बन्न लागेका कतिपय चलचित्रमा मैले काम गर्दिन भनेर अस्विकार गर्नुपरेको थियो ।’

निरुताले झन्डै एक दशक नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरिन् । उनले त्यस समयमा नै निकै राम्रो पारिश्रमिक लिने गर्थिन् । उनले सो समयमा चलेका नायक बराबरको पारिश्रमिक लिने गरेको चर्चा अहिले पनि चल्ने गर्छ ।

प्रतिस्पर्धी नभए राम्रो काम गर्न सकिन्न
निरुताको यूगमा उनको प्रतिस्पर्धीको रुपमा नायिकाद्धय बिपना थापा र जल शाहलाई हेर्ने गरिन्थ्यो । निरुता पनि यो कुरालाई स्विकार्छिन् । उनि भन्छिन्–‘सबैले हामीलाई प्रतिस्पर्धी भनेर तुलना गर्नुहुन्थ्यो, सायद त्यो थियो पनि होला । तर मैले कहिल्यै उहाँहरुलाई नराम्रो गरेर आफू अगाडि बढ्छु भनेर सोचिन् ।’

निरुता प्रतिस्पर्धीबाट आफूले सिक्नुपर्ने बताउँछिन् । उनले भनिन्–‘बजारमा आफू भन्दा उनीहरु माथि आएको मुल्यांकन भएको खण्डमा, मैले किन माथि आए भनेर खोज्ने गर्थे र उनीहरु भन्दा राम्रो गर्न खोज्थेँ ।’ निरुता प्रतिस्पर्धी नभए राम्रो काम गर्न नसक्ने बताउँछिन् ।

निरुता रुँदा निर्माता हास्थे
निरुता सिंहलाई प्राय चलचित्रमा दर्शकले रोएकै भूमिकामा पाउथ्य । निरुताले अभिनय गर्ने भन्नेवित्तिकै चलचित्र लेखकले उनलाई रुवाउने दृश्य लेखिहाल्थे । निरुतालाई ‘रुन्ची’ हिरोइनको ट्याग समेत लागेको थियो । ‘म हरेक चलचित्रमा रुन्थे, कारण मेरो भूमिका नै त्यस्तै हुन्थ्यो । निरुता थप्छिन्–‘त्यो बेला एउटा भनाई नै थियो कि, निरुता रुदा, निर्माता हाँस्छन् । त्यही भएर पनि मलाई चलचित्रमा खुबै रुवाइन्थ्यो ।’

निरुताले चलचित्रमा रुँदा, मायालु दृश्यमा काम गर्दा दर्शकको मन पनि पग्लिन्थ्यो । यसैले त उनलाई दर्शकले आफ्नै घरको लक्ष्मी, बुहारी सोच्न थालिसकेका थिए । निरुता भन्छिन्,–‘कलाकारको रुपमा भन्दा पनि आफ्नो परिवारको सदस्य सम्झेर मलाई दर्शकले माया गर्नुहुन्थ्यो । त्यो मेरो रुवाईको सफलता हो ।’

सधै रोएको मात्र दृश्य गर्दा निरुता पनि एकहोरो भैसकेकी थिइन् । उनलाई फरक भूमिकामा काम गर्न मन लाग्थ्यो । तर, उनी रुँदा आफू हास्न पाइने सोच निर्मातामा हुँदा उनले भूमिका परिवर्तन गर्न सकिनन् । सधै एउटै भूमिकामा उनी सिमित बन्नुपर्यो । उनी संझदै भन्छिन्–‘दर्शकले म रोएको नै मन पराउनु हुन्थ्यो । यहीकारणले मैले अरु भूमिका नै गर्न पाइन ।’

मुम्बई किन ?
चलचित्र क्षेत्र राम्रो भइरहँदा अकस्मात निरुताले यो क्षेत्र छाडिन् र मुम्बई हानिइन् । उनी चलचित्र क्षेत्र छाड्नुको कारणबारे भन्छिन्–‘मैले यो क्षेत्र छोड्नुको मुख्य कारण यो पवित्र स्थानलाई अपहेलना गरेर स्वार्थका लागि मात्र धेरै मानिस आउनु हो । उहाँहरुको सोच नै नराम्रो थियो । त्यसैले मैले काम गर्न सकिन ।’

त्यो समयमा धेरै निर्माताहरु हिरोइन च्याप्न पाइन्छ भन्ने आशामा चलचित्रमा लगानी गर्न आएको निरुताको गुनासो छ । ‘धेरै जना निर्माता हिरोइन च्याप्ने आशामा आउनु भयो’, उनी थप्छिन्–‘निर्देशकहरु पनि चलचित्रको बारेमा खासै नवुझी आउन थाल्नुभयो । एउटा चलचित्रमा क्ल्याप हानेको भरमा निर्देशक बन्न थाल्नुभएको थियो । त्यसैले मलाई यस क्षेत्रमा काम गर्न हिनताबोध भयो र म मुम्बई लागेँ ।’

निर्देशकले राम्रो समयमा ‘एक्सन कट’ भन्न सक्नुपर्छ । तर त्यस समयमा निर्देशक बनेकाहरुले समयमा ‘एक्सन कट’ समेत भन्न नजान्ने निरुताको भनाई छ । मुम्बइमा बस्दा नेपाली चलचित्र क्षेत्रलाई एकदमै याद गर्ने गरेको उनले बताइन । उनले भनिन्–‘मलाई माया गर्ने दर्शक र मेरो कामलाई म मुम्बई बस्दा धेरै याद गर्थे ।’

निरुताको कमब्याक
निरुता लगभग ८ वर्षपछि पुनः पर्दामा देखिन लागेकी छिन् । केहि समय अगाडि रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ मा पनि उनलाई दर्शकले झुलुक्क देख्न पाएका थिए । तर निरुता उक्त चलचित्र आफ्नो कमब्याक नभएको बताउँछिन् । उनी भन्छिन्–‘म नाई नभन्नु ल ५’ मा काम गर्छु भनेर नेपाल आएको थिइनँ । आएको बेला विकास दाइले अफर गर्नुभयो र मैले नाई भन्न सकिन । तर त्यो मेरो कमब्याक होइन ।’

निरुता अहिले चलचित्र ‘दाल भात तरकारी’को सुटिङमा व्यस्त छिन् । उनी ‘दाल भात तरकारी’लाई आफ्नो कमब्याक भन्न रुचाउँछिन् । ‘लामो समयपछि राम्रो टिम पाएर म फेरि मेरो दर्शकमाझ आएको छु । ‘दाल भात तरकारी’ मेरो बलियो कमब्याक हुनेछ ।’ यो चलचित्रमा आफूले केहि नयाँ काम गरेको उनी बताउँछिन् । ‘सधै रुवाउने निरुताले यसपटक दर्शकलाई पेट मिचिमिची हसाँउनेछिन् ।

निरुता अब भने चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने योजनामा छिन् । ‘कमब्याक हुन राम्रो प्रोजेक्ट खोजिरहेको थिए । मैले सोचेको जस्तो टिम पाएको छु । अब यस चलचित्र पश्चात लगातार काम गर्नेछु’– निरुताले दर्शकसँग प्रतिवद्धता व्यक्त गर्दै भनिन् ।

नेपाली चलचित्र क्षेत्रले ८ बर्षपछि निरुतालाई खोजेको छ । निरुताले पनि ८ बर्षपछि चलचित्र क्षेत्र र दर्शकको साथ खोजेकी छिन् । चलचित्र क्षेत्रमा नयाँ नायिकाहरुको आगमन भैसकेको छ । निरुतापछि चलचित्र क्षेत्रले नयाँ ३ पुस्तालाई यो क्षेत्रमा भित्राइसकेको छ । यसैले पनि प्रतिस्पर्धात्मक बजारमा निरुतालाई अगाडि बढ्न पहिलेको जस्तो सजिलो भने छैन । तर, चलचित्र क्षेत्रप्रतिको उनको लगाव र पूजाकै कारण उनी फेरि पनि दर्शककी घरकी ‘छोरी, बुहारी र लक्ष्मी’ बन्ने आशामा ढुक्क छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment