Comments Add Comment

राजनीति सुरु गरेको क्याम्पस आउँदै राष्ट्रपति भण्डारी

१८ पुस, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी आफूले राजनीति सुरु गरेको क्याम्पसमा बिहीबारआउँदैछिन् । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा हुने कार्यक्रममा उनी सहभागी हुन लागेकी हुन् ।

दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी पाएकी भण्डारीलाई महेन्द्र मोरङ क्याम्पसले अभिनन्दन गर्ने कार्यक्रम छ । भण्डारीले विस २०३९ सालदेखि २०४१ सालसम्म महेन्द्र मोरङ क्याम्पस अध्ययन गरेकी थिइन् । मानविकी संकाय अन्तरगत राजनीति शास्त्र अध्ययन गरेकी भण्डारीको रोल नम्बर ३२० थियो ।

विद्यार्थी राजनीति गर्ने क्रममा २०४० सालमा भण्डारी स्ववियू कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । क्याम्पसको विद्यार्थी हाजिरखातामा ३२० रोल नम्बरमा विद्यादेवी पाण्डेको नाम छ ।

२०४० सालामा नै स्वर्गीय जननेता मदन भण्डारीसँग विवाह गरेकी विद्यादेवीले विस २०५० सालपछि मात्र भण्डारी थर लेख्न थोलेकी थिइन् । विद्यार्थी राजनीतिकै क्रममा विवाह भएपछि मदनले विद्यालाई विराटनगर शान्ति चोककी दुर्गा ढकालको घरमा भित्र्याएका थिए । ढकालको घरमा भण्डारी केही बर्ष बसेका थिए ।

राष्ट्रपतिको अभिनन्दन तथा स्वागतको सम्पूर्ण तयारी पूरा भएको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले जानकारी दिए । २०७४ साल असार २८ गते पनि राष्ट्रपति भण्डारीलाई अभिनन्दन कार्यक्रम थियो । तर सोही दिन विराटनगरमा बाढी आएपछि कार्यक्रम स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment