Comments Add Comment

उपाध्यायलाई विद्युत नियमन आयोगको अध्यक्ष बनाउन प्रस्ताव

१९ पुस, काठमाडौं । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई विद्युत नियमन आयोगको अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला राजीनामा दिएर आयोग अध्यक्षमा दावेदारी राखेका उपाध्यायको नाम अध्यक्षका लागि सिफारिस भएको थियो ।

अब सरकारले विद्युत नियमन आयोग गठन गर्न अध्यक्षसहित पदाधिकारी छनोट गर्नेछ । यसैगरी रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भागिरथी ज्ञवालीलाई आयोगको सदस्य बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

धिताल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन् भने कलवार विद्यत प्राविधकरण पूर्व प्रवन्धक हुन् ।

आयोग गठनका लागि ऊर्जा मन्त्रालयका सिचाइँ सचिव सञ्जय शर्माको नेतृत्वमा छनोट समिति बनाइएको थियो । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आहृवान गरेको थियो ।

समितिले अध्यक्षमा उपाध्यायसहित धिताल, कलवार, खतिवडा र ज्ञवालीलाई सदस्यमा सिफारिस गरेको थियो । त्यसैका आधारमा ऊर्जामन्त्री वर्षमान पुनले आयोग गठनको प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् ।

आयोगमा अध्यक्षका लागि विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाल र विद्युत विका सपजभागमा पूर्व महानिर्देशक डिबी सिंह र बालचन्द्र श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।

यसरी बन्दैछ आयोग

चर्चामा आएको १६ वर्षपछि विद्युत् नियमन आयोग बन्न लागेको हो । ‘विद्युत् नियमन आयोग ऐन-२०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको नियमावलीअनुसार आयोग गठन प्रक्रिया शुरु भएको थियो ।

जलविद्युत् विकास नीति-२०५८ जारी भएपछि ‘विद्युत् नियमन आयोग ऐन’ र ‘विद्युत् ऐन’ को मस्यौदा तयार पार्न शुरु गरिए पनि प्रक्रियागत ढिलाइले कुनै काम हुन सकेको थिएन ।

सरकारले २०७२ फागुन ६ गते जारी गरेको ‘ऊर्जा संकट निवारण कार्ययोजना-२०७२’ मा समेत अधिकारसम्पन्न विद्युत् नियमन आयोग गठन गर्ने प्रावधान समेटिएको थियो । अधिकारसम्पन्न आयोग गठन भएपछि हाल विद्युत् महसुल निर्धारण आयोग खारेज हुनेछ । आयोगले विद्युतको गुणस्तर निर्धारणका साथै विद्युत उपभोक्ताको हकहित संरक्षणको जिम्मेवारी पाएको छ ।

आयोगले नेपाल विद्युत् प्राधिकरणमा सीमित रहेको एकल अधिकारलाई अन्त्य गरी प्रसारणलाइन, विद्युत् खरिद, महसुल निर्धारण, कार्यान्वयन जस्ता विषयलाई नियमन गर्नेछ । आयोगको निर्णय एवं निर्देशन बाध्यकारी हुने भएकाले हाल जलविद्युत क्षेत्रमा देखिएका अनियमितता र अराजकता अन्त्य हुने विश्वास लिइएको छ । यो आयोग मातहत रहेर विद्युत प्राधिकरणले काम गर्नुपर्छ ।

आयोगमा अध्यक्ष र चारजना सदस्य रहनेछन् । उनीहरुको पदावधि पाँच वर्ष हुन्छ । अध्यक्ष तथा सदस्य अनुभवी तथा सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र त्यसरी नियुक्त गर्दा संवैधानिक भावनाअनुरूप कम्तीमा एकजना महिलासहित समानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आयोगले विद्युत् सेवासम्बन्धी गि्रडसंहिता जारी गर्ने, अनुगमन गर्ने, विद्युत् सेवाको सञ्चालन तथा मर्मतसम्भारको स्तर कायम गर्ने, राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड बनाउने, विद्युत् प्रणाली सञ्चालकको दायित्व निर्धारण गर्नेछ । विद्यमान कानूनमा यस सम्बन्धी कुनै व्यवस्था नभएका कारण नियमन तथा अनुगमनमा समस्या हुँदै आएको थियो ।

आयोगले विद्युतको महसुल निर्धारण, विद्युत् खरिद बिक्रीको नियमन, उत्पादित विद्युत् खरिद बिक्री गर्न अनुमतिपत्र प्राप्त व्यक्तिबीच विद्युत् खरिद सम्झौता गर्न सहमति दिने, प्रसारण तथा वितरण दस्तुर निर्धारण गर्ने र विद्युतको लागत कम गर्न आवश्यक उपायको पहिचान गरी लागू गराउने अधिकार छ ।

विद्युत् सम्बन्धी महत्वपूर्ण निर्णय यसै आयोगको स्वीकृतिसँगै मात्रै कार्यान्वयन हुनेछन् भने जलविद्युत् क्षेत्रसँग सम्बन्धित सबै निकायलाई यसले समन्वय र नियमन गर्नेछ । अन्य मुलुकसँग हुने विद्युत खरिद बिक्रीको स्वीकृति दिने र शुल्क निर्धारण पनि गर्नेछ ।

आयोगले विद्युत चोरी नियन्त्रणमा समेत प्रभावकारी नीति निर्देशन जारी गर्न सक्नेछ । आयोगको कार्यक्षेत्र समेत वृहत् तथा कार्यकारी अधिकारसहितको रहेको छ । आयोग गठन भएपछि विद्युतको गुणस्तर निर्धारण, विद्युत् महसुल दरको नियमन तथा विद्युत उपभोक्ताको हक, हितको संरक्षण तथा प्रतिस्पर्धा कायम गरी नियमन गर्न सहज हुनेछ ।

जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता -पीपीए)को दररेट तोक्ने जिम्मा पनि आयोगलाई नै छ । उसले स्वीकृत गरेपछि मात्रै प्राधिकरणले पीपीए गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment