Comments Add Comment

हिन्दू राष्ट्र पुनर्स्थापना आन्दोलनका लागि राप्रपा नेताहरु गाउँ जानुपर्ने

१८ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुनर्स्थापना अभियान सञ्चालन गर्न केन्द्रीय नेताहरुलाई गाउँमा खटाउने भएको छ ।

बुधबार बसेको कार्यसम्पादन समिति बैठकले फागुन ७ गतेदेखि सञ्चालन गर्ने हिन्दू राष्ट्र पुनस्र्थापना आन्दोलनको तयारीका लागि केन्द्रीय नेतालाई अनिवार्य रुपमा निर्वाचन क्षेत्रमा जानुपर्ने निर्णय गरेको हो ।

माघ १३, १४ र १५ गते स्थानीय तहमा हिन्दू राष्ट्र पुनस्र्थापना राष्ट्रिय जागरण अभियान र सभा सञ्चालन गर्ने निर्णय गर्दै राप्रपाले त्यहाँ केन्द्रीय प्रतिनिधि खटाउन लागेको हो । केन्द्रीय सदस्यहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छानेर जानुपर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

एक हप्ताभित्र केन्द्रीय सदस्यले आफू जाने निर्वाचन क्षेत्र छनोट गर्नुपर्ने र क्षेत्र छनोट नगर्नेलाई आगामी चुनावमा टिकट नदिने निर्णय गरेको उनले बताए ।

राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली स्वाभिमान यात्रा सञ्चालन गर्ने, पुस २७ गतेको पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा सबै प्रदेश, जिल्ला र स्थानीय तहमा मनाउने निर्णय गरेको छ । पुस २७ गते सार्वजनिक विदा दिन पनि राप्रपाले माग गरेको छ ।

हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि फागुन ७ गते संघीय सरकार, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र चैत १ गते थप संघर्षका कार्यक्रम घोषणा गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समिति अन्तर्गतको उपसमितिले ठहर गरेको विषयलाई गम्भीर रुपमा लिई दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment